यस्तो देखियो बुटवल बजार खुलेको दोश्रो दिन, चिउँडोमा मास्क राखेर किनबेच गर्दा संक्रमण फैलिने डर (फोटो फिचर)

0
  • भदौ २२/बुटवलसंक्रमणदर तीब्र भइरहेको उच्च जोखिमका बीच रुपन्देहीमा लकडाउन खुकुलो भयो। उद्योग व्यवसायीले लकडाउन थप्दै गए अवज्ञा गर्ने चेतावनी दिए। रुपन्देहीका उद्योग वाणिज्य संघहरु, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संगठनले विज्ञप्ति निकालेरै अवज्ञाको चेतावनी दिएका थिए।

चेतावनी दिएपछि रुपन्देही प्रशासनले केही शर्तहरु सहित लकडाउनलाई खुकुलो बनाउने निर्णय गर्‍यो। जसअनुसार रुपन्देहीमा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खुला रहन्छन्।
यसमा अत्यावश्यक उपभोग्य वस्तुका सामग्री खोल्न नपाइने भनेर त्यसका लागि बिहान ९ बजे अघि र बेलुका ५ बजेदेखि ७ बजेसम्मको अवधि छुट्याइएको छ।

 

आइतबारसम्मको तथ्यांकअनुसार रुपन्देहीमा ६ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। आइतबारमात्रै ३२ जना संक्रमित थपिएका छन्।

यसबीचमा जोखिम मोल्दै बजार खुलेका छन्। प्रशासनको दुईथरि व्यवस्थाअनुसार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म किराना पसल, दुध डेरीबाहेकका अरु सबै पसलहरु खुलिरहेका छन्।

तर, व्यवसायीले जनाएको प्रतिबद्धताअनुसार अधिकांश व्यवसायी र उपभोक्ताले सावधानी अपनाएको देखिदैन। खुलेका पसलहरुमा अधिकांश व्यवसायीहरुले मास्क लगाएका छैनन्। सडकमा हिड्ने बटुवाले पनि चिउँडोमा मास्क झुड्याएको देखिन्छ। बजार खुल्नुलाई कोरोना महामारीको जोखिम कम भएको रुपमा बुझ्दा व्यवसायी र उपभोक्ताले उच्च जोखिम मोलिरहेका छन्।

कतिपय पसल सुनसान छन् भने कतिपय पसलहरुमा भीड देखिन्छ। कतिपयले उपभोक्ता कुरिरहेका देखिन्छन्। लामो समयदेखिको लकडाउनका कारण थलिएको व्यवसायलाई केही राहत हुने महसुस व्यवसायीले गरेपनि सावधानी नअपनाउँदा जोखिम बढ्दो छ। व्यवसायी या उपभोक्ता एकजनामा संक्रमण भएमा यसले अरुलाई फैलाउने डर बढी हुन्छ। मास्क लगाएपनि दुरी कायम नगर्दा संक्रमण फैलिनसक्छ।

यसरी बिक्रेता र उपभोक्ताले सावधानी अपनाएनन् भने संक्रमण घरैपिच्छे हुने खतरा छ। उच्च सावधानी नअपनाए रुपन्देहीमा संक्रमणको अवस्था भयावह हुनसक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले रुपन्देही स्वास्थ्यको हिसाबले जोखिमपूर्ण र सम्वेदनशील अवस्थामा रहेकाले कडा सावधानी अपनाउनुपर्ने बताउँछन्।

 

‘अनुशाशित भएर सामाजिक दुरी कडाइका साथ पालना गर्नुपर्दछ, माक्स कहिले पनि नछोड्ने, बेलाबेलामा साबुन पानीले हात धोइरहने र सेनेटाइजरको प्रयोग गर्ने गरिएन र सर्तकता अपनाइएन भने रुपन्देहीको अवस्था भयावह हुनसक्छ–लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन थापाले भने–भीडभाड भएको ठाउँमा नजाने, रुघाखोकी लाग्यो भने घरबाहिर ननिस्कने जस्ता नियम कडाइका साथ पालना गर्नुपर्दछ।’

स्वास्थ्यकर्मीका अनुसार व्यवसायीले पसल खोल्दा मास्क लगाएर बस्नुपर्छ। उनीहरुले सकेसम्म उपभोक्तालाई सामान दिदा र पैसा लिँदा पन्जा लगाएको भएमा सुरक्षित हुनसकिने स्वास्थ्यकर्मीको सुझाव छ।

‘व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम गर्नुपर्छ, डा. थापा भन्छन्–हरेक पटक साबुनपानीले हात धुन सम्भव नभए सेनेटाइजर लगाउनुपर्छ।’

व्यक्तिगत सावधानी नअपनाएका अधिकांशले नियम मिचेर सवारी चलाएका छन्। निजी सवारी साधन नचलाउनु भनेपनि सडक किनारमा लस्करै पार्किङ गरेका गाडी देखिन्छन्। निजी सवारी साधनमा ओहोर दोहोर बढेको छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल सावधानी नअपनाउने व्यवसायीलाई कारवाही गर्नसक्ने बताउँछन्। ‘प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदा हामीले सुरक्षाको मापदण्ड पालना नगर्ने व्यवसायीलाई कारवाही गर्न भनेका छौं’–उनले भने–‘व्यवसायीहरुलाई पनि हामीले मापदण्ड अपनाउन सजग गराएका छौं, कारबाहीमा पर्नुभयो भने हामी जवाफदेही हुँदैनौ भनेका छौं।’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Lumbini times..

You might also like