प्रहरी हस्तक्षेप चिर्दै क्रान्तिकारी मजदुरद्वारा बिरोध प्रदर्शन !

आगामी कार्यक्रम छिट्टै घोषणा हुने

0

काठमाडौं : नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले निषेधाज्ञाले संकटग्रस्त मजदुरलाई विशेष राहत घोषणा गर्नुपर्ने सहितका माग गर्दै प्रदर्शन गरेको छ ।    महासङ्घले राष्ट्रघाती एमसिसि सम्झौता खारेज हुनुपर्ने, जयसिंह धामी घटनाको तथ्य-सत्य छानबिन हुनुपर्ने सहितका ११ सुत्रीय माग राख्दै बिरोध प्रदर्शन गरेको हो । माइतीघर मण्डलामा भएको विरोध कार्यक्रममा विद्यमान राज्य-व्यवस्थाको शोषण-उत्पीडनका विरुद्ध निरन्तर संघर्षरत नेपाली मजदुरहरुको जीवन पछिल्लो पटक कोरोना सँगै शुरु भएको लकडाउन-निषेधाज्ञाले अझ संकटग्रस्त बनेको भन्दै बिरोध जनाइएको थियो । महासङघका अनुसार यो २ वर्षको अवधिमा कम्तीमा २० लाख मजदुरले रोजगारी गुमाएका छन भने हरेक वर्ष श्रम बजारमा आउने १० लाख नयाँ मजदुर बेरोजगार छन । भारत प्रवास समेत वैदेशिक रोजगारीमा रहेका करिब ६० लाख नेपाली मजदुरको भविष्य अन्योलपुर्ण रहेको महासङघले जनाएको छ । मजदुरका आधारभुत आवश्यकता रोजगारी, गाँस, आवास, स्वास्थ्य, शिक्षा, सुरक्षाको विषयमा कुनै ठोस नीति कार्यक्रम सार्वजनिक-लागु गर्न राज्य असक्षम बनेको महासङ्घले दाबी गरेको छ । “राज्य एवं सरकार केवल सत्ता-शक्तिको दुर्गन्धित खेलमा रमाइरहेको छ । विरोध कार्यक्रमले राज्यको यसप्रकारको असक्षमताको भण्डाफोर गरेको छ । ” महासङ्घका महासचिव वसन्त बोगटीले भन्नुभयो ।
कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम दिनेश शर्मा सागर महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, केन्द्रीय सचिवालय सदस्यहरु क्रमशः बद्री चापागाईं, कुमार घताने, दिनेश बर्तौला र अर्जुनलाल श्रेष्ठले सम्बोधन गर्नु भएको थियो ।
विरोध कार्यक्रमलाई प्रहरीले दमन-हस्तक्षेप गर्ने दुस्साहस गरेको र मजदुरहरुले प्रहरी दमनको कडा प्रतिरोध गर्दै विरोध सम्पन्न गरेको बताइएको छ । महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राज्यको यसप्रकारको दमन मजदुरहरुलाई अस्वीकार्य भएको भन्दै राज्य-दमनको कडा प्रतिरोध गर्ने चेतावनी दिनुभयो । यसैगरी प्रमुख वक्ता क्रान्तिकारी माओवादीका पिबिएम सागरले इतिहासमा मजदुरहरुले कयौं मुक्ति र वलिदानिपुर्ण आन्दोलनको नेतृत्व गर्दै आएको स्मरण गराउदै शासक वर्गलाई मजदुर शक्तिलाई नजर अन्दाज नगर्न चेतावनी दिनुभयो । ” मजदुरहरुलाई दमन मार्फत ठिक गर्न सकिन्छ भन्ने भ्रम नहोस, यदि त्यस्तै ठानेको हो भने उनीहरु स्वयं धुलोपिठो हुनेछन ।” उहाँले भन्नुभयो । राष्ट्रिय स्वाधीनताको प्रसंगमा बोल्दै एमसिसि सम्झौता लागु गर्ने संसदवादी पार्टीहरुले देशलाई रणमैदानमा बदल्न चाहेको टिप्पणी गर्नुभयो । ” अहिले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य संसदवादी पार्टीहरु भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सिधा-सिधा दलाल बनेका छन । आज देशको अस्तित्व निकै खतरामा छ । यसकारण, जनताको सचेत-एकताबद्ध संघर्ष आजको अपरिहार्य आवश्यकता हो” भन्दै उहाँले सबै क्रान्तिकारी पार्टी-शक्ति र देशभक्त हरुलाई एकताबद्ध हुन आव्हान गर्नु भयो । महासंघले आगामी संघर्षका कार्यक्रम छिटै घोषणा गर्ने जनाएको छ ।

You might also like