उन्मुक्ति खोज्दै वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’

0

कार्तिक १८, २०७७/काठमाडौँ — वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएको आरोपमा रसुवा कारागारमा रहेका कुञ्जोक लामाले आफू कुञ्जोक छिरिङ तामाङ रहेको भनेर आरोपबाट उन्मुक्ति पाउन व्यापक चलखेल गरिरहेका छन् ।

पक्राउ परेका कुञ्जोक लामा र सेनाको दुर्गा बक्स गणले २०६२ भदौ १६ मा रसुवाको साबिक स्याफ्रु गाविस–९ मा बरामद गरेका वन्यजन्तुका अंगहरू । तस्बिर सौजन्य : दिवाकर चापागाईं

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले भने कुञ्जोक लामा र कुञ्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको र उनको पहुँच वन्यजन्तुका अन्तर्राष्ट्रिय खुंखार व्यापारी र तिनको नेटवर्कसम्म रहेको दाबी गरेको छ । कुञ्जोक लामा र कुञ्जोक छिरिङ तामाङ नामका व्यक्तिले प्रयोग गर्ने मोबाइल नम्बर भने एउटै पाइएको छ ।

नेपाली सेनाको दुर्गा बक्स गणले २०६२ भदौ १६ मा रसुवाको साविक स्याफ्रु गाविस–९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुका अंग बरामद गरेको थियो । ती वन्यजन्तु ओसारपसार र बेचबिखनमा लामा संलग्न भएको दाबी गरिएको छ । लामाले रसुवागढीबाट ती वन्यजन्तुका अंग केरुङ हुँदै तिब्बत तस्करी गराउन खोजेको सीआईबीको दाबी छ । उनीसँग तिब्बतको परिचयपत्रसमेत भएकाले उनलाई आउजाउमा सहज हुने गरेको स्रोतले जनाएको छ ।

नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा समेत रहेका उनै लामालाई गत असार ११ मा सीआईबीले काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेर लामटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । पक्राउ परेर जिल्ला अदालतमा मुद्दा विचाराधीन भएकै बेला उनले आरोपित व्यक्ति कुञ्जोक लामा आफू नभएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त हुन सर्वोच्च अदालतमा निवेदन दिएका छन् । नक्कली नोट र सुन तस्करीमा जोडिएका इल्ताफ आलम नाम फेरी आफूलाई ‘अल्ताफ आलम’ का रूपमा चिनाएर सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त भएकै शैली कुञ्जोकले पनि पछ्याउन खोजेको देखिन्छ ।

सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले धेरै प्रमाणपत्रले कुञ्जोक लामा र कुञ्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि हुने भएकाले उनको दाबीको कुनै अर्थ नहुने प्रतिक्रिया दिए । ‘दुवै नाममा एउटै फोन नम्बर प्रयोग भएको देखिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय गिरोहहरूसँग कुञ्जोक लामा भनेर परिचय गराएको पाइएको छ ।’

सेनाले १५ वर्षअघि पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओंतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलोग्राम हड्डीसहित ५ जनालाई पक्राउ गरेको थियो । उक्त घटनाका प्रमुख योजनाकार भनिएका कुञ्जोक लामा भनिने कुञ्जोक छिरिङ तामाङ फरार थिए । अरू आरोपितलाई भने लामटाङ राष्ट्रिय निकुञ्ज, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतले मुद्दा टुंग्याइदिएको थियो । एक जनाबाहेक अरू सबै कसुरदार ठहरिए । लामा फरार रहेकाले मुद्दा मुल्तबीमा थियो । पक्राउ परेका तीन जनाले उक्त घटनामा उनी नै संलग्न रहेको बयान दिएका थिए । उक्त घटनामा मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भनिने रिसाङ लामालाई सर्वोच्चले सात वर्ष कैद र एक लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ मा बाघलगायतका वन्यजन्तुको अवैध कारोबार गर्ने र संलग्न हुनेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ । उक्त घटनामा संलग्न रहेका बलराम श्रेष्ठलाई ५ वर्ष कैद भएको थियो । थोप्तेन तामाङले सफाइ पाएका थिए । लामटाङ निकुञ्जले १ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दा अघि बढाउन नसक्ने भएकाले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रसुवामा मुद्दा अघि बढेको थियो । जिल्ला अदालतले गत असार १४ मा कुञ्जोकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध कुञ्जोकले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतका न्यायाधीश राजप्रसाद भट्टराईको इजलासले गत असार ३० गते जिल्ला अदालतबाट ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश दियो । आरोपितमाथिको आरोप के हो, के कति कारणले उनलाई आरोप लगाइएको हो, अदालतले के आधारमा थुनछेकको आदेश गर्‍यो भन्ने विस्तृत विवरण खुलाइएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भनिन्छ ।

