जो दिनभर संक्रमित बोक्छन्

0

भाद्र ६,

ठमाडौँ — पोखरा स्थायी घर भएका धर्म रिमालले शुक्रबार बिहान ७ बजे खाजा खाए । अनि पीपीई लगाएर तयारी अवस्थामा बसे । लगत्तै नेपाल एम्बुलेन्स सेवाको कल सेन्टर १०२ मा फोन आउनेबित्तिकै कोरोना संक्रमितको व्यवस्थापनमा खटिए ।

नेपाल एम्बुलेन्स सेवा (१०२) का एम्बुलेन्स चालक धर्म रिमाल शुक्रबार कोरोना संक्रमितलाई अस्पताल पुर्‍याएर फर्किएपछि काठमाडौंको डिल्लीबजारस्थित कल सेन्टरमा । उपत्यकामा यो सेवाका पाँचवटा एम्बुलेन्स (काठमाडौंमा ३, ललितपुर १ र भक्तपुरमा १) लाई पछिल्ला दिनमा संक्रमित बोक्न भ्याइनभ्याइ छ ।शुक्रबार उनले पहिलो ट्रिपमा डिल्लीबजारबाट एक पुरुषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्‍याए । दोस्रो ट्रिप काठमाडौंको स्युचाटारबाट टेकु नै भयो । तेस्रो ट्रिपमा बसुन्धराको ग्रिनसिटी हस्पिटलमा उपचार गराइरहेका संक्रमितलाई टिचिङ अस्पताल पुर्‍याए ।

यी तीन बिरामीलाई अस्पताल पुर्‍याएर कोभिड संक्रमित व्यवस्थापन सेन्टर डिल्लीबजार पुग्दा साढे १ बजिसकेको थियो । पोखरामै रहेकी श्रीमतीसँग बिहान केही समय कुरा गरेर उनी संक्रमितको व्यवस्थापनमा निस्केका थिए । तीन जनालाई अस्पताल छाडेर एम्बुलेन्स निःसंक्रमित गरे । पीपीई खोले । कलसाइन अल्फा ८ भएका उनलाई खाना खाएलगत्तै बूढानीलकण्ठका संक्रमितलाई अस्पताल लैजानुपर्ने खबर वाकीटाकीमा आयो । स्वास्थ्यकर्मी र अर्का एक चालकलाई साथमा लिएर उनी त्यतातिर लागे । यसरी घरघर पुगेर संक्रमितलाई अस्पताल पुर्‍याउनु अहिले उनको दैनिकी हो /काठमाडौंमा दिनहुँ दुई सय हाराहारी संक्रमित देखिन थालेपछि स्थानीय तह र प्रशासनले बुधबार रातिदेखि निषेधाज्ञा जारी गरेका छन् । धर्म र एम्बुलेन्स सेवामा काम गर्ने उनका साथीहरू भने बिहान ७ बजेदेखि मध्यरातिसम्म संक्रमितलाई घरबाट अस्पताल पुर्‍याउन खटिरहेका हुन्छन् ।

बिहीबार पनि १२ ट्रिप गरेको उनले बताए । एउटा ट्रिपमा १ देखि ५ जनासम्म संक्रमितलाई अस्पताल पुर्‍याउने गरेका छन् । ‘काठमाडौं उपत्यकामा देखिने संक्रमितमध्ये अस्पताल र आइसोलेसन सेन्टर लैजानुपर्नेलाई १०२ कै जिम्मा लगाउने गरेका छौं,’ ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापाले बताए । काठमाडौंमा तीनवटा मात्रै एम्बुलेन्स हुँदा संक्रमितलाई बेलैमा अस्पताल र आइसोलेसन सेन्टरमा पुर्‍याउन नसकिएको उनले बताए ।

‘संक्रमित न्यून हुँदा त १०२ लाई सहजै हुन्छ तर बढ्नेबित्तिकै घरबाट अस्पताल लैजान रातिसम्म खटिनुपर्छ, केहीलाई भोलिपल्ट ल्याइन्छ,’ उनले भने, ‘संक्रमितलाई आइसोलेसन लैजान एम्बुलेन्स संख्या बढाउनुपर्ने अवस्था छ ।’ नेपाल एम्बुलेन्स सेवाले कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउन काठमाडौंको डिल्लीबजारमा सेन्टर बनाएको छ । जहाँ तीनवटा एम्बुलेन्सका ड्राइभर र स्वास्थ्यकर्मी सुत्ने र खाने व्यवस्था पनि छ । अन्य रोगका बिरामी ओसार्न अन्यत्रै सेन्टर बनाइएको छ ।

***

पहिलो पटक जोरपाटीकी एक महिलालाई टेकु अस्पताल पुर्‍याउनुपर्ने जिम्मेवारी पाउँदा चालक रिमाल आत्तिएका थिए । बिरामीलाई एम्बुलेन्समा चढाउनुअघि नै उनका मनमा अनेकथरी कुरा खेलेका थिए, ‘आफूलाई संक्रमण भइहाल्यो भने छोराछोरी र श्रीमतीको हालत के होला ?’

