बलात्कृत हुनु भनेको इज्जतमा दाग लाग्नु हो र?

0

ममता अर्याल।

दुर्भाग्यवश ‘बलात्कार’ र ‘यौन हिंसा’ जस्ता शब्दहरु हामी बीच धेरै पहिल्यैदेखि परिचित छ। अझ पछिल्लो समयमा महिला र बालिकामाथि हुने यौन हिंसाको क्रम कहाली लाग्दो तरिकाले बढेको छ।

यसै बीच जिम्मेवार व्यक्तिहरुबाटै बलात्कार बारे असंवेदनशील र गैरजिम्मेवारपूर्ण टिप्पणीहरु पनि बाहिर आइरहेका छन्। ती भनाइ र त्यस्ले पैदा गर्ने गम्भीर परिणामहरु बारे कुनै अर्को लेखमा चर्चा गरौँला, तर त्यस्ता टिप्पणीको विरुद्ध हामीले कस्तो प्रतिकृया दिइरहेका छौं त?

हरेक दिन हातका औँलामा गन्न नभ्याउनेगरी महिलामाथि भएका हिंसाका खबर बाहिर आइरहँदा सामाजिक संजालबीच यसको खुलेरै विरोध भइरहेको देखिन्छ। बलात्कार जस्ता हिंसाको विरोध महत्वपूर्ण मात्र हैन, जटिल पनि छ। हामीले गरिरहेको विरोधको प्रवृत्ति कस्तो छ त? यसै बीच अल्झिएर साझा टिप्पणी र धारणाहरु केलाउने प्रयास गरेकी छु।

इज्जतमा दाग

केही दिन अघि ‘देशमा भइरहेका बलात्कारको संख्या चिन्ताजनक छैन’ भन्ने गृहमन्त्रीको आपत्तिजनक भनाइ सँगै सो भनाइ र त्यो भनाइको मानसिकतामाथि भर्त्सना गरियो। त्यस बारे धेरै व्यक्तिको साधारण राय थियो- ‘तथ्यांकलाई महिलाको ‘अस्मिता’ सँग तुलना गरिनु हुँदैन।’

अझै हामी देशमा बालिकाहरुको बलात्कारको बढ्दो क्रमको आलोचना गर्दा अवोध नानीहरुको ‘इज्जत खोसिनु’ दुखद् भएको विचार व्यक्त गर्छौँ। समाचारका हेडलाइनदेखि, फेसबुकका भित्तामा टाँसिएका स्टाटसमा बलात्कारलाई ‘इज्जत लुटिनु’, ‘अस्मिता गुम्नु’ जस्ता वाक्यांश प्रयोग गरिन्छ। कोही स्त्री बलात्कृत हुनु भनेको उस्को ‘इज्जत’ वा ‘अस्मिता’ मा दाग लाग्नु हो भन्ने मानसिकता कत्तिको सही छ त?

बलात्कारका घटना मध्ये करिब ९० प्रतिशत घटना विरुद्ध कुनै उजुरी दिइँदैन। यस पछाडि प्रतिशोधको डर, न्याय व्यवस्थामाथिको अविश्वास जस्ता थुप्रै कारणहरु छन् तर विशेषगरी हाम्रो समाजमा यस्ता घटना बाहिर नै नल्याइनुको पछाडिको मुख्य कारण भनेको बलात्कृत हुनुसँगै जोडिएर आउने सामाजिक लाञ्छना र कुरीतिहरु नै हो।

किनभने हाम्रो समाजले कुनै एक महिलाको चरित्र मात्रै हैन, उसको परिवारको इज्जत पनि उसको यौनिकताको अभिव्यक्तिले निर्धारण गर्दछ। बलात्कृत हुँदा आफ्नो सहित परिवारकै बदनामी हुने डर र त्यसबाट आफूले भोग्नु पर्ने सामाजिक बहिस्कारले बलात्कारबाट बाँचेकाहरुलाई कति मानसिक यातना दिन्छ भन्ने कुरा कल्पना गर्न त्यति मुस्किल छैन।

बलात्कारलाई अस्मितासँग जोड्ने कुरा गरिरहँदा, परिचित भारतीय महिलावादी कमला भासिनको अभिव्यक्ति सधैँ मेरो मस्तिस्कमा आउँछ- ‘म यदि बलात्कृत हुन्छु भने, मान्छेहरु भन्नेछन् की मेरो इज्जत गुम्यो। मेरो इज्जत कसरी गुम्यो? मेरो इज्जत मेरो योनीमा लगेर कस्ले राख्यो?’