त्यो प्रतिवेदन पेस भएर उच्च अदालतमा निवेदन विचाराधीन भएकै अवस्थामा कुञ्जोकले कात्तिक पहिलो साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । उच्च अदालतमा सेटिङ नमिलेपछि उनी सर्वोच्च गएको स्रोतको दाबी छ । उनले पाटन र सर्वोच्चमा समेत आफू मुख्य अभियुक्त भनिएको कुञ्जोक लामा नभई ‘कुञ्जोक छिरिङ तामाङ’ हुँ भनी दाबी गरेका थिए ।

दसैं बिदाको मौका छोपेर सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका उनले सोमबार भने निवेदन दिएर सुनुवाइ स्थगित गरेका छन् । मंगलबारसमेत सुनुवाइका लागि उनको निवेदनको तारिख परेको छ ।

कुञ्जोकको अन्तर्राष्ट्रिय कनेक्सन लामा नेपालमा मात्र नभएर भारतका बाघलगायत वन्यजन्तुका ठूला तस्करीमा समेत जोडिएका छन् । सीआईबी स्रोतका अनुसार सन् १९९९ मा भारतको गाजियाबादमा भएको वन्यजन्तुका अंगहरूको बरामदमा समेत उनको नाम जोडिएको छ । सन् २००० मा भारतकै खागा भन्ने स्थानमा वन्यजन्तुका अंगहरू बरामद हुँदा पनि उनको नाम जोडिएको सीआईबीले जनाएको छ । ‘बाघ मार्ने र तिनका अंगहरूको कारोबार गर्ने बाबरिया समूहको नेटवर्कसँग पनि लामाको सम्बन्ध पाइएको छ,’ सीआईबी स्रोतले कान्तिपुरलाई भन्यो, ‘इन्टरपोल र भारतको डब्लूसीसीबी र सीबीआईले दिएका प्रमाणहरूको आधारमा यी व्यक्तिको अन्तर्राष्ट्रिय खुंखार व्यापारीसँग सम्पर्क रहेको देखिन्छ ।’

केही समयअघि बाबरिया नेटवर्कका भिमा बाबरिया भारतमा पक्राउ परेका थिए । त्यो नेटवर्कसँग पनि लामाको सम्बन्ध रहेको पाइएको छ । त्यस्तै, सन् २००८ मा भारतको हरियाणामा भएको वन्यजन्तुका अंगहरूको बरामद केसमा पनि उनको सम्बन्ध देखिन्छ । ‘भारतमा अहिलेसम्म भएका सबैजसो वन्यजन्तु बरामदका केसमा उनको नाम जोडिनुले त्यहाँका तस्करहरूको समूहसँग कनेक्सन पुष्टि हुन्छ,’ सीआईबीका एक अधिकारीले भने ।

१५ वर्षयता वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा भएका सबैजसो बैठकमा लामाको नाम चर्चामा आउने गरेको थियो । नेपाल र भारतका सरकारी अधिकारी र सुरक्षा निकायसहित इन्टरपोलले उनलाई पक्राउ गर्न सके नेटवर्कमा रहेका अरूलाई पनि समात्न सकिने भनेर चर्चा हुने गरेको थियो । स्रोतका अनुसार लामको चर्चित वन्यजन्तु अपराधी संसार चन्दको नेटवर्कमा रहेका व्यक्तिहरूसँग समेत पहुँच रहेको पाइएको इन्टरपोलले प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै, डान्डुक लामा र नुटुप लामासँग पनि उनको सम्बन्ध रहेको देखिएको छ । यी दुवै वन्यजन्तु तस्करीमा प्रख्यात नाम हुन् । दुवैसँग भारत, नेपाल र तिब्बतको नागरिक पुष्टि हुने प्रमाणपत्र (परिचय) छ । कुञ्जोकसँग पनि तीनवटै देशको नागरिक पहिचान हुने प्रमाणपत्र छ ।

