किसान नेता भीमदत्त पन्त र कृषि क्रान्ति

0

बासुदेव नाथ

किसान आन्दोलनका महान नेता भीमदत्त पन्तको जन्म बि.सं. १९८३ साल मंसिर १० गते सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नम्बर ०२ कारिगाउँमा भएको थियो ।उनको आमाको नाम सरस्वती पन्त र बुवाको नाम तारानाथ पन्त थियो ।उनलाई ५ वर्षको उमेरमा उनकी आमा सरस्वती पन्तको स्वर्गवास भएको थियो ।उनले भारतको उत्तर प्रदेशको सिन्हाईबाट १५ वर्षको उमेरमा हाइस्कुल पास गरेका थिए ।उनलाई गीता र माक्सवादको राम्रो ज्ञान थियो ।अध्ययन गरी फर्के पछि एक्कासी उनका पिता तारानाथ पन्तको स्वर्गवासभएको थियो ।बि.सं. १९९५सालमा उनको विवाह ११ वर्षिय पार्वतीदेवी पन्तसंग भएको थियो ।उनका दुई छोरा र एक छोरी जन्मिए पनि कुनै सन्तान जीवित रहेनन् ।

उनका पिताको स्वर्गवास पछि गाउँका साहुले तिम्रो बाबुले लिएको ऋण तुरुन्तै चुक्ता गर होइन भने जमिन लिलाम हुन्छ भनेर ताकेता गरेपछि उनले जमिन बेचेरऋण तिर्दा समेत ऋण र व्याज तिर्न नसकेपछि साहुले तम्सुक च्यात्न नमानेको देखेर भीमदत्त स्तब्ध भएका थिए ।जमिन पनि सित्तैमा गयो ऋण तिर्नपनि बाँकी नै रहयो तर उनीसंग केही थिएन । यसरी शासक सामन्तहरुले गरीब किसानहरु प्रति गरेको शोषण देखेर भित्रभित्र रिसले मुर्मुरी रहेका थिए ।

उनले सौतेनी आमा र श्रीमतिलाई घरमा छोडेर बि.सं. २००१सालमा भारत गए । भारतमा स्वतन्त्रता संग्राम चलिरहेको थियो उनी पनि यसै स्वतन्त्रता संग्राममा होमिन पुगी पक्राउ परेर १८ महिना इलाहावादको जेलमा बन्दी भएका थिए ।उनी भरतको जेलबाट छुटेर आउदामुलुकमा राणा शासन चरम उत्कर्षमा पुगेको थियो ।बि.सं.२००६सालमा नेपाली काँग्रेस क्रान्तिकारी शक्ति भएकोले नेपाली काँग्रेसको सदस्यता लिएका थिए । उनले सामन्ति संस्कार विरुद्ध आफ्नै घरबाट बिद्रोह गरे, जोताहा किसानको पक्षमा वकालत गरे, दलित थारु मगरहरुलाई संगठित गरी किसान मुक्ति सेना गठन गरे, दलितहरुको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए ।बि.सं.२००७सालको क्रान्तिमा कञ्चनपुरबाट नेपाली काँग्रेसमा आवद्ध भईबि.सं.२००७साल पुस २६ गते मुक्ति सेनाले डडेल्धुरा र माघ २ गते डोटी कब्जा गरेको थियो । त्यसपछि मुक्ति सेनाले भीमदत्त पन्तलाई डडेल्धुराको गभर्नर बनाएको थियो ।बि.सं.२००८सालमा गभर्नर भीमदत्त पन्तलाई आफ्नै पक्षधरहरुले गिरफ्तार गरी काठमाडौं लगेर ४ महिनापछि जेल मुक्त गरेको थिए ।

बि.सं. २००८ सालको अन्त्यतिरकञ्चनपुरलाई आन्दोलनको मुख्य केन्द्र बनाई सुदूरपश्चिमका सामन्त बिरोधी सशस्त्र किसान आन्दोलनको साथै कम्युनिस्ट पार्टीको विस्तारमा लाग्नु भयो ।यसै समयमा कञ्चनपुरकोँ ब्रह्मदेवमण्डीमा गोदाममा लुकाएर राखेको नुन र खाद्यान्न निकालेर गरीब जनतालाई सित्तैमा बाँडे र भ्रष्ट कर्मचारीहरुलाई बोरामा बाँधेर महाकालीमा फालेका थिए ।यसलाई देखेर जनताहरुले खुशी भई “जय नेपाल जय नेपाल बिगुलको बाजाले, दश शेरको नुन खुलायो भीमदत्त राजाले” गीत गाएका थिए ।यसपछि बेलौरीमा किसान विद्रोह गरेका थिए ।