विश्वमा परिवारको ‘इज्जत’ जोगाउने नाममा आफ्नै परिवार र आफन्तबाट वर्षेनी हजारौँ महिलाहरुको ‘अनर किलिङ’ को नाममा हत्या भैरहेको छ। यसमा बिहेपूर्व सम्बन्ध राख्नु, बिहेपछि पर-पुरुषसँ सम्बन्ध राख्नु र बलात्कृत हुनु केही कारणहरु हुन्।

हामीले इज्जत लुटिएकी, अस्मिता गुमाएकी नारी भनेर बलात्कार जस्तो जघन्य अपराध भोगेकाहरुलाई उल्लेख गरिरहँदा हिंसा गर्नेलाई महशुस गराउनु पर्ने अपमान हामीले हिंसा भएकाहरुलाई गराइरहेका छैनौँ? हामीले त बलात्कार गर्नेलाई भन्दा बढी अपमान र अपहेलना बलात्कृत हुनेलाई गरेका छौँ।

लेखिका सोहेला अब्दुलालीद्वारा सन् २०१३ मा न्युयोर्क टाइम्सको ओप-एडमा लेखिएको ‘आइ वाज वुन्डेड, माइ अनर वाज नट’ लेखले थुप्रै पाठकीय रेकर्डहरु तोड्यो। उक्त लेखमा ३२ वर्ष अघि १७ वर्षको उमेरमा चार जना हतियारधारी पुरुषहरुद्वारा आफू बलात्कृत भएको र उक्त घटनापछिको अनुभव उनले सुनाएकी छिन्।

उनले लेखेकी छिन्- ‘बलात्कारको अनुभव अत्ति नै भयानक हुन्छ तर हाम्रो मस्तिष्कमा बसाइएको कारणले हैन। यो भयानक यसकारण छ किनकी कसैले तपाईको इच्छा विपरित तपाईको शरीरलाई नियन्त्रणमा राख्छ र चोट पुर्याउँदछ, यसकारण हैन की तपाईले आफ्नो अस्मिता गुमाउनु भएको छ वा तपाईको परिवारको इज्जत घटेको छ। म मेरो अस्मिता मेरो योनीमा छ भन्ने धारणालाई त्यसरी नै अस्वीकार गर्छु जसरी मैले पुरुषहरुको दिमाग उनीहरुको जननांगमा भएको कुरा अस्वीकार गर्छु।’

हरेक घटनासँगै बलात्कृत बालिका वा महिलाका नाम, तस्बिर र व्यक्तिगत विवरणहरु मार्फत संचार माध्यमले चर्चा बटुली रहँदा बलात्कारलाई जितेकाहरुको बलात्कारपछिको जीवनका कथाहरु किन सुनाइँदैन?

आफ्ना वरिपरि भएका महिला बलात्कारका हरेक घटनामा मैले आफैले धेरै पटक सुनेको एउटा वाक्य हो ‘त्यस्तो हुनुभन्दा बरु मरेको भए हुन्थ्यो!’ यो वाक्य अरु कुनै अप्रिय घटनाहरुमा सधैँ सुनिने ‘ज्यान बाँच्यो, त्यही ठूलो कुरा हो’ भन्ने वाक्यसँग टाढा-टाढासम्म मेल खाँदैन। किनभने पितृसत्ताले जन्माएको हाम्रो सोचले मृत्यु हुनुलाई बलात्कृतभन्दा ठिक देख्छ।

बलात्कृत हुँदाको शारीरिक र मानसिक पीडासँग तुलना गर्न मिल्ने संसारमा कुनै पीडा छैन। पीडकलाई कारबाही गरिनु पर्ने माग गरिरहँदा, त्यससँगै सर्भाइबरहरुको पीडा र आघातलाई कसरी कम गर्न सकिन्छ भन्ने तर्फ हामीले कत्तिको ध्यान दिएका छौँ त? कतै हामी बलात्कारले दिएको पीडामा अझै नुन चुक छर्किदैँ त छैनौँ?

