शुभाष गिरीको मृत्युको विषयमा छानविनको लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

0

नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति शुभाषचन्द्र गिरीको निधनको विषयमा छानविनको माग गर्दै विभिन्न राजनैतिक दलहरुको टोलीले मगंलबार प्रदेश पाँचका मुख्यमन्त्री सहित मन्त्रीहरु र राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

मगंलबार मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश पाँच सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, समाजिक विकास मन्त्री सुर्दशन बराललाई ज्ञापन पत्र बुझाउँदै गिरीको निधनको विषयमा छानविन गर्न माग गरिएको कांग्रेसका जिल्ला नेता गजानन्द पटेलले जानकारी दिनुभयो । ‘‘गिरीको उपचारकै क्रममा भएको लापरवाहीको कारण मृत्यु भएकाले उपचारमा संलग्न चिकित्सक माथी छानविन गरी दोषिउपर कारवाही र पिडितलाई क्षतिपूर्तीको माग गरिन्छ,’’ ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रमा यस विषयमा पटक–पटक ध्यानआर्कषण गराईएको भएपनि सुनुवाई नभएको भन्दै तत्कालै घटनाबारे छानविन गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सहित प्रदेश सरकारका मन्त्रीहरुले घटनाका विषयमा छानविन गर्ने आश्वासन दिएको प्रदेश सांसद बैजनाथ जयसवालले बताउनुभयो । मंगलबारनै राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश कार्यालयमा पनि ज्ञापन पत्र बुझाउँदै राजनैतिक दलहरुको टोलीले लापरवाहीका कारण मानिसको मृत्यु भएको घटनामा पनि छानविन नभएको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ । सो ज्ञापन पत्रमा प्रदेश सांसद जयसवाल सहित, कांग्रेस सचिव विक्रम यादव, जसपाका मुकुरजी गिरी र धरेन्द्र यादव, राप्रपाका सचिव सन्तोष पाण्डे, स्वतन्त्र राजनैतिक समुहका संयोजक राधेरमण पाण्डे, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शुम्भु उपाध्याय, उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरी, नाई संघका अध्यक्ष विरेन्द्र ठाकुर लगाएतको हस्ताक्षर रहेको छ । ३८ वर्षीय कोरोना संक्रमित गिरीको भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । त्यसअगाडि उहाँको युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेसन गरिएको थियो ।

अप्रेसन गरेपछि घरमा आएर आराम गरेका गिरीको स्वास्थ्य अवस्था जटिल बनेको थियो । त्यसपछि पुनः सोही अस्पताल लगिएको र त्यहाँबाट बुटवल हुँदै थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उहाँको परिवारजनले युनिर्भसल मेडिकल कलेजकै लापरवाहिका कारण गिरीको मृत्यु भएको दाबी गर्दे यस अघिनै छानविनको माग गरेका थिए ।

You might also like