बि.सं. २००९सालको अन्त्यतिर“किसान राज जिन्दावाद ! शोषक सामन्त मुर्दावाद ! कि त जोत हलो, कि त छोड थलो, बिना जोती हलो अब हुन्न ठुलो“ र“रोजी रोटी कपडा दे ! नत्र गद्दी छोडी दे! ” जस्ता गगनभेदी नारा गाउँगाउँमा लगाएर ठालु, सामन्त, शोषक, जमिन्दार विरुद्ध किसान तथा उत्पिडित समुदायलाई संगठित गरी किसान मुक्ति सेनालाई साथ लिई कञ्चनपुरको सदरमुकाम बेलौरी कब्जा गरेका थिए ।यसको असर भारतमा समेत परेको थियो ।

“उठ जाग रे नेपाली नवजवान जाग रे, नेपालमा तम म नेपाल देशलाई स्वतन्त्र बनाउ रे“ देश भक्तिको गीत र “बम्बै जाने रेल गाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया ठालुको काल आयो “ गीत चर्चीत थिए ।

बि.सं. २००९ साल चैत्र २७ गते भीमदत्त पन्तलाई गिरफ्तार गरी बेलौरी जेलमा हालेको थियो । बि.सं.२०१०साल असार तेस्रो हप्ता बेलौरी जेल तोडेर उनी उम्कन सफल भए । यसपछि नेपालका शासकहरुले भारतको सहयोग लिई भीमदत्त पन्तको टाउको काटेर लिनेलाई भारु ५०००/- नगद र एक थान बन्दुक पुरस्कार दिने घोषणा गरेको थियो । धनगढीको बिदाहामा भारतीय सेना र भीमदत्तले नेतृत्व गरेको किसान मुक्ति सेना बीच भिडन्त भयो ।यस समयमा किसान विद्रोहले निकै तिब्र रुप लिइसकेको थियो ।यस समयमा भीमदत्त पन्त डोटी र डडेल्धुरा जिल्लाको सिमाना पर्ने जंगल किनाराको बुडर गल्लेकमा(हाल आलिताल गाउँपालिका वडा नं.४ गल्लेक) हामजाली मगरको घरका आश्रय लिई रहेका थिए । बि.सं. २०१०साल श्रावण १७ गतेका दिन उनी बिहानको खाना खाई रहेको बेलामा उनका मीत लाल बहादुर थापा लगायतका भिजिलान्तेहरु र भारतीय सेना सहितले उनी बसेको घरलाई चारैतिरबाट घेरा हालेका थिए । उनका मीत लाल बहादुर थापाले उनलाई सहयोग गर्न आएको बाहना गरी उनको छातीमा गोली प्रहार गर्‍यो ।उनको छातीमा गोली प्रहार भएपछि उनी भुईमा ढल्नु भयो र ढल्दा ढल्दै उनले निकै ठुलो स्वरमा “शोषक सामन्त मुर्दावाद ! किसान राज जिन्दावाद ! ” नारा लगाई प्राण त्याग गरेका थिए । त्यसपछि अर्को हत्यारो जल्लाद भीम बहादुर दयालले कम्बरबाट खुकुरी झिकेर उनको शरीर र टाउको अलग गरी टाउको बोकी डडेल्धुरा सदरमुकाम खलंङ्गा लगेका थिए ।बि.सं.२०१०साल श्रावण १८ गते दिउसो डडेल्धुरा खलंङ्गामा बाँसको कप्टेराले आँखा खोली लामो बाँसको लिंगोमा टाउको सिउरेर झुण्डयाई “हाम्रा बिरुद्ध धावाबोल्ने देश द्रोह र राजद्रोह गर्नेको हबीगत यस्तै हुन्छ“ भन्ने पोष्टर लेखेर ३ दिनसम्म प्रदर्शन गरी आतंक फैलाएको थियो ।उनकी पत्नी पार्वती देवीले काज क्रिया गर्नको लागि टाउको माग्न जादा दिएका थिएन र ३१ बुंदा शर्तमा औंठा छाँप लगाई टाउको दिएको थियो । गाउँमा काज क्रिया गर्न बाहुन पाइएन र काज क्रिया गर्न दिइएन । उनकी श्रीमति र भाईहरु हरिद्वार गई काजक्रिया गरेका थिए ।