बलात्कारीलाई फाँसी दे

‘बलात्कार’ भन्ने शब्द नौलो नलाग्न थाल्दा म भर्खरै किशोर अवस्थामा प्रवेश गर्दैथिएँ। अझैसम्म पनि बलात्कार सम्बन्धीका समाचार र कुराकानीहरुले त्यो उमेरमा मलाई धेरै मानसिक बोझ भएको थियो र त्यस्तो नहुनु पर्ने थियो भन्ने महशुस हुन्छ।

हिजोआज किशोरावस्थामा प्रवेश पनि नगरेका, बलात्कार के हो भन्ने पनि बुझ्ने उमेर नपुगेका नानीहरु त्यस्को शिकार भए भन्ने खबर देख्दा असह्य नै हुन्छ। यो सहन सायद धेरैलाई नै गाह्रो भएको हुनुपर्छ किनभने यस्ता घटना बाहिरिनुसँगै बलात्कारीलाई मृत्युदण्डको माग गर्दै ठूलो जमात उर्लिएको छ, सामाजिक संजालमा जताततै ‘ह्याङ द रेपिस्ट’ जस्ता ह्यास ट्यागहरु देख्न सकिन्छ।

आफूले फाँसी पाउने डरले वा अरु कोही बलात्कारीले फाँसी पाएको देखेर भविष्यमा यस्तो जघन्य अपराधको संख्यामा कमी आउला भनेर सोच्नु त्यति अस्वभाविक पनि होइन। तर मृत्युदण्डसँग बलात्कारको घटनामा कमी ल्याउने सामर्थ्य छ भनेर कुनै पनि अध्ययनले साबित गर्न सकेको छैन।

त्यसको विपरित यस्ले बलात्कार निवारणको गर्नु साटो बलात्कारपछि बलात्कारीको पहिचान गर्न नसक्ने अवस्था छोड्ने र बलात्कारपछि हत्या गर्ने क्रम बढ्न सक्ने चेतावनी थुप्रै मनोवैज्ञानिक र सामाजिक अध्ययनहरुले दिएका छन्।

दश मध्ये आठ बलात्कारहरु नातेदार र अन्य चिनेजानेका बाटै हुने अनुमान गरिन्छ, जसले गर्दा धेरै घटनाहरु बाहिर नआएरै हराउँछन्। बलात्कृतमाथि पूर्वाग्रह बोकेको समाजमा मृत्युदण्डको सजाय तोक्दा र त्यसमाथि कोही चिनेजानेकै बाट बलात्कृत हुँदा अझै बलात्कारका रिपोर्टहरु घट्न सक्ने अनुमान लगाउन गाह्रो छ र?

यदि मृत्युदण्डले सम्भावित बलत्कारीहरुमा साँच्चै नै डर पैदा गर्न सक्छ भन्ने कुरा साँचो हुन्थ्यो भने पनि मृत्युदण्डको वास्तविक कार्यान्वयन भेदभावपूर्ण भएको तथ्य विश्वभर भएका थुप्रै अनुसन्धानहरुले प्रष्ट पारेका छन्।

सन् १९८१ मा ‘हार्वर्ड ल रिभ्यु’ नामक जर्नलमा प्रकाशित जर्नल आर्टिकलले अमेरिकाको फ्लोरिडामा महिला हिंसाका अभियुक्त मध्ये श्वेत पुरुषका तुलनामा अश्वेत पुरुषलाई न्यायीक पक्षपात गरिएको बताएको थियो।

यसैगरी भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले उनको कार्यकालमा धेरैजसो केसहरुमा सामाजिक र आर्थिक पूर्वाग्रह र पक्षपात देखिएकोले अदालतले दिएको मृत्युदण्ड बारे आफूलाई निर्णय लिन धेरै कठिन भएको कुरा बताएका थिए। भारतमा मृत्युदण्ड अन्त्य गर्न समर्थन गरेका यी भनाइहरु उनले लेखेको ‘टर्निङ पोइन्ट्स: जर्नी थ्रु च्यालेन्जेज’ नामक किताबमा उल्लेख गरिएको छ।

नेपाल जस्तो देश जहाँ अपराधीहरु राजनैतिक शक्ति या आर्थिक पहुँचको माध्यमले खुल्लमखुल्ला रुपमै उन्मुक्ती पाइराखेका छन्, के त्यहाँ मृत्युदण्ड लागु नै भएपनि प्रभावकारी होला त? अझ डरलाग्दो कुरा, दोषीले पाउनु पर्ने सजाय कुनै निर्दोष व्यक्तिले आफ्नो ज्यान गुमाएर चुक्ता गर्नु पर्यो भने के होला?

