‘वर्ल्डप्रेस फोटो प्रतियाेगिता’को जुरीमा नेपालकी नयनतारा

0

२३  कार्तिक ,काठमाडौँ — ‘वर्ल्डप्रेस फोटो’ले आयोजना गरेको ‘मास्टर क्लास’मा यसपटक विश्वभरबाट २४ जना विद्यार्थी छानिए। मास्टर क्लासमा सहभागी हुन विद्यार्थीबीच मनोनयन गरिन्छ । यस वर्ष १५० जना विद्यार्थीबाट २४ विद्यार्थी मनोनित भए । र, उनीहरुले कक्षा लिन पाए । अरुबेला १२ विद्यार्थीले मात्र यो कक्षा लिन पाउँथे । मास्टर क्लास चार महिना लामो चल्यो । अरुबेला आम्स्टर्डम भेला भएर नै यो वर्कशप हुने गर्दथ्यो । तर यो पटक अनलाइनमार्फतै आयोजना भयो । मास्टर क्लासकै एक प्रशिक्षक थिइन् नयनतारा गुरुङ कक्षपति ।

मास्टर क्लासमा विद्यार्थीले गरेको प्रोजेक्ट हेर्ने, त्यसमा नयाँ आइडिया थपिदिने उनको जिम्मेवारी थियो । फोटो इडिटिङबारे पनि विद्यार्थीलाई सिकाइन् उनले । मास्टर क्लासको अन्तिमतिर हो ‘वर्ल्डप्रेस फोटो’ले उनलाई ‘जुरी चेयर’मा प्रस्ताव गरेको । फोटो सम्बन्धी विश्वचर्चित प्रतिस्पर्धाको कुनै दिन ‘जुरी’ हुन्छु भन्ने कक्षपतिले कहिल्यै सोचेकी पनि थिइनन् । आफ्ना फोटोहरुसमेत यो प्रतिस्पर्धामा कहिल्यै पठाइनन् । ‘वर्ल्डप्रेस फोटो’ले जुरीको लागि प्रस्ताव गर्दा नयनताराको मनमा खुशी छायो । आफूले गर्नुपर्ने जिम्मेवारी बुझिन् अनि जुरीका लागि तयार भइन् ।

‘खुशी लाग्यो । तर अर्कोतर्फ यो महत्त्वपूर्ण जिम्मेवारी हो। यसमा मेरो व्यक्तिगत सहभागी मात्र नभएर नेपाली फोटोग्राफीको समुदाय/फोटो पत्रकारितालाई प्रतिनिधि गरेको अनुभव भएको छ,’ उनी आफ्नो खुशी बाँडिन्,’यो क्षेत्रमा भएको चुनौतीलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लगेर त्यो विषयमा छलफल गर्न यो मौका हो जस्तो लागेको छ ।’

जुरी छनाेटमा परेकी कक्षपति नै पहिलो महिला नेपाली हुन् । मास्टर क्लासमा देखाएको क्षमता र फोटो पत्रकारिताप्रतिको लगनशिलताले नै आफू जुरीका लागि छनाेट भएको हुनसक्ने उनी सुनाउँछिन् । ‘वर्ल्डप्रेस फोटो’मा दुई क्याटगोरीमा फोटो प्रतिस्पर्धा हुन्छ, डिजिटल स्टोरी टेलिङ र फोटो कन्टेस्ट । उनी’फोटो कन्टेस्ट’तर्फकी जुरी हुन् ।

‘वर्ल्ड प्रेस फोटो’सँग यसअघि पनि नयनताराको समूह संलग्न थियो । नयनतारा साहयक संस्थापक रहेको ‘फोटो काठमाण्डू’ फेस्टिभलमा पनि यो संस्थाको सहभागिता हुँदै आएको थियो । ‘हामीले चलाउँदै आएको फोटो काठमाण्डूको फेस्टिभलमा त्यहाँबाट पनि सहभागिताको लागि हामीले कुरा गरेका थियौं । सन् २०१८ उहाँहरु आउनु भएको थियो,’ उनले सुनाइन्,’काठमाडौंका फोटो पत्रकार भेट्ने र अन्तरक्रिया गर्ने कार्यक्रम पनि राखेका थियौं । उहाँहरुले ‘वर्ल्डप्रेस फोटो’ प्रतिस्पर्धामा फोटो कसरी पठाउने भन्नेबारे पनि सिकाउनु हुन्थ्यो ।’उनी आफू जुरी भएपछि मात्र होइन अरुबेला पनि नेपाली फोटो पत्रकारले यस किसिमको प्रतिस्पर्धामा फोटो पठाउन हौसला दिन्छिन् । ‘हरेक पालि फोटो पत्रकारले सहभागी जनाउनु होला भन्ने आश छ,’ उनले भनिन् ।