उनले साहदत गरेको लामो समय पछि २०७२साल फागुन १९ गते बुधबार तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा वलीको नेतृत्वले औपचारिक रुपमा शहीद घोषणा गरेको थियो ।हालसम्म नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीले उनको नाममा राजनीति गरेको भए पनि उनले देखेको सपना पुरा गर्ने तर्फ खासैध्यान दिएको देखिदैन ।नेपालमा कृषि क्रान्ति सफल गर्नको लागि किसान नेता भीमदत्त पन्तको आदर्श पहिल्याई अगाडि बढनु आवश्यक छ ।

(२)नेपालमा कृषि क्रान्ति

क्रान्ति भन्नाले पुरानोलाई नयाँले विस्तापित गर्नुलाई जनाउदछ ।खास गरी क्रान्ति शब्दको प्रयोग राजनीतिक सामाजिक व्यवस्थामा हुने परिवर्तनलाई संकेत गर्दछ ।कुनै पनि कुरामा हुने आमूल परिवर्तन वा मुलभूत कुरामा हुने परिवर्तनलाई क्रान्ति भनिन्छ ।यसकारण कृषि क्षेत्रमा हुने आमूल परिवर्तनलाई कृषि क्रान्ति भनिन्छ ।हाल कृषिमा आत्मनिर्भर हुने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन पनि कृषि क्रान्तिको एक स्वरुप नै हो ।कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने,कृषिमा व्यवसायिकरण, आधुनिकीकरण, औद्योगिकरण, विविधिकरण हुने, रोजगारमा उल्लेख्य वृद्धिभई आय आर्जनमा वृद्धि हुने, कृषिमा आधारित उद्योगहरु सञ्चालन हुने, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुत्ताको ग्यारेन्टी भएको अवस्थालाई जनाउदछ । बि.सं. १८६१ साल देखि ०६२/०६३ सालसम्म भएका विर्तावालको विद्रोह,सुब्बा कृष्णलाल श्रेष्ठको मकै खेती किसान आन्दोलन,योगमायाका बाणी, बेठ प्रथा उन्मुलन, किसान संघ स्थापना,रौतहटको तम्सुक फट्टा आन्दोलन,किसान नेता भीमदत्त पन्तको “कित जोत हलो, कित छोड थलो, होइन भने अव छैन भलो“ ऐतिहासिक किसान आन्दोलन, पुनर्वास र सुकुम्बासी आन्दोलन, नवलपरासी र रुपन्देही आन्दोलन, झापा आन्दोलन, भकारी फोर आन्दोलन, छिन्ताङ र पिस्कर आन्दोलन किसान आन्दोलन, माओवादी जनयुद्ध वा सशस्त्र संघर्ष, मधेश आन्दोलन, आदिबासी जनजाति, दलित आन्दोलन लगायतका बिभिन्न आन्दोलनहरुकृषि क्रान्तिसंग सम्बन्धित तथा अन्तर सम्बन्धित थिए । कृषि क्रान्तिले मुलुकको राजनीतिक सामाजिक क्रान्तिहरुको उद्देश्यलाई सम्बोधन गर्दछ ।कृषि तथा पशुजन्य पदार्थको उत्पादनमा उल्लेख्य वृद्धिले कृषि क्रान्ति भएको आभाष भएपछि मात्र”समृद्ध नेपाल, सुखी नेपाली“को नारा सार्थक हुनेछ ।

हाम्रो देशमा सबै किसिमको हावापनी पाइने भएकोले यहाँ सबै किसिमका कृषि उपजहरु उत्पादन गर्न सकिन्छन ।हाल कोभिड १९को कारणले विदेशीएको जनशक्ति पनि उपलब्ध भएकोले समृद्ध मुलुकको लागि कृषि नै प्रमुख तथा उत्तम विकल्प रहेकोले नेपालमा कृषि क्रान्तिको लागि उचित वातावरण तयार भएको छ ।

