पर्यटक शून्य

0

 २१ कार्तिक/काठमाडौं : कोरोनाका कारण सन् २०२० को मार्च २२ बाट नेपालमा लकडाउन घोषणा भएको हो। २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनालाई पनि कोरोनाले स्थगित गरिदिएको थियो।लकडाउन घोषणा भएयता सरकारले विदेशी पर्यटकलाई नेपाल भ्रमण खुलाएको छैन। कात्तिक १ गतेबाट भने हिमाल आरोहण तथा पर्वतारोहणका लागि मात्र पर्यटकलाई अनअराइभल भिसा दिन सुरु गरेको छ। यसैबीच, सरकारले सन् २०२० अक्टुबर महिनासम्म २ लाख १८ हजार १ सय ७३ विदेशी नेपाल भित्रिएको तथ्यांक सार्वजनिक गरेको छ। समीक्षा अवधिमा ९ लाख ६६ हजार विदेशी पर्यटक नेपाल आएका थिए।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टुबर महिनामा मात्रै १८७४ विदेशी नेपाल भित्रिएका छन्। सरकारले पर्यटकलाई नेपाल खुलाइनसकेकाले कूटनीतिज्ञ नियोगका प्रतिनिधि, विभिन्न गैरआवासीय संघसंस्थामा कार्यरत विदेशी गरी यो तथ्यांक सार्वजनिक गरेको बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए। यसलाई पर्यटन गतिविधिभित्र राख्न नमिल्ने बताइएको छ। अंग्रेजी वर्षको मार्चसम्म भने नेपाल घुम्न आउने पर्यटकको संख्या समावेश गरिएको लामिछानेले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। सुरुको तीन महिनामा २ लाख १५ हजार १ सय ११ विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०१९ को तीन महिनामा ३ लाख ११ हजार ४७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

कात्तिक १ गतेबाट हिमाल आरोहण तथा पदयात्रा सुरु भएपछि भने केही विदेशी पर्यटक अनअराइभल भिसा लिई नेपाल आएका छन्। करिब एक सय जना पर्यटकले हिमाल आरोहण तथा पदयात्राका लागि भिसा स्वीकृति पाएका छन्।  अंग्रेजी वर्ष सकिन करिब डेढ महिना पनि बाँकी नरहँदा अब नेपालमा विदेशी पर्यटक आउन सक्ने सम्भावना भने कम भएको छ। किनभने आरोहण तथा पदयात्राको शरदयाम पनि सकिएको छ। अब यसका लागि विदेशी पर्यटक नआउने पर्यटन विभागले यसअघि नै जानकारी दिएको छ। सरकार पर्यटकलाई भिसा खुलाउने तयारीमा जुटेको छ। आगामी महिनाबाट पर्यटकका लागि नेपाल खुलिहाले पनि पर्यटक आउने सम्भावना कम भएको पर्यटन बोर्डका प्रवक्ता लामिछाने बताउँछन्।

कोरोना महामारी नेपालमा बृहत् रूपमा फैलिरहेको एउटा कारण हो भने अर्को नेपाल घुम्न आउने प्रायः भारत, अमेरिका तथा युरोपेली देशमा कोराना दोस्रो चरणमा आक्रामक रूपमा फैलिइरहेको छ। यसले गर्दा ती मुलुक पुनः लकडाउनमा रहेका र जाने तयारीमा छन्।नेपालले अब यो महामारीमा पनि पर्यटक भियाउनका लागि नयाँ मुलुकलाई आकर्षित गर्नुपर्ने देखिन्छ। चीन, जापान, कोरियाजस्ता मुलुकमा कोरोना नियन्त्रित अवस्थामा नै रहेकाले नेपालको पर्यटनको मोडालिटी त्यता लक्षित गर्नुपर्ने लामिछानेको भनाइ छ। >>Annapurna post

You might also like