अहिले देखिरहेको मृत्युदण्ड्को सजाय माग भनेको यो चिन्ताजनक अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा चिन्तनभन्दा पनि बढ्दो हिंसा सँगै उब्जिएको सामाजिक आक्रोशको परिणाम हो। र यो हिंसाको बढ्दो क्रममा सुधार ल्याउनु नै छ भने यस्ता सतही सोचबाट माथि उठेर गहन चिन्तन गर्न जरुरी छ।

गल्ती कस्को?

‘चक्लेट खाने आशमा १० वर्षे बालिका बलात्कृत’, ‘बसभित्र एक्लै चढ्दा किशोरीको बलात्कार’, ‘केटा साथीसँग होटलमा गएकी महिलाको सामूहिक बलात्कार।’ यी र यस्ता शीर्षक सुन्नु हाम्रो दिनचर्याको एउटा पाटो नै बनेको छ।

झट्ट हेर्दा कतिपयलाई यसमा केही समस्या छ जस्तो नलाग्न पनि सक्छ तर यस्ता शीर्षकले एक प्रणालीगत समस्या तर्फ इंकित गर्दछ जहाँ पीडकको मनस्थिति र चरित्रभन्दा बढी पीडितको व्यवहारको बढी छानविन गरिन्छ र उस्लाई दोषी देखाइन्छ। जस्तै की मानिलिउँ चक्लेटको लोभमा फस्नु, त्यो बालिकाको दोष थियो वा कुनै होटल रुममा केटासँग जानुको मतलब उस्को चरित्र ठिक थिएन र उ बलात्कृत हुनुमा बढी दोष उस्कै छ।

यौन दुर्व्यवहार र यौन हिंसाका समाचार बारे संचार माध्यमको कभरेजले यी घटनाक्रमको बारेमा जनताको ज्ञान, विश्वास, दृष्टिकोणमा प्रभाव पार्न सक्ने विश्व स्वास्थ्य संगठनको २०१० को एक अनुसन्धानले बताएको छ। धेरै पत्र पत्रिकाको लेखमा यस्ता मनोभाव अप्रत्यक्ष रुपमा संकेत गरेपनि व्यक्तिगत स्तरमा भने यस्ता अभिव्यक्ति झन् प्रत्यक्ष नै देखिन्छन्।

‘पहिले मिलेमतो थियो होला, कुरा नमिलेपछि बलात्कार भयो, असल ‘चरित्र’ भएकी भए एक्लै कोठामा किन जान्थी, छोटो लुगा लगाएर हिडँनु केटाहरुलाई उक्साउनु हो, आफ्नै लोग्नेले कसरी बलात्कार गर्न सक्छ?’ यी र यस्ता वाक्य हामीले सुनीरहेका, देखीरहेका, पढीरहेका र कतिपयले भनी नै राखेका हुन्छौँ।

छिमेकी राष्ट्र भारतमा सन् २०१२ मा ६ जना पुरुषको हिंस्रक सामूहिक बलात्कारबाट ‘निर्भया’ ले आफ्नो ज्यान गुमाइन्। ती मध्ये एक बलात्कारीले तीन वर्षपछि बीबीसी डकुमेन्ट्रीको लागि लिइएको अन्तर्वार्तामा एक असल केटी रातिको नौ बजे घुम्दै हिँड्न नहुने र त्यस्ताहरुलाई पाठ पढाउनु पुरुषहरुको हक भएको डरलाग्दो विचार व्यक्त गरे।

उनले थपे, ‘अब बलात्कारीलाई मृत्युदण्डको सजाय भयो भने हामीले जसरी केटीलाई ज्युँदै छोडिने छैन, मारेर मात्र छोडिने छ।’ जेलमा भएका धेरै जना बलात्कार अभियुक्तहरुको अन्तर्वार्ता लिएकी ‘लेस्ली उडविन’ ले उनीहरुमा पश्चातापको कुनै झल्को नदेखेको बताइन् र भनिन् ‘बलात्कारको डरलाग्दो विवरण सुन्दा मलाई उनीहरु गम्भीर मानसिक रोगी हुन् भन्ने लाग्थ्यो तर सत्य झनै भयावह थियो, उनीहरु कुनै रुपमा असाधारण थिएनन्।’