नेपालको भू उपयोगको अवस्था हेर्दा खेती गरिएको जमिन ३०९१००० हेक्टर (२१%), खेती नगरिएको १०३०००० जमिन हेक्टर(७%), वनजंगल ४२६८००० हेक्टर(२९%),झाडी १५६०००० हेक्टर(१०.६%), चरन खर्क १७६६००० हेक्टर(१२%),पानी ३८३००० हेक्टर(२.६%) र अन्य २६२०००० हेक्टर(१७.८%) रहेको छ ।

हावापानीको दृष्टिकोणले नेपाल एउटा अच्म्मको देश हो । यहाँ उच्च हिमालको ठण्डा ट्रुण्डा हावापानीदेखि तराईको उष्ण प्रदेशीय हावापानी पाइन्छ । यहाँ सबै भन्दा बढी वर्षा पोखरामा ३३४५ मी.मी. र सबै भन्दाकम वर्षा मुस्ताङ्गमा ३०० मी.मी. एवं वार्षिकऔसत वर्षा १६०० मी.मी. हुन्छ । यहाँ मुख्य वर्षा असारदेखि भाद्रसम्म हुन्छ । यहाँ साना ठुला छ हजार भन्दा बढी नदीनालाहरुबाट बर्षेनी १७ देखि २२५ अर्व क्यूविक मिटर पानी बग्दछ । नेपालमा सम्पूर्ण कृषि भूमीमा बाह्रै महिना सिंचाई गर्न ३५ अर्व क्यूविक मिटर पानी आवश्यक पर्दछ ।

नेपालको हावापानी अनुसार तराई अन्नको भण्डार, पहाडलाई फलफूल खेती र उच्च पहाड तथा हिमाली क्षेत्रमा पशुपालन भएपनि न तराईका क्षमता अनुसारको अन्न उब्जाउन सकेको छ, न पहाडमा फलफूलको विकास भएको छ न उच्च पहाड तथा हिमाली भेगमा पशुपालन गर्न सकिएको छ । संभावनाहरुको पहिचानको लागि उचित योजना बनाउनु आवश्यक देखिन्छ । सबै साधन श्रोतहरु मध्ये मानव साधन तथा जनशक्ति महत्वपूर्ण मानिन्छ ।विश्वव्यापी कोरनाको महामारीले बिदेशीएको जनशक्ति स्वदेश फर्केका छन । यिनीहरुको लागि सजिलो गर्न सकिने पेशा व्यवसाय पनि कृषि नै देखिएको छ ।देश भरी नै खेतवारी बाँझै रहेको एकातिर छ भने अर्कातिरखानपिनमा आयातित संस्कारहरुले निकै उतार चढाव आएको छ । खाने परिकार तथा खाने वानी फेरिएको छ । पोषण युक्त खाने कुराको उपभोगमा जोड दिइएको छ । हामीले जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यसको उपभोग नगरी उच्च पहाडी क्षेत्रमा आलु, उवा, कागुनो, चिनो, कोदो, फाफर उत्पादन हुन्छ भने त्यहाँ भात खाने परम्परागत परिकार नखानाले खाद्य सुरक्षामा संकट पैदा भएको छयसलाई समयमै ध्यान दिनु आवश्यक छ ।

कृषि उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जमिन हो । जमिनलाई न त फराकिलो पार्न सकिन्छ न खुम्चाउन नै सकिन्छ ।कृषि कार्य एउटा उत्पादन कार्य भएकाले उत्पादनका साधनहरु जमिन, श्रम, पुँजी र संगठनको प्रयाप्त उपलब्धता हुनु अपरिहर्यछ ।

नेपालमा कृषि क्षेत्रको औपचारिक रुपमा विकासको शुरुवात विसं १९७८ सालमा कृषि अड्डाको स्थापना भएपछि मानिन्छ ।औपचारिक रुपमा कृषि क्षेत्रको विकासको शुरुवात भएको एक शताब्दी हुन लाग्दा सम्ममा पनि कृषिमा आत्मनिर्भर हुनको सट्टा परनिर्भरता दिनानुदिन बढ्दै गइरहेकोले कृषि क्रान्ति अपरिहार्य रहेको कुरालाई नकार्न सकिदैन ।

