महान अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे चर्चा

0

 कार्तिक २२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आयोजनामा महान अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे चर्चा गरिएको छ । सो सन्दर्भमा महासंघले प्रकाशन गरेको “मजदुर विद्रोह“ विमोचन समेत गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले क्रान्तिकारी ट्रेड युृनियन महासंघको त्रैमासिक मुखपत्र मजदुर विद्रोह विमोचन गर्नु भयो ।

महासंघको “महान अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे चर्चा एवम् मजदुर विद्रोह विमोचन कार्यक्रम’लाई सम्बोधन गर्दै महासचिव किरणले अक्टोबर महान समाजवादी क्रान्तिको बहुआयामबारे नेपाली सन्दर्भसँग जोडेर चर्चा गर्नुभयो । र, नेपाली विशिष्टतामा आधारित जनविद्रोहको आवश्यकतामाथि जोड दिनुभयो । उहाँले नेपालमा क्रान्तिका लागि क्रान्तिकारी शक्तिहरुको एकताको अपरिहार्यतालाई पनि औल्याउनु भयो ।

कुपण्डोल पार्टी कार्यालयमा भएको कार्यक्रमलाई अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की महासचिव शारदा महतले अक्टोबर क्रान्तिको आयामको चर्चा गर्दै नेपाली क्रान्तिमा बोल्सेभिड स्प्रिटको बारेमा चर्चा गर्नुभएको थियो ।


महान अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे आयोजक महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले लिखित रुपमा संक्षिप्तमा प्रकाश पार्नुभएको कार्यक्रमलाई आन्दोलनरत घटक ट्रेड युनियन महासंघका नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

महासंघका महासचिव बसन्त बोगटीले सञ्चालन गरेको कार्यक्रमलाई समाजवादी ट्रेड युनियन महासंघका समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सना, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका इन्चार्ज कृष्णहरि भट्ट र महासंघका प्रतिनिधि शिशिर भट्टराईले सम्बोधन गर्नुभएको थियो ।

आयोजक संगठनका सचिवालय सदस्य बद्री चापागाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा सबै वक्ताहरुले ‘मजदुर विद्रोह’ प्रकाशन गरेकोमा महासंघलाई बधाई दिनुका साथै प्रकाशनको निरन्तरताको लागि शुभकामना दिनुभएको थियो ।

कार्यक्रम महान अक्टोबर समाजवादी क्रान्तिको १०३ बर्ष पुगेको अवसर पारेर आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागर, पार्टी पीवीएम तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जन, पार्टी केस क्षितिज, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकी ललितपुर अध्यक्ष इन्दिरा अधिकारी लगायत आयोजक महासंघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

You might also like