नौलाख तारामाझ शरदको माद

0

तीर्थबहादुर श्रेष्ठ

 

‘नौलाख तारा उदाए धरतीको आकाश हाँसेछ
शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ ।’
अम्बर गुरुङको सुरिलो आवाजमा अगमसिंह गिरीको शरद–वर्णन जति सुन्यो उति मर्मस्पर्शी भएर आउँछ ।

शरद ऋतुको स्वच्छ एवं निर्मल आकाशमा अँध्यारोको गहिराइभित्र डुबेका झिलिमिली ताराहरूको नौलाख गणनाभित्र हराउनु शरदको माद पनि हो । शरदकै मादलाई औंसीको रातमा हामी लक्ष्मीपूजा गर्छौं । धरतीलाई पनि झिलिमिली पार्छौं । नौलाख ताराहरूकै प्रतिस्पर्धामा हाम्रो तिहार तम्सिन्छ । सानोभन्दा सानो बत्तीको ज्योति पनि ओझेलमा पर्दैन । सानाभन्दा साना तारा पनि चम्किरहेका हुन्छन् ।

धरतीको आकाशमा नौलाख तारा गन्ने रोमाञ्चक रहर पूरा गर्नु छ भने उच्च हिमाली वा उत्तरी भोट क्षेत्रका शरद रातहरू छोप्नुपर्छ । धेरै वर्षपहिले ४००० मिटर जति उचाइमा रहेको छार्का भोटको लेकाली मैदानमा पाल टाँगेर रात बिताउँदै थियौं । हाम्रो पालकै माथि सयौं ताराहरू चम्किँदै थिए । मलाई त उफ्रीउफ्री टिपौंटिपौंजस्तो पनि लाग्यो । वायुमण्डलको प्रदूषित तहभन्दा माथिको आकाश यस्तै हुन्छ । पर्वतारोहीहरू कृष्ण पक्षको रातमा तारागणका बीच मुग्ध हुनु स्वाभाविक हुन्छ । शुक्ल पक्षमा चन्द्रमाको उपस्थितिले गर्दा कथा बेग्लै हुन्छ । शरच्चन्द्रको जूनले छोपेपछि धरती र आकाश दुवै नशालु बन्न पुग्छन् । जूनमा टल्किने हिमशिखरहरू तथा छचल्किने पानीका छाँगाहरूले निर्माण गर्ने दृश्यचित्र कुनै कलाकारिताभित्र अटाउन सक्दैन । प्रकृतिका यी छटा हाम्रा स्मृतिपटलमा भने अमिट रहन्छ । त्यसका लागि अनुभवको विकल्प अरू हुँदैन ।

शरदका दिनहरू उज्याला हुन्छन् । कविशिरोमणि लेखनाथ पौड्यालका उद्गारले अझै उज्यालो बनाउँछ—

‘उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा,

उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा ।’

नेपाल संवत्ले नयाँ वर्षको पहिलो सूर्य शरदको उज्यालोमा भेट्छ । यसैगरि छठको सूर्योदयले जल, स्थल र आकाश सबैतिर नयाँ उमंगले उज्यालो छर्छ । शरद सूर्यको विशेष चमत्कारी क्रीडा हाम्रा उच्चहिम शिखरहरूमा रातो र पहेंलो रङको लुकामारीमा हेर्न र देख्न पाउँछौं । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनास्लु र मकालु सबैतिरका हिमशिखरमा यस्तो दृश्य दर्शन हुन्छ । मेरो स्मृतिपटलमा भने इलामको अन्तु अनुभवले विशेष स्थान ओगट्ने गरेको छ । अन्तु डाँडाबाट पूर्वतिर नियालेर अक्कासिँदै गरेको उदाउँदो सूर्यलाई दर्शन गरिरहँदा आफ्नै पिठ्युँपछाडिको कञ्चनजंघा हिमशिखरमा क्रमैले पोखिने सुन्तले, सुवर्ण तथा चाँदीका जलपहरू नबिर्सीकन हेर्नुपर्छ । एकैछिन चुक्यौं भने ठूलो पछुतो हात पर्छ ।

हाम्रो शरदको घाम हलुवावेदको फलमा रातो भएर पाक्छ । बिमिरोमा पहेंलो सुन भएर टल्कन्छ । रातो र पहेंलो रङभित्र घामको चित्रकारिताले सुन्तलाको फललाई विशेष रङले सजाइदिन्छ । रातो, नीलो, पहेंलो, हरियो भनेझैं त्यस रङको उपयुक्त संज्ञा पनि हामीसँग छैन । त्यसलाई हामी सबै सुन्तले रङ नै भन्दछौं । सूर्य किरणको सप्तरंगी चित्रपटमा सुन्तले रङका निम्ति विभिन्न भाषाभाषीहरूले अरू नाम जुटाउने गरेको पनि छैन । मानिसको आँखाले टिप्ने सप्तरंगभन्दा अतिरिक्त रङहरूलाई ‘इन्फ्रा रेड’ तथा ‘अल्ट्रा भायोलेट’ किरण भन्दछौं । तिनलाई टिप्ने आँखा माहुरी, भँवरा तथा अरू कीटपतंगहरूमा जडिएका हुन्छन् । र, ती आँखालाई भुलाउने रङहरू विभिन्न फूलहरूमा निहित हुन्छन् । त्यसो त फूलहरूका विभिन्न रङमा नभुल्ने कुन प्राणी होला र ?