(३) किसान आन्दोलनको इतिहास

वि.सं. १८६१सालमा गुठी, विर्ता, किपट जग्गाको विवरण तयार गरी १८६२ सालमा ती जग्गा जफत गरिएको घोषणा गरियो । आफ्नो बिर्ता खोस्दा बिर्तावालहरुले विद्रोह गरेको थियो।यसलाई बासठ्ठी हरण भनिन्छ ।
वि.सं. १९३६/३७ सालमा सावाँ र व्याज तिर्न नसकि किपट जमिन गुमाउनु पर्दा लिम्बुहरुले बिरोध गर्नु परेको थियो ।
वि.सं. १९७७ सालमा सुब्बा कृष्णलाल श्रेष्ठले मकै खेती लेखेर किसान आन्दोलन उठान गरेको थियो ।
वि.सं. १९९६/९७ सालमा योगमायाका बाणीहरु र विद्रोहले किसान आन्दोलन उठान गरेको थियो ।
वि.सं. २००५ सालमा बेठ प्रथा उन्मूलन आन्दोलन शुरु भएको थियो ।
वि.सं. २००७ सालमा किसान संघको स्थापना भएको थियो ।
वि.सं. २००८ सालमा भूमि सुधार घोषणा भएको थियो ।
वि.सं. २००९ सालमा रौटहटमा “तम्सुक फट्टा“ आन्दोलन शुरु भएको थियो ।
वि.सं. २००९ सालमा भूमि सुधार कमिशन गठन भएको थियो ।
वि.सं. २०१० सालमा भीमदत्त पन्तको नेतृत्वमा” कि जोत हलो, कि छोड थलो, होइन भने अव छैन भलो ”ऐतिहासिक किसान आन्दोलनशुरुवात भएको थियो ।
वि.सं. २००९/२०१२ सालसम्म किसान आन्दोलन सशक्त रुपमा उठेको थियो ।
वि.सं. २०१३ सालमा भूमि सुधारका केही कार्यक्रम घोषणा गरिएको थियो ।
वि.सं. २०१४ सालमा भूमि सुधार ऐन जारी गरिएको थियो ।
वि.सं. २०१६ सालमा बिर्ता उन्मूलन ऐन जारी गरिएको थियो ।
वि.सं. २०१६ सालमाखनियाँबास धादिङ्गमा सामन्ती शोषण उत्पिडन विरुद्ध गरीब किसान विद्रोह गरिएको थियो ।
वि.सं. २०२१ सालमा चितवन पुनर्वास र सुकुम्बासी व्यवस्थापन आनदोलन गरिएको थियो ।
वि.सं. २०२१ सालमा भूमि सम्बन्धी ऐन जारी गरिएको थियो ।
वि.सं. २०२३ सालमा नवलपरासीको परासी र रुपन्देहीको अजगरामा भएको किसान आन्दोलन गरिएको थियो ।
वि.सं. २०२८ सालमा झापा आन्दोलन किसान क्रान्ति गरिएको थियो ।
वि.सं. २०३४ सालमा चेपाङ, दलित, गरिब, सुकुम्बासीहरुद्वारा चितवनको जुगेडी संघर्षको आन्दोलन गरिएको थियो ।
वि.सं. २०३६/३७ सालमा धनुषा लगायतका जिल्लाहरुमा “भकारी फोर“ आन्दोलन गरिएको थियो ।
वि.सं. २०३६सालमा धनकुटाको छिन्ताङ र २०३७ सालमा सिन्धुपाल्चोकको पिस्कर महादेव मन्दिरमा संगठित किसान आन्दोलन नेपाल कम्युनिस्ट पाटीको नेतृत्वमा गरिएको थियो ।
वि.सं. २०४६साल पछि पुन: एकपटक किसानहरुमा जमिनमाथिको स्वामित्व हुनु पर्ने भावना जागे थियो ।
वि.सं. २०५२साल फाल्गुन १ देखि शुरुवात भएको माओवादी जनयुद्ध तथा सशस्त्र संघर्षमा देश व्यापी रुपमा किसानहरुलाई आन्दोलनमा समावेश गराई जमिन कब्जा, कमैयालाई पुनर बास गराउने, कृषकहरुलाई कृषि ऋणबाट मुक्त गर्ने लगायतका किसानका मुद्धाहरु उठाएका थिए ।
(४) आयातको अवस्था :

