मलामी जान बिर्सेछऊ त ?

0

नाम पनि कति गजब छ “गाउँ” । प्राय सबैलाई गाउँ मन पर्छ । गाउँ राम्रो भए जस्तै राम्रा हुन्छन् गाउँका मान्छेहरु । भाषा, खानपिन, संस्कार संस्कृति सबै गाउँको अर्गानिक नै हुन्छ । प्राय मान्छेहरुलाई अर्गानिक नै मन पर्छ, मलाई मन परेजस्तै । पछिल्लो अबस्थामा गाउँका सबै युवाहरु देश छोडेर विदेश गएको कुरा त तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो नी हैन र ? गाउँघर अचेल युवा विहिन बन्दै गइरहेको छ ।

मानव जीवन भनेको मान्छेहरुको जालोमा जेलिएर जिउने जीवन हो । मान्छेहरको जालोमा नजेलिएर जिउन खोज्ने मान्छे मान्छे नै हैन भन्दा फरक नपर्ला । गाउँ भनेको धेरै परिवार मिलेर बनेको एउटा सुन्दर बस्ती हो । यो बस्तीलाई कस्तो बनाउने भन्ने जिम्मा भनेको त्यही बस्तीमा बसोबास गर्ने सबै परिवारको हो । गाउँमा बस्नै कुनै परिवार समाजदेखि अलग भएर बस्न खोज्छ भने त्यसलाई गाउँको सदस्य हैन भन्दा पनि फरक नपर्ला । मानव जीवनमा दुईवटा कुरा सबै भन्दा महत्वपूर्ण हुन्छन् जन्मनु र मर्नु । यी दुबै कुरामा समाजको सबै भन्दा ठूलो हात हुनेगर्छ ।

गाउँ युवा विहिन भएको यस्तो दर्दनाक अबस्थामा झन् गाउँमा कुनै एउटा परिवारलाई दुःख पर्यो भने सबै गाउँलेहरुले साथ दिनु नितान्त आवश्यक छ । यदि गाउँमा कसैको विहे भयो जन्त नजाने र कसैको मृत्यु भयो भने मलाम नजाने मान्छे मेरो विचारमा त्यो गाउँको सदस्य नै हैन । गाउँमा सानो होस् या ठूलो जुनसुकै व्यक्तिको निधन भयो भने एक दिन पुरा गाउँ नै शोकमा डुब्नुपर्छ । प्रत्येक परिवारबाट मलाम दिन जानुपर्छ । मृत्यू सबैको हुन्छ र सबैलाई मलामी चाहिन्छ । अझ सजिलो भाषामा भन्नपर्दा मरेपछि सबैलाई जलाउँनको लागि दाउरा चाहिन्छ । काठमाण्डौंको पशुपति आर्यघाटमा जस्तो किन्ने दाउरमा गाउँमा पाईदैन । मान्छेले नै बोक्नुपर्छ । त्यसैले गाउँमा एउटा व्यक्तिको निधन भयो भने परिवारलाई सान्त्वना दिनको लागि सबै गाउँले मलाम जानैपर्छ ।

गाउँमा कसैको निधन भयो भने तपाईँले तपाईँको जस्तोसुकै महत्वपूर्ण काम भएपनि छोडेर मलाम जाने निर्णय गर्नुपर्छ । यदि भोली तपाईको निधन भयो भने तपाईलाई पनि त मलाम चाहिन्छ होला नी ? एउटा व्यक्ति जसले आफ्नो जीवनकालमा गाउँमा धेरै ठूलो योगदान पुर्याएको हुन्छ । स्कुलको काम गरेको हुन्छ, बाटोघाटो निमार्ण गरेको हुन्छ, तपाईहरुसँग कहिले काहिँ सँगै हिडेर सहकार्य गरेको हुन्छ । उसको सम्बन्ध गाउँको राजनीतिक आर्थिक, साँस्कृतिक पक्ष सबैसँग जोडिएको हुन्छ । उसले यति ठूलो योगदान समाजलाई छोडेर जाँदा तपाई उसको निधन हुँदाखेरी मलाम जानै विर्सिदिने ? उसको निधन र उसको परिवारको रोधन भन्दा तपाईको एक दिनको काम ठूलो भयो ? त्यसैले प्रीय मित्रहरु ढिलो चाँडो हो तपाईँ र म पनि संसार छोडेर एक दिन हामी जानेनै छौँ । त्यतिखेर हामीलाई मलामी चाहिन्छ नै ।

तपाईँ र मेरो परिवारलाई सान्त्वना दिने मान्छे चाहिन्छ नै । त्यहि चाहिने भएकोले गाउँमा कसैको निधन भयो भने सबै गाउँमा मानिसहरु मलाम जानैपर्छ । शोकाकुल परिवारलाई सान्त्वना दिनैपर्छ । यहि नै समाजको जिम्मेवारी हो । यदि तपाई गाउँमा कसैको निधन भयो भने मलाम जान वास्ता गर्नुभएन भने अझै तपाईँको चेतनाको विकास भएको छैन भन्ने बुझिन्छ । तपाईँ त्यो गाउँको सदस्य हो भन्ने पनि मलाई भावनात्मक रुपमा शंका लाग्छ । जात र बर्ग हेरर ब्यवहार गर्ने गाउँको एउटा सदस्य त्यो चेतना नभएको सदस्य बुझिन्छ ।

यदि चेतना भएको गाउँको सदस्य हो भने ऊ जुनसुकै व्यक्तिको पनि मलाम जान्छ र शोकाकुल परिवारलाई सान्त्वना दिन्छ । यदि जनप्रतिनिधहरु नै समाजमा कोही निधन हुँदा मलाम जाँदैन भने आउने चुनावमा उसलाई भोट पनि नहाल्दा राम्रै होला । किनकि समाजलाई सकारात्मक दिशामा लैजानको लागि जनप्रतिनिधिको ठूलो हात हुन्छ यस्तो अबस्थामा उनीहरुले नै घात गरेपछि केको भोट हाल्नु ? त्यसैले प्रिय मित्र मर्दा पर्दा समाज काम लाग्छ । तपाई गाउँ समाजको लागि काम लाग्ने व्यक्ति बन्नुहोस् । तपाईँलाई पनि जन्ती चाहिन्छ अनि तपाईलाई नै मलामी चाहिन्छ ।ratopati

You might also like