आइसोलेसन बनाइएका विद्यालयमा सेनेटाइज नै गरिएन

0

भदौ २२, २०७७ बैतडी : 

बैतडीका विद्यालय तथा क्याम्पसमा बनाइएका क्वारेन्टाइन र आइसोलेसन सेनेटाइज नगरिएको गुनासो आउन थालेको छ। भारत तथा अन्य ठाउँबाट फर्केका नागरिकहरुलाई जिल्लास्थित विभिन्न विद्यालयमा बनाइएका क्वारेन्टाइनमा राखिएको थियो। तर संक्रमितहरू निको भएर घर फर्किएपनि ती विद्यालयहरूलाई अझै निसंक्रमण नगरिएको हो। सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा क्वारेन्टाइन र आइसोलेसन बनाएर प्रयोग गरेपछि आवश्यक सेनेटाइज नगरिएको क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए। उनले भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितहरुका लागि अस्थायी शौचालय बनाएर प्रयोग गर्ने र पछि त्यसलाई पुर्नुपर्ने भएपनि यहाँ त्यसो गरिएन। संक्रमितहरुले प्रयोग गरेका क्याम्पसका शौचालय सफा नै नगरी छाडिएको छ।’ क्याम्पसमा परीक्षा सञ्चालन गर्नुपर्ने समय आइसकेको भएपनि क्वारेन्टाइन र आइसोलेसन स्थल सेनेटाइज नगर्दा समस्या भएको उनले बताए।

आइसोलेसनमा यसअघि संक्रमितहरु बसेका र उनीहरुले प्रयोग गरेका शौचालयलाई अझै सेनेटाइज गरिएको छ्न।  क्याम्पसले अनलाइन पहुँच नभएका विद्यार्थीहरूका लागि इन्टरनेटको व्यवस्था गरेर परीक्षा सञ्चालन गर्नुपर्ने भएको, तर विद्यालयको संरचनामा पहिले संक्रमित राखिएकाे यसो गर्न नसकिएको जनाएको छ। कोरोना महामारी फैलिएसँगै जिल्लाका अधिकांश शिक्षण संस्थामा क्वारेन्टाइन निर्माण गरिएको थियो। अहिले शिक्षण संस्थामा बनाइएका क्वारेन्टाइन खाली भएका छन्। तर, धेरै जसो ठाउँमा निसंक्रमण गरिएको छैन्। यसरी प्रयोग गरिएका संरचना अलपत्र छाड्दा विद्यार्थीमा त्रासका कारण मानसिक हिसाबले समेत समस्या आउनसक्ने शिक्षकहरुले बताएका छन्। नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्दले महामारीका बेला प्रयोग गरिएका शैक्षिक संस्थाका संरचनामा आवश्यक सेनिटाइज र रंगरोगनको तयारी भएको बताए। उनले भने, ‘संक्रमितहरुले प्रयोग गरेका कोठा, शौचालय लगायतका ठाउँमा सेनेटाइज र रंगरोगनका लागि हामीले तयारी गरिरहेका छौं।’ दशरथचन्द नगरपालिकामा हालसम्म ४६ जना संक्रमित भेटिएकामा उपचारपछि सबै डिस्चार्ज भइसकेका छन्‌। जिल्लामा हालसम्म ३७५ जनालाई संक्रमण पुष्टि हुँदा अहिले ४ स्थानीय तहका १५ जना मात्रै सक्रिय रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा  नियन्त्रणका लागि बैतडीमा भदौ ८ देखि जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्ब्याइएको छ।…Thaha  khaber

You might also like