फेरिँदै बाघका आनीबानी

0
निकुञ्ज क्षेत्रमा दुई वर्षयता बाघको आक्रमण निकै बढेको छ, यसले बाघको बासस्थान साघुँरिँदै गएको संकेत गर्छ

 

नेपालगन्ज — ‘एक्कासि घाँटीमै झम्ट्यो । भुइँमा पछार्‍यो, म घोप्टो परें । गर्दनमा मुख गाड्यो । रगत चुस्दै थियो,’ राप्तीसोनारी गाउँपालिका–७ स्थित झगडिया गाउँका वकिल गद्दीले अस्पतालको शय्याबाट बिस्तारै उठ्दै भने, ‘म मरेजस्तो गरें । बाघले रगत चुस्न छाड्यो । टाढाबाट देख्नेले होहल्ला गरे । बाघ जंगलतिर गयो । त्यही मौकामा भागेँ ।’ 

बाघले दाह्रा र नंग्रा गाड्दा उनको घाँटीमा भएको गहिरो घाउ अझै निको भइसकेको छैन । भेरी अस्पतालमा उपचारार्थ भर्ना गरिएका उनी आफैं उठ्न सक्ने स्थितिमा छैनन् । आमाले अँगालो हालेर टाउको उठाइदिएपछि उनले भने, ‘त्यति बेला बाँचिन्छ जस्तो लागेको थिएन । अब त आशा जाग्यो ।’ बाघको मुखबाट फुत्केका उनी हल्का मुस्कुराए ।

बाघको आक्रमणबाट बच्नेहरूमध्ये उनी एक हुन् । फागुन ८ गते वकिल बाबियो काट्न जंगल पस्दै थिए, त्यही दिन बाघको आक्रमणमा परे । त्यसको अघिल्लो दिन बाँकेको फत्तेपुर गाउँका ६० वर्षीय धनबहादुर चलाउनेलाई बाघले झम्टेर मारेको थियो । राष्ट्रिय निकुञ्जको जंगलबाट विचरण गर्दै बस्तीतर्फको सामुदायिक वनमा पुगेको बाघले २३ जनाको समूहमा दाउरा काट्न गएकामध्ये वृद्ध धनबहादुरलाई मारेको हो ।

निकुञ्जका बाघ बस्ती नजिकका सामुदायिक वनमा आहारा खोज्न आउने क्रम बढ्दो छ । गएको भदौ २७ मा बाँकेको गाभरगाउँ नजिकै महेन्द्र राजमार्गमा हिँड्दै गरेका एक भारतीय कामदारलाई बाघले झम्टेर मारेको थियो । त्यसपछि भदौयता फागुनको दोस्रो सातासम्म बाघको आक्रमणबाट बाँकेमा पाँच जनाको मृत्यु भइसकेको छ । आक्रमणको क्रम बर्दियामा पनि रोकिएको छैन । गत मंगलबार ठाकुरबाबा–४ सैनवारकी नीलु चौधरीलाई झम्टियो । निकुञ्जको जंगल नजिक घरछेउमै नीलुलाई आक्रमण गरेको थाहा पाएर छिमेकीले होहल्ला गरेपछि बाघ जंगलतर्फ भाग्यो । घाइते महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो । बर्दिया निकुञ्ज र अन्य सरकारी वन क्षेत्रमा एक वर्षयता बाघको आक्रमणबाट पाँच जना मारिएका छन् । अघिल्लो वर्ष १२ जनाको बाघको आक्रमण परी मृत्यु भएको थियो । तीमध्ये खाता जैविक मार्गमा मात्र सात जनालाई मारेको हो । धेरैजसो घटना दिउँसो भएका छन् । मानिस निहुरिएका बेला बाघले झम्टिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

बस्ती नजिकको वनमा देखिन थालेका बाघको आक्रमणबाट ज्यान जोगाउनेहरूको संख्या पनि धेरै छ । धेरैजसो घटना व्यस्त राजमार्ग र गाउँबस्ती नजिकको वन जंगलमा भएका छन् । जंगलमा शान्त स्थलमा बस्न रुचाउने बाघहरू व्यस्त राजमार्ग र कोलाहलयुक्त बस्ती नजिक आउन थालेकाले निकुञ्जका अधिकारी तथा विज्ञहरूले यसका कारणहरू खोज्न थालेका छन् । सजिलै गर्न सकिने सिकारको खोजीमा मानव बस्तीतिर बढ्दै जानुले बाघको वंशाणुगत स्वभावमा परिवर्तन आएको त होइन भनेर धेरैलाई सोच्न बाध्य तुल्याएको छ ।

