खोप ल्याउन अध्यादेश

0

०४ मङि्सर ,काठमाडौं : सरकारले कोरोना भाइरसलगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा उपयोग गर्न अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले खोप तथा औषधि खरिद सहज तुल्याउने उद्देश्यले अध्यादेश जारी गरिएको जानकारी दिए।

विश्व बजारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने सम्भावनालाई ध्यान दिँदै छिटो खोप ल्याउन पूर्वतयारीका लागि अध्यादेश ल्याइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनालगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा प्रयोग गर्नुपरेको अवस्थामा सम्बोधन गर्ने ऐन नभएकाले अध्यादेश जारी गरिएको बताए। ‘कुनै संक्रामक रोगविरुद्ध निर्मित खोप वा औषधि आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने हुन्छ’, प्रवक्ता प्रा. डा. गौतमले भने, ‘त्यस्तो परेको अवस्थामा सहजै उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले अध्यादेश ल्याउनुपरेको हो।’

औषधि ऐन २०३५ मा औषधि दर्तासम्बन्धी व्यवस्था छ। औषधि व्यवस्था विभागमा दर्ता भएको औषधि मात्र बिक्रीवितरण गर्न पाउने कानुनी व्यवस्था छ। त्यस्तै, ऐनको दफा ३१ मा कसैले कुनै नयाँ औषधिको क्लिनिकल परीक्षण गर्न चाहे त्यसका लागि विभागबाट तोकिएबमोजिम अनुमतिपत्र लिनुपर्ने हुन्छ। अध्यादेशले यो व्यवस्थालाई खुकुलो बनाएको जनाइएको छ।

अमेरिकालगायत विभिन्न मुलुकका कम्पनीले कोरोना भाइरसविरुद्ध खोपको परीक्षणमा सफलता हासिल गरेको बताउँदै आएका छन्। कोभिडविरुद्धको खोपको परीक्षण सफल हुनासाथ खरिदका लागि सरकारले अर्थ, स्वास्थ्य र परराष्ट्रसचिव सम्मिलित ३ सदस्यीय कार्यदल गठनसमेत गरिसकेको छ।

स्वास्थ्य प्रवक्ता प्रा. डा. गौतमले भने कुन खोप ल्याउने भनेर कुनै निर्णय भइनसकेको बताए। ‘अहिले कोरोनाविरुद्धका खोप बन्दै गरेका हुन्। ती खोप सहज उपलब्धका साथै सुलभ र प्रभावकारी हुनुपर्‍यो’, उनले भने, ‘धेरै वर्षसम्म रोगविरुद्ध  काम गर्न सक्ने हुनुपर्छ।’

खोप भण्डारण चुनौतीपूर्ण

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा दर्जनौं कम्पनी प्रतिस्पर्धामा रहे पनि नेपालमा खोप भण्डारणका लागि भौतिक संरचना (कोल्ड चेन) समस्या देखिएको छ।

अहिले चर्चामा रहेका खोपमध्ये अमेरिकी कम्पनी मोडेर्नाको खोप भण्डारण गर्न सहज हुने देखिएको छ। यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रूपमा भण्डारण गर्न सकिने जनाइएको छ। सामान्य फ्रिजमा पनि एक महिनासम्म राख्न सकिन्छ। फाइजर र बायोएनटेकको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसको चिसो तापक्रममा भण्डारण गर्नुपर्ने कम्पनीले जनाएको छ। यो खोपले ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक गौतमले २ देखि ८ डिग्रि सेल्सियसमा भण्डारण गर्न सकिने भौतिक संरचनाको व्यवस्था रहेको बताए। मोडर्नाद्वारा निर्मित खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म राख्न सकिने जनाइएको छ। मोडेर्नाको खोपले ९४.५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ।

डा. गौतमले २० डिग्रीसम्मको तापक्रममा पनि भण्डारण गर्न सकिने भएकाले मोडर्नाको खोप उपयुक्त हुन सक्ने बताए। उनले भने, ‘माइनस ७० डिग्री सेल्सियसमा खोप भण्डारण गर्न सकिने अवस्था छैन। भण्डारणका लागि नयाँ संरचना बनाउनुपर्ने हुन्छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले कोरोनाविरुद्ध खोप निर्माण भइरहेकाले खोप ल्याउनेबारे कुनै निर्णय भइसकेको छैन। उनले भने, ‘खोप निर्माण भइरहेकाले कुन खोप प्रयोग हुन्छ । नेपालमा कुन खोप पहिले आउँछ भन्ने अहिले यकिन भइसकेको छैन।’

अन्नपुर्ण पोष्ट

You might also like