आत्मबलले निको भइन्छ

0

०३ कार्तिक/ताप्लेजुङ : 

मैले नयाँ जुनी पाएँ नानी अब हतपती मर्दिनँ’, कोरोनामुक्त भएपछि ८१ वर्षीय लालबहादुर राईले खुसी साट्दै भने। अस्पतालबाट डिस्चार्ज भएर अन्नपूर्णसँग कुराकानी गर्दै उनले दोस्रो जुनी पाएझैं लागेको बताए।

उनले भने, ‘म मर्छु जस्तो लागेको थियो, एक्कासि डाक्टर आएर तपाईंले कोरोना जित्नुभयो भन्दा सुरुमा विश्वासै लागेन’, राईले भने, ‘आत्मबल बलियो बनाए कोरोना सजिलै जित्न सकिने रहेछ।’ विराटनगरको नोबेल

अस्पतालमा दमको उपचार गरेर फर्किएर उनलाई असोज ७ गते कोरोना पुष्टि भएको थियो। त्यतिबेला उनी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ स्थित घरमा थिए।

जिल्ला प्रशासन कार्यालयले संक्रमण पुष्टि भएको खबर उनका छोरालाई गरेपछि गाउँ र छरछिमेकीमाझ खैलाबैला मच्चिएको थियो। त्यस्तो खबर पाएपछि राई निकै तनाबमा भए। बाँच्न सकिँदैन, बाँचेर अर्थ छैन भनेर उनले चार पटक आत्महत्याको प्रयास गरे। भन्छन्, ‘बजारमा लगेर थुन्छ, कसैलाई छुन दिँदैन, म बाँचेर अर्थ छैन भन्ने लाग्यो, अनि नजिकै रहेको तमोर नदीमा हाम फाल्न गएँ, छोराहरूले फर्काए।’

प्रशासनले संक्रमण पुष्टि भएको खबर गरेपछि उनलाई भोलिपल्ट जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरियो। दमका रोगी उनलाई कोरोनाको कुनै लक्षण थिएन। सँगै रहेका अर्का संक्रमित युवालाई भने ज्वरो, स्वाद थाहा नपाउने, खोकीजस्ता लक्षण थियो। ‘एक जना डाक्टरले जतिबेलै छोड्नु भएन, छिट्टै बिरामले छोड्छ, नडराउनुस् भन्नुभयो, म पनि डराइनँ, डाक्टरले दिएको औषधि नछुटाई खाएँ, प्रसन्न मुद्रामा राईले भने, ‘कोरोना केही होइन रहेछ।’ कोरोनाका बारे आफूले विगतमा सुनेका कुरा सबै गलत रहेको उनको अनुभव छ। ‘यसको उपचार छैन, रोगले भेट्यो भने बूढाबूढी त बाँच्दैन भन्ने सुनेको थिएँ, तर त्यस्तो होइन रहेछ’, राइले भने। समाजले कोरोना संक्रमितलाई हेर्ने नजर बदल्नुपर्ने उनको धारणा छ।

भन्छन्, ‘गाउँमा मलाई नै छिछि दूरदूर गरियो, त्यही भएर आत्महत्या गर्नेसम्म अवस्थामा पुगेको थिएँ, तर कोरोना लागेकालाई मायाले हेर्नुपर्ने रहेछ, हौसला दिनुपर्ने रहेछ।’ आइसोलेनसमा भर्ना भएको ११ दिनमा रिपोर्ट नेगेटिभ भाएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. सोनिङ लामाले बताए।

लामाका अनुसार राईलाई एन्टिबायटिक, मल्टिभिटामिन, रोग प्रतिरोधात्मक क्षमता बढाउने र आयुर्वेदिक औषधि दिइएको थियो। ‘कोरोना जिते पनि उहाँलाई दमको समस्या छँदैछ,’ लामाले भने, ‘उच्च मनोबलका साथ अस्पतालबाट जानुभयो।’ वृद्ध अवस्थाका संक्रमित

निको भएर गएपछि आफूहरूमा थप हौसला मिलेको उनले बताए। वृद्धसँगै उपचार गराएका ताप्लेजुङको एक बैंकका कर्मचारी पनि कोरोनामुक्त भएका छन्। ..Annapurna  post

You might also like