सीआईबीका अनुसार कुञ्जोक लामाको सम्बन्ध नुवाकोटमा ८ वर्षअघि बरामद गरिएको आखेटोपहार तस्करीमा मुछिएका जिमी शेर्पा भनिने लोडु डिमेसँग पनि रहेको देखिन्छ । २०६९ सालमा काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा २ ख ७५०४ नम्बरको गाडी नुवाकोटमा खानतलासी गर्ने क्रममा प्रहरीले बाघको छाला पाँच थान र विभिन्न वन्यजन्तुका हड्डी बरामद गरेको थियो ।

भारतको डब्लूसीसीबीले पनि वन्यजन्तुका विभिन्न मुद्दामा लामालगायतको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख गरेको सीआईबीले जनाएको छ । ‘लामाले भारतका विभिन्न स्थानबाट वन्यजन्तुका अंगहरू तिब्बतसम्म तस्करी गर्ने गरेको प्रमाणसमेत भेटिएको छ,’ सीआईबी स्रोतले भन्यो, ‘भारतमा भएका वन्यजन्तुका बरामदका केसमा समेत उनको नाम हिटलिस्टमा परेको देखिन्छ ।’

नेपालमा भने उनको स्थायी ठेगाना हुम्लाको नाम्खा गाउँपालिका–४ हो । उनले लामो समयदेखि काठमाडौंको बौद्धमा बसेर अवैध गतिविधि गर्दै आएको देखिन्छ । उनले भारतको सिलिगुडीमा पस्मिना कारखानासमेत चलाएको पाइएको छ । उक्त कारखानामा तिब्बतको पठारमा पाइने चिरुको रौंबाट अत्यधिक महँगा सलहरू निर्माण हुने गरेको छ । नेपालमा वन्यजन्तु अपराधबारे अनुसन्धान गरेका कुमार पौडेलले नेपाल र भारतमै पनि विभिन्न समयमा पक्राउ परेका तस्करहरूले लामाका लागि काम गर्ने गरेको बयान दिने गरेका थिए ।

उस्तै घटना

प्रहरीले गत साउन १३ गते सुन्धाराबाट साढे १४ केजी चाँदी, ७ सय ५० ग्राम सुन र २ थान पेस्ताल बरामद गर्‍यो । त्यसका योजनाकारमध्येका एक इल्ताफ आलम घटना भएको करिब २ सातापछि साउन २९ गते बाराको जितपुरबाट पक्राउ परे ।

हेर्दै जाँदा जिल्ला र पुनरावेदन अदालतबाट दोषी ठहर भएका उनी ‘त्यो व्यक्ति म नै होइन’ भन्ने जिकिरका आधारमा दुई वर्षअघि सर्वोच्च अदालतको फैसलाबाट फुत्किएको पाइयो । भारतीय जाली नोट कारोबारमा कुख्यात गिरोहका रूपमा कहलिएका उनी सुन तस्करी प्रकरणमा पक्राउ परेपछि मात्रै दुई वर्षअघिको सफाइको रहस्य सतहमा आएको हो । नक्कली भारतीय नोटको कारोबारको आरोपमा जिल्ला अदालत ललितपुरले २०६७ जेठ २६ गते शेख सफी अहमद र अल्ताफ अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ मंसिर १९ गते जिल्लाको फैसला सदर गरेको थियो ।

२०७२ जेठ ३० गते ललितपुरको सातदोबाटोबाट सीआईबीले इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गर्‍यो । ब्युरोले भोलिपल्ट फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझायो । जिल्ला हुँदै पुनरावेदन अदालतबाट समेत दोषी ठहर भएका अल्ताफ हुसेन अन्सारी यिनै हुन् भन्दै प्रहरीले उनलाई कैदमा पठाउने प्रक्रिया थाल्यो ।

अन्सारीले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राख्न खोजिएको भन्दै उच्च अदालत पाटनमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हाले । आफ्नो नाम इल्ताफ हुसेन अन्सारी भएको दाबी गर्दै उनले ‘अल्ताफ अन्सारी कसुदार ठहरिएको मुद्दामा मैले किन सजाय भोग्ने ?’ भनी प्रश्न गरे । त्यही आधारमा सर्वोच्चले अल्ताफ र इल्ताफ एउटै व्यक्ति मान्न नसकिने भनी उनलाई कैदमुक्त गर्न आदेश दियो । टुंगिइसकेको त्यो मुद्दा पुनरावलोकन हुनुपर्ने भनी सरकारी पक्षले सर्वोच्चमा निवेदन दिएको छ । महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘ठ्याक्कै त्यही शैलीमा कुञ्जोकले पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएको देखिन्छ ।’<<kantipur

You might also like