धनगढीका मध्यम वर्गीय परिवार ठगिएका ३ उदाहरण, अदालतबाटै घर खाली गर्न सूचना
धनगढी उपमहानगरपालिका वडा नम्बर १ विनायक टोलकी मधुकुमारी थापा क्षेत्रीको घर १५ दिनभित्र खाली गराउन उच्च अदालत दिपायलले सूचना जारी गरेको छ। महिला उद्यमी मधुले २ करोडको सम्पत्ति धितो राखेर १६ लाख ५४ हजार बैंकबाट ऋण लिएकी थिएन्।
केही समयपछि उनलाई थप रकम आवश्यक परेको थियो। यसैक्रममा अहिले कञ्चनपुर बस्दै आएकी लक्ष्मीदेवी बुढा र गौरीगंगाका तत्कालिन मेयर भीमबहादुर देउवाले बैंकबाट ८० लाख कर्जा लिने र आधा रकम घरधनी मधुलाई दिने गरी घरको दृष्टिबन्धक गरिएको थियो। सिद्धार्थ बैंकबाट मधुको घर धितो राखेर बुढा र देउवाले ८० लाख ऋण लिएको उनले बताइन्।
घरधनीलाई आधा रकम दिने भनिएको थियो। मधुले लक्ष्मीदेवी र देउवाबाट आधा रकम पाउनु त कता हो कता उल्टै ८० लाख तिर्नुपर्ने भन्दै बैंकबाट घर लिलामीको सूचना जारी भयो।
त्यसपछि घरधनी मधुले आफु दुईजनाबाट ठगिएको भन्दै जिल्ला अदालत कैलाली हुँदै उच्च अदातलमा मुद्दा हालिन्। तर, उच्च अदालत दिपायलले अहिले भीमबहादुर देउवाको उक्त घर भएको भन्दै १५ दिनभित्र घरखाली गर्न सूचना निकालेको छ। अहिले घरधनी मधु आफ्नो २ करोडको सम्पत्तिको गुम्न लागेको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्ने तयारीमा छिन्।
धनगढीमा अमित प्लाजा पछाडिको तीन तले घर धितो राखेर व्यवसाय सञ्चालनका लागि १६ लाख ५४ हजार मधुले कर्जा लिएकी थिएन्। तर देउवा र बुढाले घरधनी मधुले बैंकबाट लिएको ऋण तिरिदिने र थप ८० लाख रुपैयाँ निकालेर आधा रकम घरधनीलाई दिने सहमति थियो। ‘बुढा र देउवाले मिलेर मलाई कुनै रकम नदिई उल्टै देउवाले आफ्नो घर भएको दाबी गर्दै बैंकले ८० लाख बुझाउन भन्दै पत्राचार गरेको थियो’ उनले भनिन्, ‘त्यति ठूलो रकम हामीले कहाँबाट तिर्नु ?’ अहिले उच्च अदालतले १५ दिनभित्रै घर खाली गर्न सूचना नै जारी गरेपछि उनको परिवार बिचल्लीमा परेको छ।
धनगढीकै व्यवसायी जग्गु चौधरी पनि १० लाख ऋणको ४० लाख तिर्नु बनाइएको भन्दै पीडामा छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरमा रहेको एक कट्ठा १२ धुरको जमिन धनगढीमा टिना इन कर्पोरेशन नामक कारको शोरुम सञ्चालन गरेका भजनीका राजाराम चौधरी र धनगढीकै हरि रेग्मीका कारण १० लाखको ४० लाख तिर्नुपर्ने देखिएको भन्दै उनले गुनासो गरेका छन्।
आफूले यसअघि कृषि विकास बैंकबाट लिएको १० लाख ऋण चुक्ता गरिदिने र थप २२ लाख निकाल्ने अनि ६ महिनाभित्र जमिन फिर्ता गरिदिने शर्तमा हरि रेग्मीले आफ्नी श्रीमती शारदा शर्मा रेग्मीको नाममा जमिन नामसारी गर्न लगाएको उनले बताए। उनका अनुसार ६ महिना काम चलाउने र त्यसपछि जमिन फिर्ता गरिदिने शर्त थियो।