चामल वार्षिक करिब ३० अर्ब, गुन्दुक करिब १ अर्व,फलफूल, तरकारी, मसला, तेल, सामुद्रिक माछा वार्षिक करिव ३० अर्ब, मासु जन्य पदार्थ करिब २.५ अर्ब र वार्षिक कुल कृषि जन्य पदार्थ करिव ६० अर्ब भन्दा बढीको आयात भैरहेको अनुमान गरिएको छ ।

(५) खाद्यान्नको असुरक्षाको अवस्था :

३४ जिल्लामा खाद्यान्नको असुरक्षा रहेको छ । देशको कतिपय भागमा आन्तरिक उत्पादनले ६ महिनासम्म पनि खान पुग्दैन तर सन १९८० को दशक सम्म नेपालले खाद्यान्न निर्यात गर्दथ्यो ।

(६) कृषि क्षेत्रका समस्याहरु :

नेपालमा रोजगारी, राष्ट्रिय आय, पुँजी निर्माण, बैदेशिक व्यापार, औद्योगिक कच्चा पदार्थ आदिकोलागि कृषि क्षेत्र अपरिहार्य रहेतापनि यस क्षेत्रको उचित विकास हुन सकेको छैन । नेपालको कृषि तन्त्र पछाडि पर्नुका कारणहरु निम्नअनुसार रहेका छन् ।जस्तै :

कृषि कर्म गर्ने किसानसंग आवश्यक जमिन नहुनु र कृषि नगर्ने जमिन्दारसंग जमिन हुनु, युवा जनशक्ति विदेश पलायन हुनु, शिक्षित युवायुवतिहरुको आकर्षणको पेशा हुन नसक्नु, विशेषज्ञता हासिल गरेका युवायुवतिहरुले पेशाको रुपमा नलिनु वा कृषि तथा भेटेरिनरी विषयलिई उच्च शिक्षा हासिल गरेकाहरुको जागिर खानेवा बिदेश जाने लक्ष हुनु,सिंचाई सुबिधाको कमी, परम्परागत प्रविधि, खेत गोठमा प्राविधिक सेवा उपलब्ध नहुनु कृषि कर्जाको अभाव, बढ्दो जनसंख्याको चाप, बजार सुबिधाको अभाव, कृषि अनुसन्धानको कमी, भौतिक पूर्वाधारको अभाव, उपलब्ध साधन श्रोतको प्रभावकारी उपयोग नहुनु, उचित सरकारी नीतिको अभाव उत्पादन लागत उच्च हुनु, उत्पादन सामाग्रीको उपलब्धता प्रयाप्त नहुनु, उत्पादित बस्तुले बजारमा उचित मुल्य नपाउनु, सबै उत्पादनहरुको बीमा सुविधा नहुनु,उत्पादनका आधारमा अनुदान उपलब्ध नहुनु आदि ।