नयनतारा विश्व प्रख्यात फोटो प्रतिस्पर्धाको जुरीमा छानिनु नेपालका फोटो पत्रकारको उपलब्धि मात्र होइन । यो महिला फोटो पत्रकारका लागि पनि गर्वको विषय हो । आज पनि महिला फोटो पत्रकार यो क्षेत्रमा कमै भेटिन्छन् । उनी आफै पनि यो सत्य स्वीकार्छिन् । महिला मात्र नभएर जातिय हिसाबले पनि सबैको समान सहभागिता देख्न चाहन्छिन् उनी । ‘कुनै कोटा भर्ने हिसाबले महिलालाई अवसर दिएर हुँदैनजस्तो लाग्छ । कुनै पनि प्रक्रियामा महिलाले के योगदान दिन सक्छ भन्ने जान्नुपर्‍यो । हामीले किन हरेक क्षेत्रमा महिलाको सहभागिता खोज्छौं त । किनभने यो संसार नै आधा महिला र पुरुषले बनेको छ,’ उनले भनिन्,’त्यसैले फोटो पत्रकारितामा महिला मात्र नभएर लैंगिक जातिय हिसाबले सबैको आवाज आउनु पर्‍यो । त्यसकारण अझै लामो बाटो छ जानुपर्ने । सक्षम महिलाहरुको कमी छैन । सायद बिस्तारै यो संख्यामा परिवर्तन आउला ।’

उनी आफै पनि आफूले गरिरहेका वर्कशपहरुमा महिलाहरुलाई सहभागी हुन प्रोत्साहन गर्ने गरेको बताउँछिन् । हुन त नयनताराले प्रेस फोटोग्राफीमा खासै अनुभव बटुलेकी छैनन् । उनी सधैं लङ स्टोरीमै फोकस भइन् । उनको लागि फोटोग्राफी माध्यम हो । संसार बुझ्ने माध्यम। कथा भन्ने माध्यम । ‘सामाजिक, आर्थिक र राजनीतिक विषयहरुमा मलाई चासो लाग्छ । त्यस्तो किसिमको विषयसँग जोड्न फोटोग्राफी माध्यम बन्यो,’उनले सुनाइन् ।

देशमा जनआन्दोलन चर्किरहेको थियो । अमेरिकामा ‘इन्टरनेसनल रिलेसन’ र ‘स्डूडियो आर्ट’ पढ्दै गरेकी नयनताराको ध्यान भने नेपालमै हुन्थ्यो । मिडिया र पत्राकारिताभित्र भइरहेको सेन्सरसिपका विषयबारे पनि अप्डेट लिइरहन्थिन् । युद्धले उग्र रुप लिइरहेको थियो । देशमा भइरहेको उथलपुथलले उनलाई कतिखेर घर फर्कौं भन्ने हुन्थ्यो ।

डिग्री सकिनासाथ इक्वल एक्सेसको प्रमुख अफिस सान्फ्रान्सिस्कोमा इन्टर्न सुरु गरिन् । उनको काम हुन्थ्यो इक्वल एक्सेसको सामुदायिक रेडियो कार्यक्रम सुन्ने । अंग्रेजीमा रिपोर्ट लेखिदिने । त्यहाँ नेपाली बुझ्ने कोही थिएन । उनी रेडियो सुन्दै हरेक दिन रिपोर्ट लेख्थिन् । सान्सफ्रान्सिस्को बसेर नेपालका गाउँ/ठाउँका कुरा रेडियोमा सुन्दा झनै उनलाई नेपाल फर्कने हतार भयो । देशमा भइरहेको राजनीतिक परिवर्तनलाई नजिकबाट नियाल्न चाहन्थिन् नयनतारा । त्यसैले सन् २००५ मा ६ वर्षे अमेरिका बसाइँपछि उनी काठमाडौं आइन् । अमेरिका जानुअघि पनि नेपालमै फर्कने अठोट लिएकी थिइन् उनले ।

