तिलोत्तमा चक्रपथमा ट्राम रेल चलाउने योजना, डिपिआरको काम सुरु

0

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालनको लागि डिपिआरको काम सुरु भएको छ । तिलोत्तमा पब्लीक रेल्वे कम्पनी लिमिटेडले ५२ किलोमिटर दुरीकाे चक्रपथमा ट्राम रेल सञ्चालनको योजना अघि सारेको छ।  डिपिआरको लागि मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिसँग सम्झौता भएको छ । सम्झौता भएको ९ महिना भित्र डिपिआर बनाउनुपर्ने छ ।
तिलोत्तमा चक्रपथसँगै १४ फिट चौडाइ ट्राम रेलको चौडाइले ओगट्ने रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक तथा नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले लुम्बिनी टाइम्सलाई बताए। ‘५ फिटको ट्रयाक हुन्छ, १० फिट डिब्बाको चौडाइ हुन्छ। त्यसमा दायाँ बायाँ दुइ तिन फिट छोडिन्छ।’ उनले भने ‘सिटी रेल हो, मेट्रो जस्तै स्टाण्डर गेजको हुन्छ । मनोरञ्जन दिने पर्यटकीय रेल भएकाले गती केही कम हुन्छ।’

एउटा रेलमा ५ वटा डिब्बा हुने शर्माले बताए। अगाडि मानिस र सवारी देखे पनि ट्राम रेल झ्याप्पै रोक्न सकिने खालको हुन्छ। प्रबन्ध सञ्चालक शर्माले ट्राम रेल वातावरण मैत्री हुने र पर्यटकिय विकासमा सघाउने बताए। ट्राम रेल सञ्चालनको लागि प्रारम्भिक सर्वेक्षण सकेर डिपिआर सुरु गरिएको र रेल्वे निर्माणको लागि ५ अरब भन्दा बढी लाग्ने रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।

तिलोत्तमा लगानी सम्मेलनमा ट्राम रेल सञ्चालनको लागि प्रस्ताव पेश गरिएको र नगरपालिकाले जग्गा व्यवस्था गरिदिने आसय व्यक्त गरेपछि काम अघि बढाइएको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेयले बताए । कम्पनीमा ५ सय १ जना संस्थापक सदस्य रहेको उनले जानकारी दिए।

आइतबार ट्राम रेल्वेको डिपीआर उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले २ वर्ष भित्र योगिकुटीदेखी रोहीणी नदिको जलासय सम्म १४ किलोमिटर सडकमा ट्राम रेल सञ्चालन हुने बताए।

Lumbini Times

You might also like