ब्याज राजारामले तिर्ने शर्तमा कारोबार भएको थियो। तर हरि रेग्मीले ४० लाख तिर्ने कि जमिन अर्कैसँग बिक्री गरिदिउ भनेर दैनिक तनाव दिन थालेपछि १० लाखको ४० लाख तिर्नुपर्ने परिवन्धमा फसाइएको जग्गाधनी चौधरीको गुनासो छ।
‘मैले दिएको १० लाख ऋणको सावा ब्याज तिरेर ६ महिनाभित्र जमिन फिर्ता गर्ने बताएपनि अहिले ४० लाख मलाई नै तिर्न दबाब दिइएको छ’ उनी भन्छन्, ‘यसबाट आफू नराम्ररी ठगिएको अनुभूति भएको छ।’
त्यस्तै आजभन्दा ४ वर्षअघि धनगढीको एलएनचोकमा एक करोडमा घडेरी किन्ने भन्दै चन्द्रा बोहरालाई धनगढीकै निर्माण व्यवसायी अमितप्रताप सिंह ‘गुड्डु’ले बैनाबाफत नगद ३० लाख रुपैयाँ दिए। जग्गाधनी बोहराले पहिले नै सो जमिन बैंक धितो राखेर झण्डै ५५ लाख लिएकी थिइन्। बैंकको ऋण चुक्ता हुने बित्तिकै घडेरी सिंहको नाममा नामसारी गर्ने सहमति थियो।
यसैक्रममा उनले जग्गाधनी बोहरालाई केही समयपछि थप २० लाख दिए। तर जग्गा नाममा आउन सकेन। उनलाई बिक्री गरेको जमिन सीताराम डेरीका सञ्चालकलाई बिक्री गरेको सिंहले जानकारी पाएपछि जग्गा रोक्का गर्न निवेदन दिए। तर पनि उनको नाममा जमिन आउन सकेन।
जग्गा नाममा ल्याउन सिंहले पटक–पटक गरी ७२ लाख जग्गाधनी बोहरालाई तिर्दा पनि अहिले अर्कैको नाममा जग्गा गएको भन्दै सिंहले गुनासो पोखेका छन्। ‘जग्गाधनी चन्द्रा बोहरालाई एक करोडमा जग्गा खरिद गर्ने सम्झौताअनुसार सुरुमै ३० लाख नगद दिए। पटकपटक गरेर साढे ४ वर्षको अवधिमा ७२ लाख बुझाइसक्दा पनि अहिले फेरि जग्गा अर्कैको नाममा गएको छ’ उनले भने, ‘७२ लाख पनि डुब्यो, अनि जमिन पनि अर्कैको नाममा गयो। अब कहाँ गएर कसले मलाई न्याय दिने हो। साह्रै बिचल्लीमा परेको छुँ।’
यी तीनै जनाले आफू ठगिएको भन्दै जिल्ला प्रशासन कार्याल कैलालीमा निवेदनत दिइसकेको छन्। जिल्ला प्रशासनमा हालसम्म यस्तै प्रकृतिका मिटर ब्याज र ठगी सम्बन्धिका ४५ उजुरी दर्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी किरण थापाले यस्ता प्रकृतिका उजुरी दर्ता हुने क्रम जारी रहेको बताए।
‘गृह मन्त्रालयको परिपत्रपछि जिल्लामा ४५ उजुरी दर्ता भएका छन्। यसलाई मिटर ब्याजभन्दा पनि ठगी सम्बन्धीका मुद्दा भनेर व्याख्या गर्न सकिन्छ’ उनले भने, ‘छानविनपछि उनीहरु साँच्चै ठगीमा परेको देखिएमा सम्पत्ति शुद्धिकरण विभागमा पठाएर कारबाही प्रक्रिया अघि बढाउछौं।’ उनका अनुसार अहिले नै पीडक र पीडित छुट्याउन नसकिने भएकाले छानविनपछि मात्रै थप कुरा खुल्नेछ। dineshkhabar