काठमाडौं आएर फोटो पत्रकारिता थालिन् । अमेरिकामा लिएको छोटो फोटोग्राफी अध्ययनले सहयोग गर्‍यो । भर्खरै खुल्दै थियो वाइ म्यागाजिन । त्यहाँ एक वर्ष फोटो पत्रकारको रुपमा काम गरिन् । म्यागाजिनले युवा लक्षित विषयवस्तुमा काम गर्थ्यो । बिस्तारै म्यागाजिनमा राजनीति, सामाजिक विषयलाई महत्त्वका साथ प्रस्तुत गर्न थालियो । त्यही उनले समाचार कक्षको अनुभव बटुलिन् । त्यहाँ एक वर्ष बिताएपछि नयनताराले ‘फ्रिल्यान्स’ काम थालिन् । सामाजिक र लैंगिक विषय मन पर्थ्यो । विभिन्न संघ संस्थाका लागि यही विषयमा फोटो खिच्न थालिन् ।

सन् २००७ मा ‘फोटो सर्कल’ खुल्यो । उनी त्यसमा आबद्ध भइन् । फोटो सर्कलले विभिन्न वर्कशप र प्रदर्शनी सुरु गर्‍यो । बिस्तारै उनले फोटो पत्रकारका बीचमा रहेर काम गर्न थालिन् । उनीहरुलाई प्रशिक्षण र निर्देशन दिन सक्रिय भइन् । फोटो सम्बन्धी यस्तै संस्थाका कारण पनि पत्रकारको पहुँच अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुगेको उनी बताउँछिन् । ‘एक हिसाले खुशी लाग्छ । सानै भए पनि आज फोटोग्राफरभित्र एउटा समूह छ । एकअर्कासँग सिक्दै जाने भावना छ,’ उनले भनिन्,’समूह बलियो भने त अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुग्छ ।’

१४ वर्षदेखि फोटोग्राफीको क्षेत्रमा सक्रिय छिन् नयनतारा । आफ्नो यो यात्रामा परिवारको साथ पाएको उनी बताउँछिन् ।

अहिले उनी नेपाल पिक्चर लाइब्रेरी र फोटो काठमाण्डूमा आबद्ध छिन् । उनी फोटो काठमाण्डूकी सहसंस्थापक र फेस्टिभल निर्देशक पनि हुन् । नेपाल फोटो पिक्चर लाइब्रेरीको पनि सहसंस्थापकको रुपमा उनी आबद्ध छिन् ।

नेपालको फोटो पत्रकारिता कता गइरहेको छ ? प्रश्नको जवाफमा उनी भन्छिन्,’फोटो पत्रकारबीच छलफल हुन्छ । एउटाले अर्कोलाई प्रश्न गर्ने ठाउँ बिस्तारै गइरहेको छ । १०/१२ वर्षअगाडि त्यस्तो अवस्था थिएन । स्थानीय तवरमा एउटा एकअर्कालाई सहयोग गर्न संस्कृति बसेको छ । एकअर्काका कमजोरी औंलाइदिने माहोल बन्दै छ । त्यो भनेको नै राम्रो दिशामा गइरहेको हो ।’

उनी फोटो पत्रकारको कामको कदर देशभित्रै हुनुपर्ने बताउँछिन् । ‘हाम्रो कामलाई विदेशी प्रतिस्पर्धाले किन पहिचान गराइदिनु पर्ने ? म राम्रो फोटोग्राफर हो भन्न किन कुनै विदेशीले भनिदिनुपर्ने । मलाई लाग्छ हामीबीच नै त्यो परिपाटीको निर्माण हुनुपर्छ,’उनी सुनाउँछिन्,’हरेक वर्ष पिजे क्लबले एक अर्काकाको कामको कदर गर्ने गरेको छ ।’

कान्तिपुर

You might also like