उपभाेक्ता ठग्ने विशाल ग्रुपमाथिको कारबाहीलाई फितलो बनाउने खेल सुरु

0

काठमाडौँ, २७ असोज । म्याद सकिएका खाद्यवस्तुमा नयाँ मिति राखेर बजारमा पठाएको भेटिएपछि विशाल ग्रुप अहिले विवादमा तानिएको छ । असोज १५ गते बजार अनुगमन टोलीले विशाल ग्रुपका वितरक कम्पनीमा छापा मारेको थियो ।

अनुगमनका क्रममा विशाल ग्रुपले म्याद गुज्रिएका सामग्री रिलेबलिङ गरेको पाइएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले गरेको अनुगमनमा विशाल ग्रुपको आयान डिस्ट्रिब्युटर्सका सन्चालकसहित सात जना पक्राउ गरेको थियो ।

आयानले कलंकीको लिंक रोडमा चार तलाको घर भाडामा लिएर म्याद गुज्रिएका सामानहरूमा रिलेबलिङ गर्ने गरेको पुष्टि भएको छ । अनुगमन टोलीले त्यहाँबाट फाल्नु पर्ने सामानमा नयाँ मिति हालिँदै गरेको भेटिएको हो ।

विशाल ग्रुपले आयात गरेर कुहिएका वा खान अयोग्य भइसकेका सामानहरु । बजारमा चल्तीमा रहेका स्निकर्स चकलेट, प्रिङ्गल्स चिप्स, बोर्नभिटा हर्लिक्स, ट्याङ पाउडर, ओरियो बिस्कुटलगायतका खाद्यवस्तुमा रिलेबलिङ गर्ने गरेको अनुगमनका क्रममा भेटिएको हो ।

अनुगमनमा विभागले कम्तिमा पनि २ करोड मूल्य बराबरका सामानको रिलेबलिङ गरिएको भेटिएको जनाएको छ ।
अहिले विशाल ग्रुपमाथिको कारवाहीलाई फितलो बनाउने खेल सुरु भएको छ ।

पक्राउ परेकी पुष्पा अग्रवाललाई अदालतले फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ३८ बमोजिम १ करोड धरौटीमा छोड्न आदेश दिइसकेको छ ।

त्यही दिन पक्राउ परेका अन्य पाँच जनालाई प्रतिव्यक्ति पाँच लाख धरौटीमा छोड्ने वा धरौटी बुझाउन नसके थुनुवा पुर्जी दिइ कारागारमा राख्न अदालतले आदेश दिएको छ ।

आफूले यस्तो गम्भीर अपराध गरेको स्वीकार गरेका आयानका प्रमुख प्रशासकीय अधिकृत रोनक बोथ्रालाई भने उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४० को उपदफा १ ख बमोजिम कारबाही हुने भनी पुर्पक्षका लागि थुनामा राखिएको छ ।

यता ब्यापारीहरुको नाफा खोर प्रवृत्ति हाबी भएर खुल्लमखुल्ला उपभोक्ता ठगिँदा पनि राज्यतन्त्र भने कमिसनखाेरीमा मग्न रहेकाे भन्दै अालाेचना भइरहेकाे छ ।..News24nepal

You might also like