सुन्दा अचम्म लाग्न सक्छ, अझै झुटो नै लाग्न सक्ला तर यस्तो मानसिकताले हामी मध्ये धेरै ग्रसित छौँ। हामीले यो बुझेका छैनौँ की महिला विरुद्ध हुने हरेक हिंसा, हिंसा गर्ने व्यक्तिको पितृसत्तात्मक र स्त्रीद्वेषी सोच र उस्को घृणित र अपराधिक मानसिकताको उपज हो र त्यो हिंसाको महिलाको नैतिकता, चरित्र र व्यवहारसँग केही सम्बन्ध छैन।

हामीमा अझै पनि कन्सेन्ट अर्थात सहमतीको पर्याप्त बुझाइ छैन। कोही महिला आफ्नै सहमतीले नै कसैसँग एउटै कोठामा गए पनि वा बिहे नै गरे पनि सो व्यक्तिसँग उनको सहमती बिना उनलाई केही गर्ने अधिकार हुँदैन भन्ने हामीले बुझेका छैनौँ। हामी बलात्कारको विरोध गर्न नाबालिक, वृद्धाहरुको बलात्कार र त्यस्तै निर्मम हिंसाहरुको प्रतिक्षा गर्छौँ तर बलात्कारको संस्कृतिको विरोध गर्दैनौँ।

बलात्कार संस्कृति

बलात्कार संस्कृति अर्थात ‘रेप कल्चर’ भन्ने शब्द को प्रयोग १९७० को दशकमा सुरु भएको थियो। बलात्कार संस्कृति भन्नाले यस्तो सामाजिक वातावरणलाई जनाउँदछ जहाँ यौन हिंसालाई लैङ्गिक र यौनिक असमानता, सामाजिक दृष्टिकोण र संस्थागत प्रणालीहरुद्वारा सामान्यकृत गरिन्छ।

यस्ले सम्भावित बलात्कारीको व्यवहारमा सुधार गर्नुको साटो सम्भावित पीडितको व्यवहारमा परिवर्तन र ‘सुधार’ ल्याउन खोज्दछ, बलात्कारबाट जोगिनु महिलाहरुको व्यक्तिगत कर्तव्य ठहराउँछ। बलात्कार संस्कृति हाम्रो समाजमा स्थापित छ र सेक्सिस्ट जोक, पीडितमाथिको दोषारोपण, स्त्रीद्वेष, महिलाको बस्तुकरण, केटाहरुलाई ‘मर्द’ बन्न दिइने दबाब र अन्य लैंगिक भेदभावका रुपमा प्रकट हुन्छन्।

यी कुराहरुलाई उदाहरण मार्फत व्याख्या गरौँ:

बलात्कारका घटना दिनहुँ बाहिर आइरहँदा पछिल्लो दुई हप्तामा मेरो इनबक्समा करिब एक दर्जन म्यासेज र लिंकहरु आए, जसमध्ये अधिकांशको आशय ‘बलात्कारबाट आफूलाई कसरी जोगाउने, सेल्फ डिफेन्स टेक्निक, बलात्कारीहरुले कस्तो महिलालाई लक्षित गर्दछन्, चिनेका मान्छेबाट जसरी जोगिने’ लगायत थियो।

यही समयावधिमा मेरा चिनजानमा भएका कति पुरुषहरुलाई ‘कसरी यौन दुर्व्यवहार नगर्ने’ भन्ने आशयका यस्तै लिंकहरु पठाइयो होला त? कतिपयलाई लाग्छ ‘बलात्कार बलात्कारीले गर्ने हो, पुरुषले हैन’ र बलात्कारलाई लिंगसँग नभइ अपराधीसँग जोडिनु पर्छ। यस्को एउटा ज्वलन्त उदाहरण ट्वीटरको ‘नट अल मेन’ भन्ने ह्यास ट्याग हो, जुन बारम्बार प्रयोग र ट्रेन्डिङमा आइरहन्छ।

यस ह्यास ट्यागलाई ‘बट अल वुमेन’ भन्दै लेखिका सोराया चेमलीले ट्वीट गरेकी थिइन्- ‘सबै पुरुषले महिलामाथि हिंसा गर्दैनन् तर संसारभरिका हरेक महिला पुरुषबाट हुने हिंसाकै डरसँगै बाँचिरहन्छन्।’

मेरा वरिपरि मलाई माया गर्ने मेरा बुवा, दाजु लगायत केही पुरुषहरु छन्, जोसँग म सबैभन्दा बढी सुरक्षित महशुस गर्छु। के उनीहरु बसमा यात्रा गर्दा, अँध्यारोमा बाटोमा हिँड्दा, अरु अपरिचित महिलाहरुले पनि उनीहरु नजिक उत्तिकै सुरक्षित महशुस गर्लान् त?