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेपछि उनीहरू घर जान पाएका छैनन् । ‘घर नगएको पाँच महिना भयो,’ उनले भने, ‘म्यासेन्जर र भाइबरमा परिवारसँग राति ११ बजेपछि र बिहान कुरा हुन्छ ।’ काठमाडौंमा परिवार भएका चालक र स्वास्थ्यकर्मीसमेत कोठामा जान पाएका छैनन् । उनीहरू एम्बुलेन्स सेन्टरले खडा गरेको आइसोलेसनमै बस्छन् । दैनिक संक्रमितको सम्पर्कमा हुने भएकाले आधा/एक महिनामा पीसीआर गर्छन् । सावधानी अपनाएकैले कसैलाई अहिलेसम्म संक्रमण भएको छैन । पीपीई लगाउन, संक्रमिलाई एम्बुलेन्समा चढाउन र ओराल्न उनीहरूले तालिम लिएका छन् ।

नेपाल एम्बुलेन्स सेवाले भक्तपुर र ललितपुरमा एक–एक एम्बुलेन्स व्यवस्था गरेको छ । ईडीसीडीले संक्रमितको नाम, ठेगाना र नम्बर दिएपछि १०२ को कन्ट्रोलले संक्रमित लिन एम्बुलेन्स पठाउने गरेको एम्बुलेन्स सेवाका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले बताए । संस्थाले संक्रमितलाई अस्पताल पुर्‍याउने र अस्पतालबाट घर ल्याउनलाई निःशुल्क सेवा दिएको उनले बताए । ‘अघिल्लो दिन अस्पताल लैजान नसकेका संक्रमितलाई बिहान ७ बजेदेखि बोक्छौं,’ जोशीले भने, ‘संक्रमित धेरै भएको दिन त राति २ बजेसम्म एम्बुलेन्स सहरमा गुडिरहेको हुन्छ ।’

लक्षणसहितका संक्रमितलाई अस्पताल र लक्षण नभएकालाई आइसोलेसन पुर्‍याउन तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरेको उनले जानकारी दिए । एम्बुलेन्समा चालक मात्रै नभई स्वास्थ्यकर्मी पनि खटिएका हुन्छन् । संक्रमित बिरामीका आफन्त एम्बुलेन्समा नहुने भएकाले बिरामी झार्नेदेखि अस्पताल पुर्‍याउनेसम्म चालक र स्वास्थ्यकर्मी खटिने गरेको उनले बताए । पछिल्लो समय संक्रमितले समाजमा गरिने भेदभावबाट बच्न आफ्नो टोलभन्दा फरक ठाउँमा गएर एम्बुलेन्स चढ्ने गरेको चालक रिमालले बताए । ‘तपाईं संक्रमित हुनुभएको रहेछ, हामी एम्बुलेन्स लिएर लिन आउँदै छौं भनेपछि बस्ने ठाउँभन्दा अन्यत्रै बोलाउँछन्,’ उनले भने ।

सुरुसुरुमा संक्रमितलाई ओसार्दा निकै डर लागे पनि अहिले त्यो कम हुँदै गएको उनी बताउँछन् । ‘पहिला त बोल्दा पनि कोरोना सर्छ होला भनेर संक्रमितसँग बोल्दिनथें, उनीहरू सुँक्कसुँक्क रोइरहेका हुन्थे, यिनलाई के हुने होला भनेर चिन्ता लाग्थ्यो तर सम्झाउने आँट हुँदैनथ्यो’, उनले भने, ‘अहिले पनि संक्रमितहरू परिवारबाट छुट्टिएर रुँदै आइरहेका हुन्छन् तर मलाई पहिलाको जस्तो डर लाग्दैन । यो निको हुने रोग हो भनेर सम्झाउने गरेको छु ।’

चालक र स्वास्थ्यकर्मीलाई पीपीई सेट भने स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने गरेको छ । संक्रमित बोक्ने चालक र स्वास्थ्यकर्मीले तलब त नियमित पाइरहेका छन् तर सरकारले उपलब्ध गराउने भनिएको जोखिम भत्ता भने पाउन सकेका छैनन् । काठमाडौं उपत्यकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई मासिक १२ लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । ५६ जना कर्मचारी भएकाले सञ्चालन खर्च महानगरले दिएकाले नपुग्ने जोशीले बताए ।

Kantipur

You might also like