ड्र्यागन म्यानलाई किन हाम्रो नजिकको पूर्वज अनुमान गरिँदैछ?

0
चीनको हार्विन सहरका एक मजदुरले ८८ वर्षअघि पुल बनाउँदै गर्दा भेटेको एउटा खप्परले यतिखेर जीवविज्ञान क्षेत्रमा तहल्का ल्याएको छ। ती श्रमिकले परिवारलाई समेत थाहा नदिएर जतनसाथ लुकाइ राखेको यो खप्परले मान्छेको इतिहासको कथा बोकेको अनुमान वैज्ञानिकहरूले लगाएका छन्।

यो खप्पर जुन समयमा भेटिएको थियो, त्यो बेला हार्विन सहर जापानको कब्जामा थियो। ती मजदुरले त्यो खप्पर जापानी अधिकारीलाई दिनुपर्ला भनेर कसैलाई नभनी लुकाएका रहेछन्।

ती मजदुरले सन् २०१८ मा आफ्नो मृत्यु हुनुअघि परिवारका सदस्यलाई यो खप्परबारे बताएका थिए। उनका परिवारले त्यो खप्पर होविए विश्वविद्यालयको भू-विज्ञान संग्रहालयमा दान दिए। त्यसपछि बल्ल यो खप्परको अध्ययन सुरू भएको हो।

वैज्ञानिकहरूले यसलाई हार्विन क्रेनियम (खप्पर) भनेका छन्। त्यो खप्पर जसको थियो, त्यो प्रजातिको नाम भने होमो लंगी राखेका छन्। होमो भनेको मान्छे भइहाल्यो, लंगी भनेको ड्र्यागन। त्यसैले बोलिचालीको भाषामा यसको नाम ड्र्यागन म्यान राखिएको छ।

वैज्ञानिकहरूले झन्डै तीन वर्ष लामो अध्ययनपछि यो खप्पर हाम्रा पूर्वज प्रजातिमध्ये सबभन्दा नजिकको भएको अनुमान गरेका छन्। खप्पर र ती श्रमिकको भेटको कथा ८० वर्षअघि, सन् १९३३ को भए पनि मान्छेको उत्पत्तिको कथा झन्डै २५ लाख वर्षअघि सुरू भएको वैज्ञानिक अनुसन्धानको निष्कर्ष छ।

यस्तो निष्कर्ष उनीहरूले यही खप्परजस्तै अवशेषहरूको अध्ययनबाट पत्ता लगाएका हुन्।

हार्विन सहरमा भेटिएको यो खप्परको कुरा गर्नुअघि मैले विभिन्न जर्नल र किताबमा पढेर थाहा पाएका उत्पत्तिका कथा छोटकरीमा उल्लेख गरेको छु। अवशेषहरू (जीवाश्म) अध्ययन अनुसार सम्भवतः पहिलो मानव प्रजातिमा पर्नेहरू होमो ह्याबिलिस, होमो रूडोल्फेन्सिस अनि होमो इरेक्टस हुन्।

हामी आधुनिक मानिसहरूको पहिलो पूर्वज भने होमो इरेक्टसलाई भनिन्छ। यसको उत्पत्ति २५ लाख वर्षअघि भएको मानिन्छ।

मान्छेको उत्पत्ति र विकासबारे बुझ्न सजिलो होला भन्ने लागेर मानव जातिको सबभन्दा नजिकका पूर्वज वा नातेदार दुई प्रजातिबारे यहाँ चर्चा गरेको छु। ती हुन् होमो इरेक्टस र होमो नियन्डरथल।

होमो मान्छेको वैज्ञानिक नाम होमोजिनसको पहिलो पाटो हो। आधुनिक मानिसलाई सेपियन्स प्रजाति भनिन्छ। हामी मान्छेको वैज्ञानिक नाम होमो सेपियन्स भयो। होमो भनेको मान्छे र सेपियन्स भनेको बुद्धिमानी हो।

हामीसँग मिल्दोजुल्दो देखिने मानव प्रजातिको सबभन्दा पुरानो पूर्वजलाई चाँहि किन होमो इरेक्टस भनियो होला है?