म सार्वजनिक यातायातमा यात्रा गर्दा केही बहानाले ठोकिन आउने, चिनेजानेकै मध्येका बेलामौका छोपी नजानिदोँ गरी छुन खोज्नेहरुका दिदी-बहिनी, छोरीहरु पनि उनीहरुसँग सुरक्षित महशुस गर्लान् कि नगर्लान्? के हाम्रो समाजका हरेक महिला बिहानदेखि रातिसम्म, जन्मेदेखि मरुन्जेलसम्म उसमाथि हुन सक्ने हिंसाले डराइ डराइ बाँच्नु पर्दा प्रत्येक पुरुषलाई सम्भाव्य हिंस्रकको रुपमा हेरिनु गलत हो त?

कोही नचिनेकोसँग नबोल्नु, केटाहरुसँग बोल्दा धेरै नहाँस्नु, बिहे भएपछि आफ्नो श्रीमानले भनेको मान्नु, राति अबेरसम्म नहिँड्नु, सर वा हाकिमले भेट्न बोलाए एक्लै नजानु, ढोका बन्द गर्न नदिनु, छोटा लुगा नलगाउनु भनेर हामीले आफ्ना छोरी र बहिनीहरुलाई सिकाइरहँदा केटीको सहमतीबिना उस्लाई नछुनु, आफ्नो श्रीमतीको इच्छाको सम्मान गर्नु, बाटोमा हिँड्दा केटीहरुलाई नजिस्काउनु, आफ्ना महिला साथी वा बाटोमा भेटेका अपरिचित कसैमाथि पनि दुर्व्यवहार नगर्नु भनेर आफ्ना छोराहरु र भाइहरुलाई पनि सिकाइ रहेका छौँ त?

देशका लोकप्रिय अनलाइन अखबारहरुले दुर्व्यवहारबाट बच्ने तरिका बारे लेख लेखिरहँदा यौन हिंसाबारे सचेत गराउन र त्यसलाई निरुत्साहित गर्न सकिने उपाय बारे कति लेखहरु संचार माध्यममा आए त?

के गर्न सकिन्छ?

शैक्षिक संस्था र कार्यलयहरुमा यौन हिंसाका सचेतना कार्यक्रमहरु मार्फत त्यस्ता घटनालाई निरुत्साहित गर्ने र घटना घटेमा सुनुवाइ गर्ने व्यवस्था मिलाइनु पर्छ। बलात्कारका सर्भाइभरहरुको सुरुआती सम्पर्कमा आउने भएकाले प्रहरी र स्वास्थ्य सेवा प्रदायकहरुलाई यौन हिंसा बारे बढी संवेदनशील र सचेत बनाउन पनि उत्तिकै जरुरी छ।

कानुनी संशोधन, न्यायीक व्यवस्थामा सुधार र पारदर्शीताका पक्ष पनि महत्वपूर्ण छन्। वर्तमान नियम कानुनहरुको प्रभावकारिता महिलाहरुको पहुँच र जागरुकतामा पनि भर पर्दछ भन्ने बुझ्न आवश्यक छ। र अन्त्यमा अपराधी र सम्भावित अपराधीहरुको मनोबल घटाउन सबैभन्दा सापेक्षित र महत्वपूर्ण भनेको दण्डहीनताको अन्त्य नै हो।

सन् २०१४ मा ‘ग्लोबल हेल्थ याक्सन’ नामक जर्नलमा प्रकाशित रिसर्च आर्टिकलले लैङ्गिक हिंसा, विशेषत: बलात्कार जस्ता हिंसात्मक अपराध बहुमुखी समस्या भएको निष्कर्ष निकालेको छ। साथै यस्को सम्बोधन गर्न यस्मा योगदान पुर्याउने कारकको रुपमा देखिने समवर्ती मुद्दाहरूको सम्बोधन पनि उत्तिकै महत्वपूर्ण रहेको बताएको छ।

