काठमाडौंलाई मागिखानेहरुको सहर भनेर विश्वलाई चिनाउने काम कसैबाट नहोस् : मेयर शाक्य

0

बुधबार पत्रकार सम्मेलन गर्नु हुँदै मेयर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयाे । ‘अहिले काठमाडौंका पुरानो बसपार्कलगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ,’ शाख्यले भन्नुभयाे ।

मेयर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफ्नो मान्यता भएको समेत बताउनुभयाे । ‘काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ,’ उहाँले भन्नुभयाे, ‘कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभाबी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ ।’

अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउँदै आएका छन् । सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइज्जत भएको भन्दै महानगरपालिकाले प्रहरी परिचालन गरेर नि:शुल्क खाना खुवाउने अभियान प्रतिबन्ध लगाएको छ । अहिले महानगरपालिकाकाे चौतर्फी आलोचना भइरहेको छ ।

सम्मेलनमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाटै गुनासो आएको पनि मेयर शाख्यले बताउनुभयाे ।  ‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’ उहाँले भन्नुभयाे ।

कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गर्नुभयाे । लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने काम गरेको पनि मेयर शाक्यले बताउनुभयाे ।

लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यले बताउनुभयाे ।

अहिले मुलुकमा लकडाउन नभएकाले सबैले समन्वय गरेर अघि बढ्नुपर्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे ‘अहिले मुलुकमा लकडाउन छैन । यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ ।’

श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनु पर्ने, अल्छी बन्नु नहुने मेयर शाख्यकाे भनाइ छ । ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न,’ उहाँले भन्नुभयाे ।

 

News24Nepal
You might also like