बाघलाई वन्यजन्तुको सिकार गर्न कडा परिश्रम गर्नुपर्छ । घरपालुवा जनावर र मानिसको सिकार गर्न निकै सहज छ । जसका कारण सहज आहाराको खोजीमा मानव बस्तीतर्फ बाघ आकर्षित हुँदै गएको विज्ञहरूको तर्क छ । मानिसमाथि भइरहेका र दोहोरिँदै आएको आक्रमणले बाघ विलासी र अल्छी हुँदै गएको तर्फ पनि संकेत गर्छ । ‘जंगल नजिक चराउन ल्याएका घरपालुवा जनावर र घाँस–दाउरा खोज्न आएका मानिसलाई खान बाघलाई अतिरिक्त परिश्रम गर्नु पर्दैन,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भने, ‘त्यसैले पनि सजिलो आहाराको खोजीमा बाघ बस्तीतर्फ आउन थालेका हुन सक्छन् ।’

बाँके र बर्दिया निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा परम्परागत प्रणाली छ । त्यसैअन्तर्गत घरपालुवा जनावर चराउन वनमा लैजाँदा आक्रमण गर्ने मौका पाउँछ । मानिसको चहलपहल हुने क्षेत्रतर्फ बाघ विचरण गर्दै आउनुको कारण पनि सहज आहाराको खोजी नै हो । यसले बाघको आनीबानीमा परिवर्तनसमेत देखाएको छ । जबकि, बाघ शान्त स्थल रुचाउने र जंगलभित्रकै वन्यजन्तुलाई लखेट्दै थकाएर झम्टेर खाने ‘जंगलको राजा’ मानिन्छ । ‘सहजै आहारा मिल्ने भएपछि बस्तीतर्फ नै आउन खोज्छ,’ बाघको व्यवहारलाई नजिकबाट नियाल्दै आएका संरक्षण अधिकृत शाहले भने, ‘एकपटक घरपालुवा जनावर सजिलै पायो भने त्यसरी नै खाने बानी पर्नुका साथै गाउँ पस्न खोज्छ ।’

बाघले मानिसलाई आक्रमण गर्नुका धेरै कारण छन् । जंगलमा आआफ्नो अधिकार क्षेत्रका लागि भालेहरूबीच चर्को लडाइँ पर्छ । पराजित बाघ नयाँ बासस्थानको खोजीमा हिँड्छ । बाँके र बर्दियाका दुई राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धि भएर अहिले १ सय ८ भन्दा बढी पुगेको अनुमान छ । संख्या वृद्धिले बासस्थान साँघुरिन पुगेको छ । त्यसैले जंगलमा आफ्नो क्षेत्र नियन्त्रणमा राख्न हुने लडाइँमा पराजित हुने बाघ नयाँ क्षेत्र खोज्दै बस्तीतर्फ आएको हुन सक्ने अनुमान निकुञ्जका अधिकारीको छ । ‘धेरै बाघ भएकाले जंगलले वहन गर्न सक्ने वा नसक्ने अवस्थाको अध्ययन गर्दै छौं,’ बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘धेरै भाले बाघहरू एकै ठाउँमा बस्दैनन् । आफ्नो इलाका बनाउनका लागि लडाइँ गर्दा आक्रोशित भएर पनि मानिसको सिकार गर्छन् । नयाँ ठाउँमा बस्न जाँदा वा आफ्नो सिमाना बनाउने क्रममा गाउँबस्तीतिर पस्दा पनि बाघले मानिसमाथि आक्रमण गर्छ ।’

निकुञ्जका अनुसार बाघले राज गर्ने क्षेत्र निर्धारण आफैं गर्छ । एक सय वर्गकिलोमिटरमा पाँचवटा बाघ बस्न सक्छन् । यहाँसम्म कि आफू बस्ने क्षेत्रफल नै कायम गरेको हुन्छ । क्षेत्र कायम गर्न कम्तीमा एक साता लगाउँछ । बस्ने क्षेत्रको निर्धारण गर्दा विभिन्न संकेतमध्ये दिसा र पिसाब गरेर छाड्ने विज्ञहरू बताउँछन् । यस्तो संकेत अर्को बाघले सजिलै थाहा पाउँछ । किनभने, बाघमा सुँघ्ने क्षमता धेरै हुन्छ । त्यति मात्रै होइन, बाघले जंगलका रूखका बोक्रामा कोतरेर पनि आफ्नो क्षेत्र निर्धारण गर्ने गरेको विज्ञहरू बताउँछन् । रूखको जति माथिसम्मका बोक्रा कोतर्न सक्यो, त्यति नै बाघ शक्तिशाली भन्ने बुझेर लडाइँ गर्ने वा नगर्ने भन्ने टुंगोमा पुग्छन् । बाघ र बघिनी दुवैले सिकार अलग–अलग रूपमा गर्छन् । बाघभन्दा पनि बढी सिकार बघिनीले गर्छे । किनभने भालेबाट जोगाएर डमरु पाल्नुपर्ने जिम्मेवारी हुन्छ । सिकार गर्न जाँदा बघिनीले डमरु एउटै ठाउँमा छोडेकी हुन्छे । फर्किंदा डमरुका लागि सिकार लिएर आउँछे । यस्तो बेलामा पनि मानिस आक्रमणमा पर्न सक्छन् ।