भारतमा गरिएको उत्त अनुसन्धानमा भारतीय चलचित्रहरुमा महिलाको चित्रणले महिलाहरुप्रति पूर्वाग्राही सोचको सिर्जना गरेको कुरा उदाहरणको रुपमा प्रस्तुत गरिएको छ। संचार माध्यमहरुले यौन हिंसाका समाचार प्रस्तुत गर्ने तरिकाले व्यक्तिले यौन हिंसा बारे बनाउने धारणामा प्रभाव पार्ने तथ्य न्युजील्यान्ड जर्नल अफ साइकोलोजीमा प्रकाशित सन २००३ मा गरिएको अनुसन्धानमा पनि उल्लेख गरिएको छ।

फराकिलो स्तरमा हेर्दा संचार माध्यमहरुको प्रस्तुतीले सहयोग सेवाका रकम, अपराधको विश्वस्ता र पक्राउको दर र समग्रमा समाजको यौन हिंसातर्फ कस्तो प्रतिक्रिया हुन्छ भन्नेसम्म प्रभाव पार्न सक्छ। तसर्थ संचार माध्यमले यौन हिंसा सम्बन्धित अपराध, अपराधी र पीडितको प्रतिनिधित्व गर्ने तरिकालाई अवलोकन गर्नु अत्याधिक महत्वपूर्ण छ।

यति भन्दै गर्दा यो पनि बुझ्नु आवश्यक छ की बलात्कार र यौन हिंसाका व्यक्तिगत अपराधहरुलाई न्याय दिलाउनु मात्र कदापी पर्याप्त छैन। ‘बलात्कार संस्कृति’ को अवधारणाले बताउँदछ की बलात्कार कुनै एक विकृत व्यक्तिको अमानवीय कार्य मात्र हैन, हाम्रो दैनिक जीवनमा व्यापक असंख्य सामाजिक र सांस्कृतिक अभ्यासहरुबाट प्रोत्साहित अपराध हो।

र यो हाम्रो समाजमा यसकारण स्थापित छ किनकी हामी बलात्कार संस्कृतिको अस्तित्व स्वीकार नै गर्दैनौँ। यो संस्कृतिले हामीमा जरा गाडेर बसेको छ र हामी हरेकमा यो संस्कृतिको अस्तित्व रहनमा योगदान छ र यस्लाई मेटाउन हामी हरेकले केही गर्न सक्छौँ भन्ने बुझ्नु जरुरी छ।

यौन हिंसा जस्ता अपराधहरुको समाधान गर्न व्यक्तिगत कार्यहरुलाई बलात्कार संस्कृतिको लक्षणको रुपमा हेर्नु र समग्र रुपमा यस्लाई समाधान गर्नु हो। यस्लाई केही उदाहरणबाट बुझौं।

‘दु:खको सामना गर्न कसैले हामीबाट सिकोस्, हिजो राति वार्साले ‘रेप’ गर्दा पनि अझसम्म जिउँदै छौँ।’ यो वाक्य मैले एक शिक्षित युवाले एउटा फुटबल गेमको भोलिपल्ट बोलेको बोली हुबहु सारेकी हुँ। यो वाक्यले बलात्कार भनेको कसैको घोर बेइज्जत गर्नु वा कसैसँग हार्नु हो भनेर मात्र जनाउँदैन, हामीले बलात्कार जस्तो गम्भीर अपराधलाई कति हलुको रुपमा लिइरहेका छौँ भनेर पनि दर्शाउँछ।

यस्ता वाक्यले अझै यस्ता हिंसा भोग्नु परेकामाथि के असर पर्ला? अथवा हाम्रै वरिपरि भएका यस्ता हिंसा गर्नेको मनोबल कति बढ्ला भनेर विचार गरेका छौँ त? केटीहरुलाई सानैदेखि आफू होसियार भएमा, ‘उत्ताउला’ पहिरन नलगाएमा, संस्कारी भएमा आफूसँग गलत कार्य नहुने भनेर सिकाउनु साटो केटाहरुलाई हर समय महिलाको आदर गर्न सिकाउने, कसैको पहिरनबाट उस्को नैतिकता ननाप्ने, उनीहरुले गर्ने हर गलत कार्यको जिम्मेवार उनीहरु नै हुन्छन् भनेर सिकाउने हो भने हिंसाको संस्कृतिमा कमी आउन सक्ला।

र केटाहरु त्यस्तै नै त हुन्छन्, ‘ब्वाइज विल बि ब्वाइज’ को संस्कार जबसम्म प्रचार भइरहन्छ, तबसम्म केटाहरु त्यस्तै नै भइरहन्छन् र केटीहरु असुरक्षित महशुस गरी नै रहन्छन्।

कुनै अपराधीलाई बलात्कार जस्तो हिंसा गर्ने हिम्मत एक्कासी, एकै दिनमा पक्कै आउँदैन। उनीहरुका सुरुआती लक्षण इभ टिजिङ, यौन दुर्व्यवहार, स्लट शेमिङ, जस्ता क्रियाकलापबाट देखिन्छन्। त्यति बेलैबाट उनीहरुलाई जवाफदेही बनाउने र कारबाही गर्ने हो भने सायद बलात्कार गर्न उनीहरुको हिम्मत नआउला की?

