तरकारीखेती प्रति आकर्षित हुदै बर्दघाट –२ चिसापानीका कृषक

सरकारी सहुलियत नपाएको गुनासो

0

नवलपरासी ९  बैशाख – चन्द्रबहादुर बुढा मगर (६१) को बिहानदेखि सम्साँझैं सम्म दिनभरको समय खेतमै बित्छ । बिहान उठ्यो खेतमा गयो खाना खाने बेला बाहेक उहाँलाई खासै फुर्सद नै हुदैन । उहाँलाई छोरी चन्द्र कुमारीको साथ र सबै परिवारको जोडबलले लटरम्म फलेका तरकारी बारी गोडमेल गर्न औधी मन पर्ने गरेको छ । एक बर्ष अघिबाट बर्दघाट–२ चिसापानीमा ब्यवसायिक तरकारी खेती शुरु गरेको चन्द्रबहादुरको परिवार अचेल यो पेशाबाट सन्तुष्ट हुन थालेको छ । एकबर्ष भयो यो तेस्रो सिजन हो यो सिजन सम्म आईपुग्दाँ लगानी उठने अवस्थामा आइसकेका छौ – चन्द्रबहादुर भन्नुहुन्छ –लगानी उठेपछि अर्काे सिजन पुरै फाइदा हुन्छ । शुरुमै ६ लाख लगानी गरेर १० कठ्ठामा थोपा सिंचाई सहितको तरकारी बारी तयार गरेकोले लगानी उठाउन एकबर्ष लागेको चन्द्रबहादुरले बताउनुभयो । चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष हुदाँ लिएको अनुभवले समेत काम गरेको उहाँको भनाई छ । महंगो प्रबिधि तथा सरकारी पक्षबाट सहयोग भए अझ धेरै गर्न सकिन्थ्यो – चन्द्रबहादुर भन्नुहुन्छ – तर सरकारबाट सहयोग पाउन सकिएको छैन तैपनि आफ्नो पेशाबाट सन्तुष्ट छौ ।

टमाटर खेतीमा रम्दै चन्द्रबहादुर बुढा मगर

त्यस्तै समयमा बिउबिजन नपाइने, बजार अभाव हुने र अहिले लकडाउनको कारणबाट समस्या परेको उहाँकी छारी चन्द्रकुमारीको अनुभव छ । बुढाको खेतमा अहिले काक्रो, लौका , टमाटर , करेला , बोडी फलेका छन । लकडाउनको बेला उत्पादन भएका तरकारी आफैले साइकलमा डुलाएर बेच्ने गरेको चन्द्रकुमारीले बताउनुभयो ।

तरकारी बारीमा लौका टिप्दै चन्द्रकुमारी बुढा मगर

त्यस्तै बर्दघाट २ चिसापानीकै दुई जना युवा ओम बुढा मगर र खुमलाल पुनले पनि करिब १२ लाख लगानी गरेर १ बिघामा तरकारी खेती गर्नुभएको छ । उहाँहरुले थोपा सिंचाई प्रबिधि सहितको. एक बिघामा तरकारी लगाउन थालेको दुई बर्ष हुन लाग्यो तर कही कतैबाट उहाँहरुले सहयोग पाउनुभएको छैन । सरकारले देला भन्ने त त्यति आशा छैन – ओम भन्नुहुन्छ – तैपनि ठाँउ ठाँउमा अनुदान पाएको सुनेका छौ । हामीले भने कही कतैबाट केही पाएका छैनौ । सरकारले अनुदान नदिएपनि निरन्तर काम गर्ने उहाँहरुको प्रण छ । उहाँहरुको सिर्जनशिल तरकारी फर्ममा अहिले टमाटर,फर्सी र बोडी लटरम्म फलेका छन् । थोपा सिंचाईका लागी प्रबिधि सहितको ब्यवस्था गरेका छौ – खुमलाल भन्नुहुन्छ – यो सिजनको तरकारी राम्ररी बेच्न पाए लगानी उठने थियो । त्यसपछि अगाडि बढ्न सहज हुने थियो ।

बोडी टिप्दै ओम बुढा मगर र खुमलाल पुन

त्यस्तै चिसापानीकै ईन्द्रकुमार थारुको तरकारी फर्म छ । फर्ममा भिन्डी, बन्दा र खुसानी फलेका छन् । उहाँले लकडाउनमा दिइएको समय पारेर तरकारी बेच्ने गर्नुहुन्छ ।

ईन्द्र कुमार थारुको खुर्सानी बारी

त्यस्तै चन्द्रबहादुर , चन्द्रकुमारी, ओम , खुमलाल र ईन्द्र कुमारको साझा गुनासो छ । तरकारीको उचित मुल्य , बजार ब्यवस्थापन, बिउबिजन मलमा सहुलियत र सरकारी अनुदान नपाएको गुनासो ।
उता बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । हामीले कृषिबाटै नगरको समृद्धि हुन्छ भन्ने विश्वास लिएका छौ , त्यसैले कृषि तथा पशुपालन बिशेष जोड दिएका छौ – बस्याल भन्नुहुन्छ – दुध र अण्डामा नगर आत्मनिर्भर भइसकेको छ । त्यस्तै वडा नम्बर १४ मा तरकारी र वडा १३ मा मकैको पकेट क्षेत्र घोषणा उहाँले बताउनुभयो । कृषकलाई कुनै समस्या बजार ब्यवस्थापन वा अन्य कुनै समस्या भए सहजीकरण गर्न नगरपालिका तयार रहेको उहाँले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाका सबैजसो वडामा तरकारी खेतीको निकै सम्भावना छ । त्यसैले किसानको उत्पादनको सर्मथन मुल्य तोक्ने , स्थानीय स्तरमा बिक्री नभएका उत्पादनको बजारको ग्यारेन्टी , बिउबिजन र मलमा सहुलियत तथा कागजी अनुदान लिने÷ दिनेहरुलाई निरुत्सान गरी वास्तविक कृषकहरुलाई अनुदान दिने ब्यवस्था भएमात्र यी मेहेनेति किसानहरुलाई राहत हुने देखिन्छ ।

You might also like