नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

उमेश बि.क /नवलपरासी ,४ असोज/

पश्चिम् नवलपरासीको सरावल गाउपालिकामा लागुपदार्थ विरुद्ध सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाँउगाँउमा तिब्र गतिले बढ्दै गएको लागु पदार्थ दुव्र्यसन नियन्त्रण गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । केही वर्ष पहिलेसम्म लागुपदार्थ सहर केन्द्रीत रहेकोमा अहिले गाउँघरमा समेत युवा तथा बालबालिकाहरुको आकर्षण बढेको भन्दै उनीहरुले चिन्ता समेत ब्यक्त गरेका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा न्यायिक सरोकार संस्था तथा सिद्धार्थ संवाद केन्द्रको संयुक्त आयोजना र एबिसी नेपालको आर्थिक सहयोगमा लागुपदार्थ विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा लागु पदार्थ न्यूनीकरणमा जोड दिनुपर्ने बताईएको हो । करिब ४/५ वर्ष पहिलेसम्म हाईवेभन्दा दक्षिण क्षेत्रमा लागु पदार्थ दुव्र्यसनको समस्या अत्यन्तै न्यून रहेको तर अहिले प्रयोकर्ता तथा कारोबार गर्ने ब्यक्तिहरु समेत बढेको बताईएको छ । यस क्षेत्रका युवा तथा कतिपय १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुले समेत लागुपदार्थ ओसारपसार तथा सेवन गर्ने गरेको पाईएको छ ।

यस क्षेत्रका युवाहरु भारतीय बजारबाट लागुपदार्थ ल्याई क्षेत्रमा बर्दघाट, चितवन, पाल्पा, स्याङ्गजा लगायतका ठाउँबाट आउने युवाहरुलाई विक्री वितरण गरेको र प्रहरीलाई खबर गर्दा पनि नियन्त्रण हुन नसकेको सिद्धार्थ संबाद केन्द्रका अध्यक्ष पारसनाथ गुप्ताले गुनासो गर्नुभयो । कार्यक्रममा सरावल वडा नमबर ४ का अध्यक्ष छोटेलाल यादवले लागुपदार्थ प्रति देखिएको बालबालिकाको आकर्षण अत्यन्तै चिन्ताको बिषय बनेको बताउनुभयो । कार्यक्रममा गोबरहिंया प्रहरी चौकीका ईन्चार्ज तिलहबादुर रायमाझीले यस क्षेत्रमा लागुपदार्थ दुव्र्यसनी बढेको स्वीकार्दै प्रहरी प्रशासनले लागुपदार्थ नियन्त्रण गर्न सक्दो प्रयास गरेको र यसलाई घरबाटै नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सिद्धार्थ संवाद केन्द्रका अध्यक्ष पारसनाथ गुप्ताको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष चौधरीले लागुपदार्थ दुव्र्यसन नियन्त्रण गर्न सबैले लाग्नुपर्ने र गाउँपालिकाले समेत कार्य गरिरहको बताउनुभयो ।

न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषले लागु औषध सम्बन्धी सरावल क्षेत्रको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, अभिभावकहरु सुल्तान कुजडा, ठकुरी सहानी, एबिसी नेपालका सहजकर्ता साईदा नेशा, सविदा चौधरीलगायतले लागु पदार्थ नियन्त्रण गर्न प्रहरी प्रशासनको भुमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो ।

You might also like