बझाङमा दुई हप्ता अघि १२ वर्षिया बालिकाको बलात्कारपछि हत्या गरेका राजेन्द्र बोहरा पक्राउ परे। अनुसन्धानको क्रममा त्यसअघि उनले अर्की १४ वर्षिया बालिकाको पनि बलात्कार गरेको र त्यसपछि दुवै पक्ष बीच मिलापत्र गरेको तथ्य बाहिर आयो।

एक बालिकाको बलात्कार जस्तो अपराधमा यो पटकलाई गल्ती भयो भन्दै ५०० रुपैयाँको नोट राखेर ढोग्न लगाइ माफी दिने त्यही समाजले अर्की बालिकाको बलात्कारपछि हत्या हुँदा अफशोच जनाउनु लजास्पद छ कि छैन? समाचार रिपोर्टहरुमा बोहरा आवारा र उच्श्रृंखल चरित्र भएका र बलात्कारको घटना अघि पनि ती बालिकालाई पटक-पटक पछ्याउने र डराउने गरेको कुरा उल्लेख गरिएको छ।

उनका यस्ता क्रियाकलाप नजर अन्दाज नगरिएको भए सायद त्यो बालिकाको बलात्कार हुने थिएन, हत्या पनि हुने थिएन। हाम्रा वरिपरि, हामीले नै चिनेजानेका कति प्रताडक होलान्? मान्नुस्, नमान्नुस् अनगिन्ती छन्। हामीले ‘ह्याङ द रेपिस्ट’ भनेर सामाजिक संजालमा कालो रंग छापिरहँदा के हामीले हाम्रा घर र समुदायमा भएका प्रत्येक घरेलु हिंसा, यौन दुर्व्यवहार या उत्पिडनमा संलग्न पुरुषलाई जवाफदेही बनाएका छौँ?

आफूले चिनेको प्रताडकको कुरामा मौन रहने, विरोध नगर्ने र अझै दुखदायी- ऊ असल मानिस हो भन्दै ढाकछोप गर्ने प्रवृत्ति हाम्रो समाजमा खुलस्तै देखिन्छ। यो लेखको सुरुआतमा भनिए जस्तै हिंस्रक र सम्भावित हिंस्रक अरुभन्दा फरक देखिदैंनन्, यी हामी बीच नै हामी जस्तै नै छन्।

समाचारमा सुनिएका यौन हिंसाका घटनाको विरोध गर्नु अघि आफ्ना वरिपरि भएका घरेलु हिंसा, यौन दुर्व्यवहार, यौन हिंसा र बलात्कारको विरोध गरौँ। यति भन्दै गर्दा बलात्कार संस्कृति हामीमा पनि छ भन्ने बुझौँ, आफ्ना सोच, गतिबिधि र प्रवृत्तिहरुलाई पहिला प्रश्न गरौँ, र त्यसपछि आत्मलोचना गरौँ। र हामीले बलात्कारको बिरोध गरिरहँदा बलात्कार संस्कृतिको भने कतै प्रवर्द्धन गरिरहेका त छैनौँ? विचार पुर्याऔँ।

(नोट: बलात्कार सधैँ पुरुषबाटै हुन्छ भन्ने छैन, न त सबै बलात्कृत महिला नै हुन्छन्। तर अधिकांश घटनाको सत्यता त्यही हुने भएकाले यो लेख पुरुषद्वारा महिलामाथि हुने हिंसालाई केन्द्रमा राखेर लेखिएको छ। यो लेखमा ‘हामी’ भन्नाले म, तपाई, हामी बस्ने समुदाय र यहाँका अवयवहरुलाई जनाउँदछ। अझ भन्नुपर्दा सामाजिक प्रवृत्तिलाई जनाउँदछ।)..Seto pati

You might also like