नेपाली शारदीय घाम हाम्रा तिहारका फूलहरूमा विशेष उल्लासका साथ फुल्छन् । तीमध्ये मखमली, सयपत्री र गोदावरी हाम्रो संस्कृतिकै रङसज्जा पनि बनिसकेको छ । ती फूल नफुलीकन नेपाली दसैं–तिहार र छठजस्ता महान् चाडले रङ जमाउन सक्दैन । त्यसमा पनि लालुपातेको लालीबिना हाम्रा पहाडी गाउँघर खल्लो नै हुन्छ । शरदका यी फूलहरू (मखमली, सयपत्री, गोदावरी र लालुपाते) हाम्रो रैथाने प्राकृतिक सम्पदा होइन भनेर विज्ञानलाई आधार मान्दा नेपाली मानसपटलले चित्त बुझाउन निकै गाह्रो पर्छ । वास्तवमा यी फूलहरू मध्यअमेरिकी क्षेत्र विशेषगरी मेक्सिकोतिर सृष्टि भएका वनस्पति हुन् । यी अतिथिहरू कहिले आइपुगे, कसरी आइपुगे र हाम्रा संस्कृतिमा मात्र होइन व्यवसायमा समेत कसरी स्थापित भए भन्ने कुरा छुट्टै खोजको विषय बनेको छ । जेजस्तो भए पनि नेपाली माटोको आतिथ्य र नेपाली माली, बगैंचे एवं किसानहरूको माया र मिहिनेत ती फूलहरूमा शारदीय मुस्कान बनेर फुल्छन् ।

फूलका मुस्कानहरूका साथमा, शारदीय वनका सौन्दर्य, कलकलाउँदा स्वच्छ खोलानालाका आवाज, सलबलाउँदो शीतल बतास तथा तिरमिरे गोरेटोमा बरालिएका बटुवाका कथाहरू गाँसेर प्रकृतिसँग प्रीति गाँस्ने रहर शरदमा पलाउने गर्छ । यस सन्दर्भलाई कोट्याउने काम गर्न म स्वयं भने नोर्डेम रुम्बाका शब्दहरू सापटी मागेर कर्मा योञ्जनको संगीतमा गुन्जने अरुणा लामाको गीत सुन्न रुचाउँछु । गीतले प्रारम्भ गर्छ—

फूललाई सोधेँ

कहाँ गयो भँवरा ?

लजाएर फूलले भन्यो

कहाँ गयो कता लाग्यो ?

मेरो मन चुँडी लग्यो

त्यसले बैगुनीले…।

शिशिरको हिउँ, तुसारो र जाडोका प्रभाव तथा पोषणको अभावलाई छल्न चौडापात हुने वृक्षहरू पतझडको तयारीमा रहँदा प्रकृतिमा रङहरूको मञ्चन हुन्छ । त्यसको सम्पूर्ण सौन्दर्यलाई बोकेर पातहरू जमिनमा झर्न थाल्छन् । तसर्थ त्यस मौसमलाई पतझड ‘फल सिजन’ भनिन्छ । त्यस मौसमको सर्वोत्तम छटा संयुक्त राज्य अमेरिकाको न्यु इङ्ल्यान्ड तथा दक्षिण क्यानडातिर साकार हुन्छ । क्यानडाको राष्ट्रिय झन्डामा अंकित पात ‘म्यापल लिफ’ तीमध्ये प्रमुख हुन् । हाम्रो नेपाली वनमा पाइने म्यापलका बोटलाई फिरफिरे, कपासे आदि नामले चिन्छौं । हाम्रोमा म्यापल वृक्षहरू अरू सदावहार वृक्षसँग मिसिएका हुन्छन् । म्यापलकै बाहुल्य बन्दैन । म्यापलका प्रजातिलाई सम्बोधन गर्ने वैज्ञानिक नाम भने ‘एसर’ हो ।