यौन सम्पर्क र प्रेमालापका बेला वातावरण बिथोल्नेमाथि पनि बाघले आक्रमण गर्ने विज्ञहरू बताउँछन् । यस्तो बेला भाले बाघले आफ्नै डमरुलाई समेत मार्ने गर्छ । त्यसैले बघिनी डमरु जोगाउन बासस्थान सारिरहन्छे । ‘बाघ त मान्छेसँग डराउने दुर्लभ वन्यजन्तु हो । तर एकापसमा लडेर घाइते अवस्थामा रहेको बाघले पनि मानिसमाथि आक्रमण गर्छ,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने ।

निकुञ्ज क्षेत्रमा दुई वर्षयता बाघको आक्रमण निकै बढेको छ । यसले बाघको बासस्थान साघुँरिँदै गएको संकेत गर्छ । निकुञ्जको जंगलभित्र ठूला राजमार्गसँगै अन्य साना सडक छन् । सवारी चाप पनि बढ्दै गएको छ । घाँस–दाउरा गर्न मानिस जंगल पस्ने क्रम रोकिएको छैन । जंगल कोलाहलयुक्त हुँदा बाघको शान्त बासस्थान खलबलिन पुगेको छ । यो पनि बाघ मानिसप्रति आक्रामक हुनुको थप कारण भएको जानकारहरू बताउँछन् । ‘प्राथमिक कुरा भनेको वन बाघको प्रमुख बासस्थान हो,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले भने, ‘निकुञ्जभित्रका राजमार्गको विकल्प खोजिएन भने बाघ आक्रमणको खतरा टर्दैन ।’

बाघलाई मन पर्ने वन्यजन्तु मृग हो । मृग प्रजातिका रतुवा, बँदेल, चित्तल, जरायोको सिकार गर्न बाघलाई सहज हुन्छ । यी जनावर सजिलै भेटिएनन् भने घरपालुवा जनावरलाई आक्रमण गर्छ । बूढो बाघले घरपालुवा जनावरको सिकार गर्न रुचाउने विज्ञहरू बताउँछन् । किनभने, घरपालुवा जनावरले प्रतिकार गर्न सक्दैनन् । अर्कातिर बाघ बूढो, रोगी र घाइते अवस्थाको छ भने पनि वन्यजन्तुको सिकार गर्न नसक्दा मानिसको सिकार गर्छ । कुनै पनि कारणले घाइते भई मानिस खान पल्केका बाघ पुनः मान्छेकै खोजीमा हिँड्ने गरेको अध्ययनले देखाएको छ । किनभने, मान्छे मार्न सजिलो हुन्छ । यसबाट पनि निकुञ्जका घाइते र बूढा बाघ बस्तीतर्फ आउने क्रम बढेको हुन सक्ने सरोकारवालाहरू बताउँछन् ।

प्रशस्त आहारा भएको जंगलमा बाघ एक वर्षमा ४० देखि ५० वर्ग किलोमिटर क्षेत्रमा विचरण गर्छ । तर, आहारामा कमी हुँदै गयो भने वर्षमा १ सय वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रमा घुम्न सक्छ । यसलाई पनि बाघ बस्तीतर्फ जानुको थप कारण मानिएको छ । अर्कातिर निकुञ्जका बाघको स्वास्थ्य अवस्था जाँच गर्नुपर्ने देखिएको छ । किनभने, रोगी बाघले पनि मानिसमाथि आक्रमण गर्न थाल्छन् । ‘कति बाघ बिरामी छन् ? त्यसको यकिन गर्न सकिएको छैन,’ संरक्षण अधिकृत श्रेष्ठले भने, ‘नियन्त्रणमा लिएका बाहेक अरूको स्वास्थ्य परीक्षण भएकै छैन ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष मातहतको जैविक विविधता संरक्षण केन्द्र सौराहाका डा.अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाले मानिस खाइसकेका बाघलाई ‘समस्याग्रस्त’ को सूचीमा राख्नुपर्ने बताए ।kantipurnews

You might also like