भटौलियामा तीन महिने सिलाई कटाई र हाउस वाइरिङ तालिम उद्घाटन
नवलपरासी २५ मंसिर – सिप सिकेर आत्मर्निभर हुन सकेमात्र सिकाईले सार्थकता पाउने भन्दै तालिमका प्रमाणपत्रहरु सिरानी मुनि राखेर आत्मनिर्भर हुन नसकिने एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् ।
विहीवार बर्दघाट –१२ भटौलियामा आयोजित तीन महिने हाउस वाइरिङ र सिलाई कटाई तालिम संयुक्त उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले शिपलाई ब्यवहारमा उतारेर आर्थिक समृद्धिको बाटो लाग्नुपर्ने औल्याएका हुन ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बैदेशिक रोजगारबाट फर्केका युवा र शिप सिकेर आत्मनिर्भर हुन चाहने महिलाहरुलाई उद्यमी बनाउन नगरपालिका लागि परेको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम भए मात्र हिंसाबाट मुक्त हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा बर्दघाट –१२ का वडाध्यक्ष मान बहादुर मल्लले वडाले धेरै तालिमहरु संचालन गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका कार्यपालिका सदस्य समेत रहेकी लघु उद्यमी संघकी जिल्ला अध्यक्ष बुद्धिमाया सुनारले सानै लगानीबाट आफू स्वरोजगार भएको उदाहरण दिदै कामलाई सानो ठूलो भन्न नहुने बताउनुभयो ।
कार्यक्रममा जहदा सामुदायिक पुस्तकालयमा अध्यक्ष सुरज क्षेत्रीले तालिमबाट पेशातर्फ अगाडि बढ्न प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुभयो । कार्यक्रममा वडा सदस्य निमप्रसाद बस्यालले स्वागत गर्नुभएको थियो ।
संयुक्त रुपमा उद्घाटन गरिएको सो तालिम मध्ये महिलाहरुका लागि बसिक तथा एडभान्स ३ महिने तालिम बर्दघाट नगरपालिकाको सहयोगमा रामग्राम टे«निङ सेन्टरले आयोजना गरेको हो । त्यस्तै हाउस वाइरिङ तालिम घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पश्चिमले आयोजना गरेको कार्यालयका मनोज कुमार चौधरीले जानकारी दिनुभयो ।