विद्रोही सर्जक जसले राजा, पञ्च अनि पत्रकारको खेदो खन्नुभयो
अमृतप्रसाद पौडेल
बेनी, कात्तिक ११ गते । कतिपय मानिस आफूमाथि जति अन्याय अत्याचार हुँदा पनि चुपचाप बस्छन् तर केही मानिस जन्मजात विद्रोही हुन्छन् । आफूमाथि मात्र होइन अरु कोही माथि अन्याय भएको देखे पनि त्यसको विरोधमा विद्रोह थाल्छन् । कुनै कुरा विरुद्धको विद्रोह गर्ने विभिन्न माध्यय हुन्छन्, कोही बोलेर त कोही लेखेर विद्रोहको आगो ओकल्छन् । कलम र अभियनयबाट विद्रोहको बिगुल फुक्ने एक प्रतिभा हुनुहुन्छ ध्रुवलाल शर्मा । जनता पिल्सिएको सहन नसक्ने बानी उहाँकाे परिचय नै बन्यो उहाँको यही स्भावका कारण उहाँले राजा, पञ्च तथा पत्रकारविरुद्ध पनि बलियोसँग औंला ठड्याउनुभयो । बेनी नगरपालिका–६ अर्थुङ्गेका ध्रुवलाल शर्माले आफ्नो सक्रिय जीवनमा दुई सय भन्दा धेरै ब्यङ्ग्य (तत्कालिन अवस्थामा कमिक भनिन्थ्यो) मा अभिनय गर्नुभयो । जनताको पक्षमा हुने काम र जनताको पक्षमा हुने कार्यकै लागि नेतृत्व गर्दा कोही जनताविरुद्ध गयो कि भन्ने लागेमा ब्यङ्ग्य वा कविताकै माध्यमबाट पनि उछितो काढ्ने गर्नुहुन्थ्योे उहाँ ।
२००५ जेठ १७ गते बाबा गंगादत्त र आमा मन्दोत्तरी शर्माको कोखबाट जन्मिनुभएका ध्रुवलाल शर्माले १४ वटा साहित्यिक कृति प्रकाशन गर्नु भएकाे छ । पहिलो पटक २०१९ सालमा प्रकाश माध्यमिक विद्यालयको भित्ते पत्रिकामा आफ्नो रचना प्रकाशन गर्नुभएको थियो । विद्यार्थी जीवनमा नाटक तथा ब्यङ्ग्यमा अभिनय गर्नुभएका शर्मा लेखन र अभिनयकै कारण पटकपटक गिरफ्तारीमा पर्नुभएको थियो । कविता, कथा, खण्डकाब्य, गीतिकाब्य, मुक्तक, नियात्रा लगायतका शर्माका १४ पुस्तक प्रकाशन भइसकेका छन् भने अन्य १० पुस्तक प्रकाशोन्मुख छन् । शर्माका लेखरचनाहरु विभिन्न स्मारिका, साहित्यिक पत्रपत्रिका, भित्ते पत्रिका लगायतमा फुटकर रुपमा प्रकाशन भए पनि २०६२ पछि पुस्तककार स्वरुपमा प्रकाशन गर्न थाल्नुभएको थियो ।
विद्यार्थी काल पछि वि.सं. २०३२ सालमा शिक्षकहरुको सुविधाका लागि भएको आन्दोलनमा शर्मा पहिलो पटक गिरफ्तार हुनु भएको थियो । शर्मा भन्नुहुन्छ –‘शिक्षक संगठन स्थापना हुनु भन्दा पहिला शैक्षिक समस्याका बिरुद्धमा आन्दोलन थियो, त्यही आन्दोलनमा म गिरफ्तार भएको थिएँ ।’ १२ पटक भन्दा बढी हिरासतमा पर्नु भएका शर्मा पाँच पटक जेल चलान हुनु भएको थियो । २०३४ असार ४ गते राजाको विरुद्धमा बेलुका ७ बजे देशैभर पर्चा छर्ने कार्यक्रममा म्याग्दीको बेनीमा गिरफ्तार हुनु भएको थियो । शिक्षण पेशाको शिलशिलामा नेपालगञ्जमा रहेको बेला जनमत संग्हमा बहुदल या निर्दलको भन्ने विषयमा आफैंले निर्देशन एवम् अभिनय गरेको नाटकलाई तयार गर्नु भयो सोही आधार बनाएर पुनः गिरफ्तारी भएको थियो । प्रहरी प्रशासनले २०३९ सालमा म्याग्दीको बेनीमा गिरफ्तार गरी १६ वटा अड्डा सार गर्दै नेपालगञ्ज जेलमा पु¥याएको शर्माको अनुभव छ । पञ्चायत कालमा प्रहरी प्रशासनले शर्मालाई पक्राउ पूर्जी विना नै गिरफ्तार गरी विभिन्न प्रकारका यातना दिएको थियो । पञ्चायतका विरुद्धमा आवाज बुलन्द गरेको आरोपमा उल्टो झुण्डाएर पैतालामा पिट्ने, आफैंलाई खाडल खन्न लगाएर घाँटीसम्म पुरिदिने, नङमा पिन ठोकिदिने लगायतका यातनाले आफ्नो विचार झन् बलियो र दृढ बन्दै गएको बताउनुहुन्छ ।
२०२५ सालमा प्रकाश माध्यमिक विद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (फेडेरेसन)को अध्यक्ष रहेका शर्मा म्याग्दीमा जन्म अनि अध्ययन भएको भए पनि उहाँले बाँकेमा रहेर अध्यापन तथा अन्य सामाजिक कार्य पनि गर्नुभएको थियो । २०३६ सालमा बाँकेको खजुराको प्रभात क्लबका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तीन वर्ष क्लब अध्यक्ष रहेका शर्माले बाँकेकै घोडा एक्का मजदुर संगठनको सचिव (२०३७–२०३९) को जिम्मेवारी निर्वह गर्नुभएकाे थियो । तत्कालीन पातलो मसालका सेक्रेटरी बन्नुभएको थियो उहाँ बाँकेमा । तर पनि पार्टीको तर्फबाट कहिल्यै लाभको पदमा पुग्न भने सक्नु भएन । मसाल, जनमोर्चा, नेकपा एकिकृत, मोहन बैद्य नेतृत्वको नेकपा माओवादी अनि त्यस पछि नेत्रबिक्रम चन्दप्रति सहानुभुति राख्ने शर्मा अहिले भने साहित्यमै केन्द्रित हुनुहुन्छ । कम्युनिष्ट विचारधाराका शर्मा नेपाल कम्युनिष्ट पार्टी म्याग्दी र नेपाल शिक्षक संगठन म्याग्दीकोको संस्थापक सदस्य समेत हुनुहुन्छ । शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत हुनुभएको थियो । शिक्षण पेसामा संलग्न रहेका शर्मालाई कम्युनिष्ट विचारधारा अवलम्बन गरेकै कारण तत्कालीन सरकारले पटक पटक सरुवा गरेको थियो । शर्मा अध्ययन, खेलकुद, राजनीति र कलासाहित्य सबै क्षेत्रमा अब्बल हुनुहुन्थ्यो । अध्ययनकालमा शर्मा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडीको रुपमा सम्मानित हुनुभएको थियो । शर्मा नेपाल रेडक्रस सोसाइटीसँग पनि आबद्ध हुनुहुन्थ्यो । उहाँले अध्यापनको समयमा प्रकाश माध्यमिक विद्यालयमा लामो समयसम्म रेडक्रस शिक्षक नायकको रुपमा कार्य गर्नुभयो भने साहित्य विभागको संयोजक समेत हुनुहुन्थ्यो । उहाँ रेडक्रसको जिल्ला शाखाको जुनियर÷युवा सर्कल संयोजकका, उपमन्त्री लगायत विभिन्न पदमा रही कार्य गर्नुभएको थियो ।
