बर्दघाट नगरपालिका भित्रका २२१ घर खरको छानो मुक्त

0

बर्दघाट ः बर्दघाट नगरपालिकाले नगरका १३ वटा वडाका विपन्न्न परिवारका खरको छानो भएको घरलाई जस्ताको छानो सहयोग गरेको छ । ‘हामी कहाँ सुचीकृत हुन आएका वडा नम्बर १ देखि १३ सम्मका खरका छानो भएका घरलाई खरको छानो मुक्त बनायौ’ –नगर प्रमुख धीरज शर्मा बस्यालले भन्नुभयो । – ‘चालुबर्ष नगरलाई नै खरको छानो मुक्त घोषणा गर्नेछौ ।’ चालुबर्षमा वडा नम्बर १४ , १५ र १६ मा रहेका खरका छानो भएका घरमा टिनको छानो लगाएर नगरलाई खरको छानो मुक्त नगर घोषणा गर्ने योजना रहेको उहाँको भनाई छ। बर्दघाट नगरका जनप्रतिनिधिले ल्याएको खरको छानो मुक्त अभियान देशैभर संचालन गरिएको उहाँको दावी छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले चालूबर्ष नगरवासीका घरलाई खरको छानो मुक्त बनाउन ५० लाख रुपैया बजेट रहेको जानकारी दिनुभयो । २०७४÷०७५ मा ७६ घर, ०७५÷०७६ मा ५५ ,०७६÷०७७ मा ९० गरी कुल २२१ घर खरको छानो मुक्त भएको र त्यसका लागि ८८ लाख ४० हजार रुपैया खर्च भएको सुचना अधिकारी पुष्कर काफ्लेले बताउनुभयो । यसबर्ष ५० लाख रुपैयाको टिन , पाइप तथा अन्य आवश्यक सामानहरु दिने गरी टेन्डरमार्फत खरिद प्रक्रिया शुरु भएको काफ्लले जानकारी दिनुभयो । प्रदेशको २५ लाख नगरको २५ लाख र यस अघि खर्च भएको रकम समेत गरी कुल १ करोड ३८ लाख ४० हजार रुपैया नगरले खरको छानो मुक्त अभियानमा लगाएको हो ।

You might also like