उरै नाकाबाट खुलेआम तस्करी

0

२६ कार्तिक , बझाङ — चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन ।

बझाङको उरै नाका हुँदै तस्करी गरिएका जडीबुटी भण्डारणका लागि सीमापारि बनाइएका क्याम्प । भेडा, खच्चड, चौंरी र भरियालाई बोकाएर पुर्‍याइएका जडीबुटी लिन तिब्बती व्यापारी गाडी लिएर यस ठाउँमा आउने गर्छन्। तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

उसो त चीन सरकारले कोरोना महामारीका कारण गत जनवरीदेखि नै उरै नाका सिल गरेको छ । हुम्ला, दार्चुला र बझाङका बासिन्दालाई तिब्बत प्रवेशमा निकै कडाइ गरिएको छ । व्यापार व्यवसाय र मजदुरीका लागि तिब्बतको ताक्लाकोटमा रहेका नेपाली गत वर्षदेखि नै फर्कन पाएका छैनन् । जडीबुटी र वन्यजन्तुका अंगहरू अवैध रूपमा तिब्बत ओसार्न भने कुनै रोकटोक छैन । ‘वैशाख–जेठतिर अलिअलि गए पनि असारदेखि ठूलो मात्रामा जडीबुटी उरै नाकाबाट पास भएको छ,’ जडीबुटी व्यवसायीसमेत रहेका साइपाल–४ धुलीका पासाङ लामाले भने, ‘यार्चागुम्बु, वन लसुन, सतुवा, कटुकी, रातो च्याउजस्ता जडीबुटीको ओसारपसार अहिले पनि भइरहेको छ ।’ लामाका अनुसार ताक्लाकोटमा रहेका नेपालीले त्यहाँका व्यापारीहरूसँग सेटिङ मिलाउँछन् र नेपालमा रहेका तस्करले जडीबुटी सीमासम्म पुर्‍याइदिन्छन् ।

दुई वर्षअघिसम्म तस्करहरूले नेपालको सीमाबाट दुई दिन पैदल दूरीमा रहेको चीनको पुराङ काउन्टीमा रहेको लुक्पु (बझाङीले कठान भन्छन्) सम्म जडीबुटी, वन्यजन्तुका अंगलगायत सामान पुर्‍याउने गरेका थिए । चीन सरकारले गत वर्ष नेपाल–चीन सीमामा पर्ने उरै नाकासम्म सडक पुर्‍याएपछि भने सीमामै कारोबार हुन थालेको धुलीका साम्देन लामाले बताए । ‘यताबाट भेडा, खच्चड, चौंरी र भरियालाई बोकाएर जडीबुटी र वन्यजन्तुका अंग उरैसम्म पुर्‍याउँछन् । उताका व्यापारीहरू गाडी ल्याएर सीमासम्म आउँछन् । त्यतैबाट कारोबार गरेर फर्किन्छन्,’ उनले भने ।

यो वर्ष उरै नाकाबाट एक क्विन्टलभन्दा बढी यार्चागुम्बु मात्रै तस्करी भएको स्थानीयको अनुमान छ । ‘पहिला यताको यार्चा चैनपुरबाट पुर्जी लिएर काठमाडौं लगिन्थ्यो,’ साइपालकै टासी लामाले भने, ‘अहिले जिल्लाका अरू ठाउँमा संकलन गरेको यार्चा पनि उरैबाट चीन पुर्‍याए । सबै गरेर एक क्विन्टलभन्दा बढी यार्चा उता (चीन) लगे होला ।’ तस्करहरूले जिल्लाका सबै ठाउँको यार्चा खरिद गरेर साइपाल गाउँपालिकाको बाटो हुँदै सीमासम्म पुर्‍याएको उनले बताए । कोरोना महामारी फैलिन सक्ने भन्दै यस वर्ष बझाङमा यार्चा तथा अन्य जडीबुटी संकलनमा रोक लगाइएको थियो । तर स्थानीय प्रशासनले पाटन जान लगाएको प्रतिबन्ध उल्लंघन गर्दै यहाँका संकलकले जेठबाट यार्चा बटुलेका थिए । गत वर्ष करिब २ सय किलो यार्चाको ६० लाख राजस्व उठाएको डिभिजन वन कार्यालयले यस वर्ष यार्चाका नाममा कत्ति पनि राजस्व संकलन गरेको छैन । जिल्लामा जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाएकाले संकलित सबै अवैध भएको वन कार्यालयको भनाइ छ ।

कान्तिपुर

You might also like