म्याग्दीमा नाटक मञ्चन गर्दा बालकृष्ण पौडेल र ध्रुवलालको जोडीले नाटक देखाउने गर्थे । उनीहरुको जोडीलाई तत्कालीन समयमा ‘धु्रवा’ जोडी भनेर चिन्थे । उहाँको टिम म्याग्दीमा मात्र नभएर कमिक प्रदर्शनकै लागि बागलुङ, पर्वत लगायतका ठाउँमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ । तत्काली अवस्थामा ध्रुवलाल जब कुनै कार्यक्रममा मञ्चमा पुग्नुहुन्थ्यो हाँसोको फोहोरा छुट्ने गरेको अग्रजको भनाइ छ । ध्रुवलालले परिकल्पना गरी तयार गरेका विभिन्न नाटकहरुमा याम श्रेष्ठ, सुवास श्रेष्ठ, मनोहर श्रेष्ठ, प्रदिप श्रेष्ठ, प्रेमबहादुर हमालहरुले मञ्चन गर्नु भएको थियो । तत्कालिन अवस्थामा प्रहरी प्रशासन अनि अदालतलाई पनि ब्यङ्ग्यको शिकार बनाएका शर्मालाई २०४२ सालमा अदालतको मानहानीको मुद्दा लागेको थियो । “तत्कालीन अवस्थामा पुरुषहरुले महिलालाई गरेको शोषणलाई चित्रित गर्दै महिलालाई मात्र बोलाउने प्रसंगमा अदालतले पनि छोरी नै बोलायो भन्ने प्रसंगमा ब्यङ्ग्य गर्दा मुद्दा लागेको थियो” शर्मा सम्झनु हुन्छ । कम्युनिष्ट विचार बोकेकै कारण तत्कालीन माओवादी द्वन्द्वको समयमा शर्मालाई शाही नेपाली सेनाले समेत पटक पटक शारीरिक तथा मानसिक यातना दिएको थियो, जुन घटनाहरु जेल जीवन यात्रा पुस्तकमा शर्माले उल्लेख गर्नुभएको छ ।
नेपाली सेनाको अर्थुङ्गेमा रहेको ब्यारेकको पोष्टमा सिपाही ड्युटीमा रहेको समय सिपाहीको बन्दुकको गोली छुट्यो र एक बालिकाको मृत्यु भयो । उक्त समय स्थानीयहरु आन्दोलित भएर सेनाले प्रयोग गर्ने पानीको पाइप काटिदिए । उक्त घटनाको समाचार नागरिकको पक्षमा नआएको भन्दै शर्माले पत्रकारकै खेदो खन्नुभएको थियो ।
उहाँले राजा, पञ्चायतको मात्र होइन पत्रकारको पनि धज्जी उडाउनु भयो तर पनि उहाँ कहिल्यै पनि कुनै त्यस्तो लाभको पदमा पुग्नु भएन । शर्माका आमाको सम्झना कविता सङ्ग्रह, यौटा कथाको कथा (कथा सङ्ग्रह), खोरभित्रको स्वर (गितीकाब्य), तस्बीरहरु (कविता सङ्ग्रह) प्रतिच्छाया कविता सङ्ग्रह, कोख र काख (खण्डकाब्य), जीवन र जेल (यात्रा संस्मरण), खोरभित्रको स्वर (गीतिकाव्य भाग–२), दृष्टि (मुक्तक सङ्ग्रह), आक्रान्त आवाज (आलेख), यात्राका अनुभूति (नियात्रा), रक्त रेखा (कविता सङ्ग्रह), चिताको काखमा (कविता सङ्ग्रह) र बह (गिती सङ्ग्रह) गरी १४ कृति प्रकाशन भएका छन् ।
पत्रकारले लेखेको चित्त नबुझेपछि शर्माले लेखेको कविता
“...सैतानी सेवाको निम्ति
दलीय माउहरु लगलगी काँप्न सक्छन्
पत्रकारी च्याउहरु उल्टो छाप्न सक्छन्
दाम र मामको च्याँखे थाप्न
तिम्रो नाम र गाम ढाँट्न सक्छन्
रगतको आहालमा तड्पिरहेको
क्षतविक्षत तिम्रो तन काट्न सक्छन्
पित पत्रकारिताको निकृष्ट नमुना दिएर
यसरी नै जल्लादको जुठोपुरो चाट्न सक्छन् ।…”
Gorkhapatra