आन्दोलनरत यातायात मजदुरहरुको माग सम्बोधन गर्न ६ बुँदे सहमति
दाङ । दाङका यातयात मजदुरले गरेको अनिश्चितकालीन यातायात बन्द ६ बुँदे सहमतिसँगै खुलेको छ । चक्काजाम लगायतका सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरेर मंगलबार बिहानैदेखि आन्दोलनमा उत्रिएका यातायात मजदुरहरुसँगको छलफलपछि सहमति भएसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरी दिउँसो १ बजेपछि यातायात सुचारु भएको हो ।
यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनको संयुक्त बैठकले मजदुरका समस्या समाधान गर्न एक विशेष समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार बिहानैदेखि बन्द रहेका सार्वजनिक सवारीका साधन सञ्चालन गराउन तथा मजदुरका समस्या समाधानमा चासो लिएपछि सहमतिको टुंगो लागेको हो ।
बैठकपछि यातायात मजदुरको तलबभत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरु सहमत भएका छन्, सबै यातायात व्यवसायीहरुको सामाजिक सुरक्षा कोष ऐन, २०७४ कार्यान्वयन गर्न मन्जुर भएको, नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड युनीयन बीच भएको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरिएको छ । यस्तै, कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्राथमिकतामा राखेर लगाउने सहमति भएको छ । जसमा प्रमुख जिल्ला अधिकारी पौडेलले कोरोना विरुद्धको भ्याक्सिन आउनासाथ प्राथमिकतासाथ खोप लगाउने प्रवन्ध मिलाउने प्रतिवद्धता गरेका छन् ।
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि ४ वटा सम्वद्ध निकायको विशेष समिति गठन गरी १५ दिनभित्र रायसुझाव पेश गर्ने सहमति भएको छ । उक्त समितिको संयोजकमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुखलाई तोकिएको छ । उक्त समितिमा जिल्लामा रहेका ७ वटा यातायात प्रालिका प्रतिनिधि, ३ मजदुर संगठनका प्रतिनिधि र जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई समावेश गरिएको छ ।
Global awaj