कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

0

‘खानाले बिरामी हुने अवस्था’

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने हो’, उनी भन्छन्, ‘तर यहाँ त जेलभन्दा पनि समस्याग्रस  छ।’

प्रदेश सरकारको सहयोगमा इटहरी उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेको इटहरी रंगशालाको आइसोलेशनमा कुनै पनि स्वास्थ्य मापदण्ड पुरा नगरी लापरवाही गरिएको संक्रमितको आरोप छ। ‘खानादेखि सरसफाई अनि स्वास्थ्य उपचारसम्म भद्रगोल छ’, खतिवडाले थपे।

आइसोलेशनमा बसेर फर्किएकाहरु त्यहाँ नजान सबैलाई सल्लाह दिन्छन्।  ‘संक्रमण भए पनि आइसोलेशन जाँदै नजानुस्’, उनले आइसोलेशनको पीडा सम्झदै भने।

इटहरीका अर्जुन शर्माको ११ दिन लामो आइसोलेशन बसाई अत्यन्त खराब रह्यो। ‘म बसुन्जेल कुहिएको आलु र फर्सीको तरकारी खुवाइयो,’ उनले भने, ‘पछि सबैले विरोध गरेपछि बल्ल अलिअलि साग दिइयो।’

खानेकुराकै कारण बिरामी हुने अवस्था रहेको उनको भनाइ छ। बाहिरबाट प्याकेटमा लगिएको खानेकुरा स्तरीय नभएको धेरै संक्रमितको गुनासो छ। कतिपयले त आफैले खाना मगाएर खाने गरेका छन्। तर बाहिरबाट आफन्तले लगेको खाना पनि प्याकिङ खोलेर सेनाले जाँच गर्ने गरेको छ।

संक्रमितलाई बिहान १ घण्टा र दिउँसो १ घण्टामात्र खानेकुरा लान पाइन्छ। यो नियम अव्यवहारिक भएको संक्रमितको भनाइ छ। सेनाले संक्रमितलाई दुर्व्यवहार गर्ने गरेको गुनासोसमेत संक्रमितले गरेका छन्।

दुई मिटर दूरीको नियम आइसोलेशनमै पनि पालना नभएको अर्जुनको भनाइ छ। चर्पी र बाथरुम पर्याप्त छैनन्।  ‘कोरोनाभन्दा पनि आइसोलेशनको अस्तव्यस्तताले गर्दा बढी समस्या भयो,’ उनले भने।

उनका अनुसार आइसोलेशनमा फोहोर व्यवस्थापनदेखि उपचारसम्मको अभाव छ। स्वास्थ्यकर्मीहरु खासै पुग्दैनन्। ‘एक जना बीएससी पढेकी बहिनी रहिछन्। उनी पनि संक्रमित। उनी हुन्जेल उनले त्यहाँका अरु बिरामीको हेरविचार गरिन्,’ खतिवडाले भने, ‘उनी हिँडेपछि पीपीई लगाएका स्वास्थ्यकर्मी त कोही आएनन्, बरु अरु संक्रमितले नै एक अर्काको हेरचाह गरे।’
उक्त आइसोलेशन प्रदेश १ सरकारको २० लाख सहयोगमा निर्माण भएको हो। असोजदेखि सञ्चालनमा आएको आइसोलेशनमा एक सय बेड छन्।

खानामा समस्या छ : उपमेयर

आइसोलेशनमा खानाको विषयमा गुनासो आइरहेको उपमेयर लक्ष्मी गौतमले स्वीकार गरेकी छन्। उनका अनुसार पहिलो तीन महिनाको लागि खाना व्यवस्थापनको जिम्मा उद्योग वाणिज्य संघले लिएको छ। संघले सामग्री उपलब्ध गराउने गरेको छ। उक्त सामग्रीलाई प्रयोग गरेर क्याटरिङले खाना बनाएर आइसोलेशनसम्म पुर्याउँछ।

समय-समयमा मासु खुवाउने भनिए पनि खुवाइएको छैन। संक्रमितहरुसँग दसैं मनाउन पुगेकी उपमेयर गौतमसँग पनि संक्रमितले मासु खान नपाएको गुनासो गरेका थिए।

उनले सेनाले दुव्र्यवहार गरेको आरोपको बचाऊ गरेकी छन्। सीसीटीभी हेरेर छानबिन गर्न सकिने उनको भनाइ छ। व्यवस्थापनको सम्बन्धमा आइसोलेशनमा केही समस्या भए पनि प्रचार गरिएजस्तो नभएको उनको दाबी छ।

‘आइसोलेशनको अन्य व्यवस्थापन प्रचार गरिएजस्तो भद्रगोल छैन’, गौतमले भनिन्, ‘केही समस्या देखिए पनि समाधान भइहाल्छ।’..Annapurna post

You might also like