इरेक्टस भनेको उभिने हो। उभिने मान्छे भएकाले उसलाई होमो इरेक्टस भनेर वैज्ञानिकले नामकरण गरेका हुन्। होमो इरेक्टस किन हाम्रो सबभन्दा पुरानो पूर्वज मानिएको होला त भन्ने प्रश्न पनि तपाईंको मनमा आयो होला।

उत्तर सजिलो छ, सबै मानव प्रजाति अहिलेका हामी मान्छेजस्ता थिएनन्। होमो इरेक्टस भने हामी आधुनिक मान्छेको जस्तै शारीरिक अवस्था र बनावट भएको हो। त्यसैले यसलाई हाम्रो सबभन्दा पुरानो पूर्वज मानिएको हो।

यो प्रजातिका लामा खुट्टा थिए। उनीहरू लामो दुरीसम्म हिँड्न तथा दौडिन सक्थे भन्ने वैज्ञानिक अनुमान छ। अनि यो प्रजातिका सानो चिउँडो, गाला र दाँत हुन्थे। दिमाग त ६०० देखि १२०० क्युबिक सेन्टिमिटर थियो भन्ने अध्ययनले देखाउँछ। अहिलेका मान्छेको दिमाग औसतमा १४०० क्युबिक सेन्टिमिटर हुन्छ।

होमो इरेक्टसको अवशेष पूर्वी अफ्रिका र पश्चिमी एसियामा भेटिएको थियो। अध्ययन गर्दा ती कम्तीमा पनि बीस लाख वर्ष पुराना भएको पाइयो।

वैज्ञानिकहरूले विभिन्न ठाउँमा भेटिएका अवशेष र पुरातात्विक वस्तुहरूको अध्यनबाट होमो इरेक्टसको उत्पत्ति अफ्रिकामा भएको पत्ता लगाए। त्यसपछि मान्छे त्यहाँबाट अरू ठाउँमा बसाइ सर्दै गएको आकलन छ।

वैज्ञानिकहरूका अनुसार करिब १९ लाख वर्षअघि होमो इरेक्टस लेभ्यान्टिन कोरिडोर र हर्न अफ अफ्रिका हुँदै बाहिर निस्केका थिए। पश्चिमी एसियामा भने १८ लाख वर्षअघिका अवशेष भेटिएका छन्। त्यहाँबाट होमो इरेक्टस पूर्वी एसियामा समेत आए र फैलिए भन्ने छ।

दक्षिणपूर्वी एसियामा करिब १६ लाख वर्षअघि आइपुगेर २५ हजार वर्षअघिसम्म यिनीहरू सक्रिय थिए। अवशेषको अध्ययनले होमो इरेक्टस यो संसारमा पच्चीस/तीस हजार वर्षअघिसम्म थिए भन्ने देखाउँछ।

यिनीहरू असुलियन औजार बनाउने पहिलो मानव प्रजाति हुन्। असुलियन औजार भनेको ढुंगाको हाते बन्चरो हो। अहिलेको फ्रान्सको असुलियन भन्ने ठाउँमा उनीहरूले यो औजार प्रयोग गर्ने पाइएको थियो। त्यसैले यसको नाम असुलियन राखिएको हो।

त्योभन्दा अगाडि अरू केही प्रजातिले पनि सामान्य खालका ढुंगाको भालाहरू बनाएको खोज-अनुसन्धानबाट पत्ता लागेको थियो। होमो इरेक्टसले आगो पनि उपयोग गरेको हुन सक्ने वैज्ञानिकको अनुमान छ।

इरेक्टसबाट हामी (सेपियन्स) सम्म आइपुग्दा मान्छेको विकास कस्तो तरिकाले कहाँ भयो त भन्नेबारे दुइटा सिद्धान्त छन्। ती हुन्, आउट अफ अफ्रिका मोडल र मल्टी रिजनल मोडल।

आउट अफ अफ्रिका सिद्धान्तले होमो सेपियन्स अफ्रिकामै विकास भयो र दुनियाँभरि हिँडेको भन्छ।

मल्टी-रिजनल मोडलले भने आधुनिक मान्छेको विकास विश्वका विभिन्न ठाउँमा भएको भन्छ।

तर जिनोमिक (जिन सम्बन्धी) अध्ययनले भने आउट अफ अफ्रिका मोडल नै सही भएको देखाउँछ।

अनुसन्धानकर्ता आमोस र हफमानको अध्ययनले त पृथ्वीमा पाइने अहिलेका मानव जातिको खप्पर र आनुवांशिक विविधता अफ्रिकाबाट जति टाढा गयो, त्यति कम हुँदै गएको भनेर व्याख्या गरेको छ। आनुवांशिक विविधता भन्नाले कुनै पनि प्राणी, वनस्पति वा जीवहरूमा भएका जिनहरूको विविधतालाई बुझिन्छ।

साधारण उदाहरणका लागि, कुकुरको विविधता हेर्न सकिन्छ। हामीसँग अहिले विभिन्न जातका कुकुर छन्। कुनैको बनावट फरक, कसैको उचाइ, भुक्ने तरिका, रङ, आनीबानी लगायत।

