खुले बुटवलका हाटबजार, भीड कम गराउन सातैदिन बजार खुला

0

आश्विन ६, 

बुटवल–झण्डै ६ महिनापछि बुटवलमा हाटबजारहरु सञ्चालनमा आएका छन्।

बुटवल उपमहानगरपालिकाले बजार सञ्चालन गर्न अनुमति दिएपछि असोज १ गतेदेखि विभिन्न ठाउँमा लाग्ने हाटबजारहरु सञ्चालनमा आएका हुन्।

कोरोना महामारीका कारण चैत्र ११ गतेको लकडाउन अघिबाटै हाटबजारहरु बन्द भएका थिए। साउन महिनामा अनुमति विना केही समय खुलेको भएपनि निषेधाज्ञालगत्तै बन्द भएका थिए।

अहिले उपमहानगरकै अनुमतिमा हाटबजार सञ्चालनमा आएका हुन्। बजार सञ्चालन भएपनि हाललाई बैठककी कर नउठाइएको उपमहानगरका वित्त व्यवस्थापन महाशाखाका अधिकृत दामोदर ज्ञवालीले जानकारी दिए।
‘बैठकी कर उठाएका छैनौं, १५ गतेबाट उठाउँछौं–उनले भने–सामाजिक दुरी कायम गरेर बजार सञ्चालन गर्न भनेका छौं।’

हाटबजार सञ्चालन गर्न उपमहानगरपालिकाले ७ वटा सर्त तोकेको छ। प्रत्येक व्यवसायीले माक्स र स्यानेटाइजरको प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दुरी आफूले पनि पालना गर्नुपर्ने र ग्राहकलाई पनि गराउनुपर्ने, होटबजारको ६० प्रतिशत कृषिजन्य सामग्री र ४० प्रतिशतमा गैर कृषिजन्य सामग्री राख्नुपर्ने, तोकिएको ठाउँ बाहिर सडक पेटीमा बिक्री गर्न नपाइने लगायतका शर्त रहेका छन्।

त्यस्तै हाटबजारमा फुल्की, मम, चाउमिन, जेरी, समोसामटरलगायतका नास्ताजन्य पदार्थ पनि बिक्रीवितरणमा रोक लगाइएको छ।

त्यसैगरी बजार जाँदा स्वास्थ्य सतर्कता अपनाउन पनि उपभोक्तालाई उपमहानगरले आग्रह गरेको छ।

माक्स अनिवार्य रुपमा लगाउन, बजारभित्र कम समय मात्र व्यतित गर्न, भीडभाड नहुने गरी सामान खरिद गर्न तथा साबुन पानीले नियमित हात धुन भनिएको छ।

बुटवलका ३ वटा हाटबजार हप्ताको सातैबार सञ्चालन गर्न अनुमति दिइएको छ।

हाटबजारमा भीड कम होस् भनेर बुटवल ५ को हाटबजार क्षेत्र, दीपनगर र देवीनगरको हाटबजारमा दिनहु बजार सञ्चालन गर्न अनुमति दिएको उपमहानगरपालिकाका अधिकृत दामोदर ज्ञवालीले बताए।

‘प्राय व्यवसायीहरु बारअनुसार तीनवटै ठाउँमा व्यापार गर्न पुगेका हुन्छन्, दिनहुँ बजार गर्न दिएपछि एकै ठाउँमा लाग्ने भीड तीनतिर बाँडिन्छ’–उनले भने–‘व्यवसायीले आफ्नो पायक परेको ठाउँमा बजार राख्छन्, दिनहुँ सञ्चालन भएपछि उपभोक्ताको भीडभाड पनि कम हुन्छ।’

बुटवलको मुख्य हाटबजार बुधबार र शनिबार, दीपनगरको सोमबार र बिहीबार तथा देवीनगरको मंगलबार र शुक्रबार लाग्ने गरेका थिए।

दिनहुँ बजार सञ्चालन भएपनि व्यापार नगन्य भएको हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल न्यौपानेले जानकारी दिए।

‘बजार त खोलियो तर व्यापार भएकै छैन, कोरोना संक्रमण बढिरहेकाले उपभोक्ताहरु आएका छैनन्’–उनले भने–‘सामान नै बिक्री नभएपछि बजारमा व्यापारीहरु पनि खासै छैनन्, एउटा बजारमा १० प्रतिशत जति मात्र व्यापारी आएका छन्।’

उता तिलोत्तमा नगरपालिकामा पनि सोमबारबाट हाटबजार सुरु भएको छ। देवदह र सैनामैना नगरपालिकामा हाटबजार अझै सुरु हुन नसकेको र बजार चलाउन आफूहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएको हाटबजार व्यवसायी संघका अध्यक्ष ज्ञवालीले बताए।

You might also like