तीन वर्षपहिले सन् २०१७ को शरदका केही दिन न्यु इङ्ल्यान्डमा बिताउने अवसर मिलेको थियो । बोस्टनदेखि न्यु ह्याम्पसायरको रेमन्डसम्मको यात्रामा सडक वरपर र टाढाटाढाका वनजंगलहरू पनि पहेंलो, सुन्तले, गुलाबी, गाढा खैरो आदि रङमा ढकमक्कै थियो । तीमध्ये रेड म्यापलका लालित्य अझ टड्कारो थियो । यसै वृक्षलाई रोड आइल्यान्ड राज्यले आफ्नो राज्यको प्रतीक मान्दो रहेछ । म्यापलका विभिन्न अन्य ६ प्रजातिमा पनि सुनौलो र सुन्तले रङका प्रभावले आकर्षण थप्ने काम गरेकै हुन्थ्यो । पतझडका कान्ति फैलाउने अरू वृक्ष र वनस्पतिलाई अमेरिकीहरूले हिकोरी

(ओखरपाते वृक्ष), एस (लाँकुरी प्रजाति), टुलिप ट्री (रूख कमलका प्रजाति), विभिन्नथरीका ओक (खस्रु, फलाँट, बाँझ प्रजाति), चेस्ट नट (कटुस प्रजाति) तथा बर्च (भोजपत्र प्रजाति) आदि नामले पहिचान जनाउँछन् । यसैगरी सिकामोर नामक चिनारका वृक्षहरू पनि उत्तिकै रोमाञ्चक देखिन्थे ।

शारदीय रंगभूमिका प्रख्यात स्थानमध्ये न्यु ह्याम्पसायरको ‘कान्काम्यान्गस हाइवे’ तथा ‘ह्वाइट माउन्टेन नेसनल पार्क’ नामक राष्ट्रिय निकुञ्जको प्रख्याति धेरै सुनिन्छ । तर, ठीक समयमा भ्रमण तालिका बनेन भने थोरै दिनभित्र राम्रो अवसर गुम्न जान्छ । र, मेरो धोको पनि अधुरै रह्यो ।

‘जता हेर्‍यो उतै राम्रो आनन्दी रङ लोकको,

छैन संसारमा नाम–निसाना दुःख शोकको ।’

कवि शिरोमणिको यो शरद उद्गारलाई यो वर्षको कोरोना त्रासले सलक्कै निलेको अवस्था छ । के युरोप, के क्यानडा, के अमेरिका, के नेपाल वा के एसिया सबैतिर शरद उही छ, शारदीय रङ सज्जा सबै उही छन् । तर, सम्पूर्ण मानव जाति भने मनमरि चिन्ता र मुटुभरि त्रास बोकेर आ–आफ्नै गुँडभित्र बन्दी छन् । अतीतका सम्झनालाई सँगालेर रमाइलो मनाउनुपरेको छ । क्यानडामा बसेर मेरी भान्जी प्रफुल्ला जोशी–मल्ल यस्तो सन्देश पठाउँछिन्—

आश्विन महिना

न्यानो घाम अनि चिसो बतास

नीलो आकाशमा चंगा रंगीचंगी

बगैंचामा सुन्दर सयपत्री फूल

भुनभुन गर्ने माहुरी र नाच्दै आएका पुतलीका हूल

भोगटेको रुखमा बुबाले हालिदिनुभएको पिङ

सानो हातमा हजुरबुबाले किनिदिनुभएको चुरा

आमाले दिनुभएको एक जोर नयाँ लुगा

मनभरि खुसी ओठमा नभेटिने मुस्कान

आहा ! बाल्यकालको दसैं, कति रमाइलो

कोरोनाको कहरमा यो वर्षको दसैं–तिहार बितेर गयो ।

‘नजली यहाँ झिलिमिली मनको तारा निभेछ/गुराँस फुल्यो पहाडमा मनको फूल झरेछ’ भन्ने अगमसिंह गिरीका पीडा सहेर हामीले दसैं–तिहार मनायौं । आउँदा दिनहरूलाई एउटा नयाँ रङ दिन सक्नुपरेको छ । त्यसका लागि प्रकृतिसम्मत जीवन बिताउने बानी बसाल्नुपर्छ । रोगव्याधसँग जुध्ने प्रतिरक्षात्मक कवचहरू फेला पार्नु छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त हामीले मानिस मानिसबीचको सहअस्तित्वलाई बलियो बनाउनुपर्छ । मानव र प्रकृतिबीचको सहअस्तित्वलाई कसैले बिथोल्न हुँदैन । सम्पूर्ण मानव जाति एकै डुंगाका यात्री हौं भन्ने सन्देश कोरोनाले व्याप्त गरेकै छ । हामी सबै मिलेर अर्को वर्षको शरदलाई हर्षोल्लासका साथ स्वागत गर्न सकौं । मेरो यही शुभकामना ।

कान्तिपुर

You might also like