(७) अवसरहरु

नेपालको संविधान नै समाजवाद उन्मुख रहेकोले कृषि क्रान्तिको लागि उपयुक्त रहेको
वामपन्थी विचारधाराको दुई तिहाई बहुमतको सरकार हुनु
संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहामा सरकारको उपस्थिति हुनु
करिब ५ प्रतिशत घरपरिवार भूमीहिन भएकाले श्रम आपूर्तिमा सहभागी गराउन सकिने
करिब ४ प्रतिशत ठुला किसान संग करिब २२ प्रतिशत जमिन हुनु
कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत हुनु
कृषि पेशामा संलग्न जनसंख्या ६०.४प्रतिशत ( कृषि पेशामा संलग्न महिला ७२.८ प्रतिशत र पुरुष ६०.२ प्रतिशत हुनु )
कृषि कार्य गर्नेलाई आवश्यक जमिन उपलब्ध गराउन
औद्योगिकरण गरी रोजगारीको सुनिश्चितता हुने
कृषि उद्योगको विकासको प्रचुर संभावना हुने
जमिनमा रहेको निजी स्वामित्व खारेज गरी जमिनको स्वामित्व राज्य मार्फत सम्पूर्ण नगरिकमा हुने
जल, जमिन, जंगल, जडिबुटी, खनिज पदार्थ लगायतका प्राकृतिक साधन स्रोतमाथि निजिकरणको अन्त्यगर्न
अधिकाँश नागरिकहरु भीरपाखा खोच खोला नाला किनार लगायतका असुरक्षित ठाउँमा बसोवास भएकोले उनीहरुलाई सुरक्षित ठाउँमा बसोबास गराउन वा सम्पूर्ण नागरिकहरुलfई राज्यबाट व्यवस्थित आवासको व्यवस्था हुने
स्थायी रुपमा घरबाँस विहिन, भूमीहिन तथा सुकुम्बासी समस्याको अन्त गर्न
स्वदेशमा नै कृषि उत्पादन तथा कृषि उद्योग स्थापना गरी रोजगार सिर्जना गरी बेरोजगारी अन्त गर्ने
खाद्यान्नमा आत्मनिर्भर हुदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने
कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने
जसको जोत उसको पोत कार्यान्वयन गराउन
”कित जोत हलो, कित छोड थलो, होइन भने अव छैन भलो”किसान नेता भीमदत्तपन्तद्वारा शुरु गरिएको अभियानलाई पूर्णता दिन वा हालसम्मका क्रान्तिमा होमिएका शहीदहरुको सपना साकार पार्न वा नेपाली क्रान्ति पुरा गर्नको लागि तथा हालसम्म भएका विभिन्न क्रान्तिको अन्त्य गर्न
योजनावद्ध शहरी बसोबास गराउन
हरेक नागरिकहरुलाई काम अनुसारको पेन्सन दिन
मुलुकमा सुशासन कायम हुन गई भ्रष्टचारन्यूनिकरण हुने
मुलुकमा सामाजवादको लागि आधार स्तम्भ तयार हुने
कृषि प्रधान देशको सार्थकता हुने
समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पर्न सक्ने दरिलो माध्यम हुनेचुनौतिहरु
जमिनको राष्ट्रियकरण गरी सरकारको स्वामित्वमा ल्याउन वा जमिन्दारहरुलाई जमिनबाट अलग्याउन
व्यक्तिको जमिन सुपथ मूल्यमा सरकारले खरिद गरी सामुहिक खेतीमा प्रयोग गर्न
भूमिको कारोबार निजी तवरबाट बन्द गरी सरकारी तवरबाट गर्न
भू माफियाबाट भूमिलाई अलग गर्न
जमिनको चक्लाबन्दी गर्न
खेती योग्य जमिनमा भइरहेको प्लटिङ्ग कार्य बन्द गर्न
कृषि शिक्षालाई प्राथमिकतामा राखी अध्ययन अध्यापन गराउनु
क्रान्तिकारी भू उपयोगको नीति तर्जुमा तथा कार्यान्वयन गर्न
हरेक स्थानीय तहमा कृषिको लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न
सबै ठाउँमा यान्त्रिकीकरणको प्रयोग
कृषिमा सहुलियत ऋणको व्यवस्था
परम्परागत कृषिबाट व्यवसायिक कृषि अपनाउन
युवाहरुलाई विदेश पलायन हुनबाट रोकी कृषि पेशामा आकर्षित गराई पेशामा अड्याई राख्न
जलवायु परिवर्तन अनुकुलन
सबै राजनीतिक दलहरुलाई कृषि क्रान्तिको लागि एउटै मोडलमा सहमत गराउन(९)अवको बाटो
कुनै पनि मानिसले जन्मदाखेरी नै कुनै पनि सम्पत्ति लिएर आएको हुनैन । राजनीति र सामाजिक व्यवस्थाले निजलाई सम्पत्तिको मालिक बनाएको हुन्छ ।नेपालमा कृषि क्रान्ति गर्नको लागि हाल विद्यमान कृषि प्रणाली र संरचनालाई पुरै बदल्नुको विकल्प छैन ।यही कार्यक्रम नीति र संरचना भित्र रहेर कृषि पेशा न खतम नै हुन सक्छ न यो राम्रो नै हुन सक्दछ ।यसकारण राज्यले कृषिमा आमूल परिवर्तन गर्न आवश्यक छ । यसको लागि निम्नलिखित कुराहरु अवलम्बन गर्नु अपरिहार्य छ :