यस्तो विविधता जिन पुल ठूलो भएको ठाउँमा धेरै हुने गर्छ। जिन पुल भन्नाले प्रजनन गर्ने जनसंख्या बीचमा भएको जिनको मात्रालाई बुझिन्छ। मानव जाति जति अफ्रिकाबाट सानो-सानो समूहमा फैलिँदै गए र विभिन्न ठाउँमा बस्न थाले, त्यो ठाउँमा आनुवांशिक विविधता कम हुँदै गयो। यो कुराले पनि आधुनिक मानव अफ्रिकामै उत्पत्ति भएर अरू ठाउँ गएको कुरा सही सावित गर्न टेवा पुर्‍याउँछ।

त्यसरी नै करिब चार लाख तीस हजार वर्षअघि अर्को एउटा प्रागऐतिहासिक मानवको उत्पत्ति भएको थियो। त्यो होमो नियन्डरथल हो।

होमो नियन्डरथलको कंकाल भेटिएको सन् १८५६ मा हो। जर्मनीको डसल्ड्रफ सहरस्थित नियन्डर उपत्यकामा भेटिएको हुनाले यसलाई नियन्डरथल भनियो। अहिलेसम्म त्यहाँ चार सयभन्दा बढी नियन्डरथलको कंकाल भेटिएको छ।

वैज्ञानिकहरूले अहिलेसम्म यसलाई हाम्रो सबभन्दा नजिकको पूर्वज मान्दै आएका छन्।

अवशेष र आनुवांशिक अध्ययनले नियन्डरथल र आधुनिक मानवको विकास एउटै पूर्वजबाट करिब सात लाखदेखि तीन लाख वर्षअगाडि भएको भन्ने देखाउँछ। वैज्ञानिकका अनुसार नियन्डरथलहरू शिकार गर्थे। शिकार गर्नकै लागि ढुंगाबाट विशेषखाले औजार बनाउँथे। यिनीहरूको दिमागको आकार पनि १२०० क्युबिक सेन्टिमिटर लामो थियो। होमो इरेक्टसले जस्तै यिनीहरूले पनि दैनिक आगो प्रयोग गर्थे भन्ने आकलन छ।

रोचक कुरा, आधुनिक मानव र नियन्डरथल बीच सम्भोग पनि भएको हुन सक्ने अध्ययनले देखाउँछ। अहिले पनि धेरैजसो अफ्रिका बाहिर बस्ने कतिपय मानवमा दुई प्रतिशत जति नियन्डरथलको डिएनए भेटिएको छ।

होमो नियन्डरथल सम्भवतः ३५ हजारदेखि पचास वर्षअघि नै यो संसारबाट लोप भएको अध्ययनले देखाएको छ। यसरी लोप भएको नियन्डरथल ठूलो मस्तिष्क भएको, शिकार खेल्ने र आगो बाल्ने जस्ता विशेषता मिल्दाजुल्दा भएकाले हाम्रो नजिकको पूर्वज वा प्रजाति मानिएको थियो।

तर चीनको हार्विन सहरमा भेटिएको खप्परले यो विश्वासमा बदलाव ल्याउने अनुमान वैज्ञानिकहरूले गरेका छन्। यो खप्पर पचास वर्षीय पुरूषको हुन सक्ने अनुमान छ। विभिन्न शिल्पविज्ञान प्रयोगले त्यो ड्र्यागन म्यानको खप्पर करिब एक लाख ४६ हजार पर्ष पुरानो भएको देखाएको छ।

अरू मानव जातिको ९५ वटा खप्परसँग तुलना गरेपछि चिनियाँ वैज्ञानिकहरू यो हाम्रो सबभन्दा नजिकैको नातेदार भएको निष्कर्षमा पुगेको सेल जर्नलमा प्रकाशित शोधपत्रमा उल्लेख छ।

ड्र्यागन म्यानको खप्परको ६०० भन्दा बढी टुक्रा नापेर त्यसलाई ९५ वटा अरू मानव जातिको खप्परसँग तुलना गरिएको थियो। त्यसपछि यो खप्पर अहिलेको आधुनिक मानव वा हामीसँगै मिल्दोजुल्दो थियो भन्नेमा वैज्ञानिकहरू पुगेका हुन्।

यसको आकार ठूलो र च्याप्टो छ, लगभग ९ इन्च लामो र छ इन्च चौडा। त्यसैले यसको मस्तिष्कको आकार पनि हाम्रैसँग मिल्दो जुल्दो थियो भन्ने अनुमान वैज्ञानिकहरूको हो। तर यो खप्परका केही भाग भने अरू प्राचीन मानवसँग पनि मिल्न जाने उक्त शोधपत्रमा उल्लेख छ।

उसका आँखाका अर्बिट भने हाम्रो जस्तो गोलो नभएर वर्गाकार देखिन्छन्। चिउँडो पनि सानो छ, लगभग छैन भन्दा पनि हुन्छ। अहिले प्रारम्भिक अध्ययनका क्रममा भेटिएका तथ्यका आधारमा मान्छेको नजिकको प्रजाति यही हो भन्ने दाबी गरिएको हो। यसबारे विस्तृत अध्ययन भइरहेको छ।

यो खप्परबारे अनुसन्धान गरेका चिनियाँ वैज्ञानिकको दावीलाई कतिपय वैज्ञानिकले विश्वास गरेका छैनन्। जस्तै, न्यूयोर्क विश्वविद्यालयका पेलियोयान्थ्रोपोलोजिस्ट श्यारा बेलीले यो ड्र्यागन म्यान मान्छेको डेनिसोभन्स प्रजातिको हुन सक्ने बताएकी छन्। अरूले भने अझै अध्ययन नगरी यसबारे केही भन्न नसक्ने बताएका छन्।

यो खप्पर कति वर्ष पुरानो हो र यो कुन उमेरको मानिसको खप्पर हो भनेर वैज्ञानिकहरूले कसरी पत्ता लगाए होलान् भन्नेबारे पनि सकेसम्म बुझाउने कोसिस गर्छु।

धेरै जसो अवशेषहरू कहिलेका हुन् भनेर पत्ता लगाउन कार्बन डेटिङ गरिन्छ। हाम्रो वायुमण्डलमा भएको कार्बन-१४ को क्षय अवलोकन गरेर कुनै पनि कुरा कति पुरानो हो अनुमान लगाउन सकिन्छ।

सेल जर्नलमा छापिएको उक्त अनुसन्धानात्मक लेखअनुसार, यो अध्ययनमा ड्र्यागन म्यानको खप्परमा एक्सआरएफ एनालाइसिस गरिएको थियो। एक्सआरएफ वा एक्स-रे फ्लोरोसेन्स नन डिस्ट्रक्टिभ विश्लेषणको एउटा प्रविधि हो जसले तत्वहरूभित्र भएको संरचना पत्ता लगाउन सहयोग गर्छ।

यो विश्लेषणबाट खप्परमा क्याल्सियम, फोस्फोरस, आइरन र म्याग्नेसियम भएको पत्ता लाग्यो।

ड्र्यागन म्यानमा पाइने तत्वबारे जान्न २६ लाख वर्षअघिदेखि झन्डै १२ हजार वर्षअघिसम्मको युग (प्लेइस्टोसिन युग) मा पाइने स्तनधारी जनावरहरूको हड्डीमा पाइने तत्वको तुलना गरिएको थियो। यसलाई कर्ट्रोल भनिन्छ। ड्र्यागन म्यानको हड्डीसँग तुलना गर्न उल्लेखित समयमा पाइएको गैंडाको हड्डी प्रयोग गरिएको थियो। दुवैमा उस्तै-उस्तै तत्त्व पाइएको उक्त शोधपत्रमा उल्लेख छ।

ड्र्यागन म्यानको खप्पर र हार्विन क्षेत्रमै पाइने अरू स्तनधारीको हड्डीमा पनि समान मात्रामा स्ट्रोनियम, यिट्टियम र जिर्कोनियम जस्ता तत्व पाइएका थिए।

त्यसरी नै आरइइ अर्थात रेयर अर्थ एलिमेन्ट विधिको प्रयोगबाट ड्र्यागन म्यानको नाकको हड्डीलाई सोही समयमा पाइएको अरू सात प्रजातिका स्तनधारी र दुई प्रजातिका मानवसँग तुलना गरिएको थियो। ती विश्लेषणले पनि ड्र्यागन म्यानलाई मध्य प्लेइस्टोसिन युगतिरै भएको पाइएको थियो।

त्यसरी नै यो अध्ययनमा कार्बन डेटिङको सट्टामा युरेनियमा सिरिज डेटिङ (जुन कार्बन डेटिङ जस्तै युरेनियम-थोरियम डेटिङ हो), स्ट्रोनियम इसोट्रपिक कम्पोजिसन र लिथोस्ट्राटिग्राफिक कोरिलेसन विधि पनि प्रयोग गरिएको रहेछ।

यो सबै अध्ययनले त्यो हार्विन क्रेनियम वा ड्र्यागन म्यान कम्तीमा १ लाख ४८ वर्षअघिको भएको पत्ता लागेको छ।

लेखक अनुज घिमिरे

(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)…satopati

You might also like