नेपालमा कृषि क्रान्तिको लागि निम्न लिखित कुराहरुमा निम्न अनुसार गर्नु पर्ने हुन्छ ।
हरित क्रान्ति (Green Revolution) :नेपालमा उत्पादन गरिने प्रमुख खाद्यान्न बालीहरु धान, मकै, गहुँ, जौ, उवा, फापर, कोदोआदिखाद्यान्नको उत्पादनको लागि भौगोलिक वर्गीकरण गरी तराई तथा मधेस पहाड र उच्च पहाडमा गर्ने ।
श्वेत क्रान्ति ( White Revolution) : नेपालमा दूध उत्पादनको लागि उन्नत जातका गाई र भैंसी मध्य पहाडी लोक मार्ग तथा हुलाकी मार्ग र विभिन्न लोक मर्गका कोरिडोर केन्द्रित गर्ने ।
नील क्रान्ति (Blue Revolution) : नेपालको तराई तथा उपत्यका क्षेत्रमा र नदी किनारमा पोखरी बनाई माछा उत्पादन गर्ने ।
रजत क्रान्ति (Silver Revolution) :नेपालको तराई र पहाडी क्षेत्रमा जहाँ यातायात सुविधा पुगेको ठाउँ लेयर्स कुखुरा, हाँस, टर्की, वट्टाई, लौकाट, इमु, शुतुर मुर्ग आदिको पालन गरी व्यापक रुपमा अण्डा उत्पादन गर्ने ।
पीत क्रान्ति (Yellow Revolution) :नेपालको तराई, उपत्यका र पहाडको समथर टारहरुमा तोरी, सर्स्यू, रायो, तील, आलस, बदाम, सूर्यमुखी, अँडेल, फिलिङ्गे आदि तेलहन बालीको खेती गर्ने ।
खैरो क्रान्ति (Grey Revolution) : पशुपालन गरेको स्थानमा गोठेमल र कम्पोष्ट मल एवं अन्य ठाउँमा हरियो मल र गड्यौंला मल उत्पादन गर्ने र तराई क्षेत्रमा रासायनिक मल कारखाना खोली मल उत्पादन गर्ने ।
सुनौलो क्रान्ति (Golden Revolution) :नेपालको विभिन्न भौगोलिक हावापानी अनुसार तराई देखि उच्च पहाड सम्म केरा, मेवा, आँप, कटहर, भुँइकटहर, लिची, ड्राइगन फ्रुट, स्ट्रवेरी, अनार, अंगुर, आरु, आरुवखडा, सुन्तलाजात(सुन्तला,कागती, जुनार, ज्यामिर, चाक्सी, भोगटे ) नासपाती, स्याउ, किवी, तरभूजा, खरबुजा आदि फलफुल उत्पादन गर्ने ।
रक्त क्रान्ति (Red Revolution) : नेपालको मध्यपहाडी लोकमार्गमा बाख्रापालन र तराई र उपत्यकाहरुमा पाडा,बंगुर र ब्रोइलर कुखुरा पालन तथा गोलभेडा खेती गरी मासु र गोलभेडा उत्पादन गर्ने ।
गोलो क्रान्ति (Round Revolution) : नेपालको सबै हावापानी सुहाउदो आलुका जात अनुसार आलु खेती गर्ने ।
उपर्युक्त कृषि तथा पशु जन्य उत्पादन पदार्थ उत्पादन लगायत उच्च पहाडमा याक नाक चौरी च्याङ्ग्रा भेडा पालन गरी ऊन तथा पश्मिना उत्पादन गर्ने ।
कृषि सम्बन्धी पाठ्यक्रमलाई प्राथमिक तह देखि नै सबै तहमा व्यवहारीक कृषि विषय अध्ययनको लागि अनिवार्य बिषयको रुपमापठनपाठन गर्ने व्यवस्था मिलाई कृषि उद्यमी उत्पादन गरी स्वरोजगार बन्ने वातावरण तयार गर्नु पर्ने ।
कृषि अनुसन्धानमा जोड दिनु पर्दछ ।अनुसन्धानबाट शिफारिष भएका प्रविधि अवलम्बन गराउनु पर्नेछ ।कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने गरी निरन्तर नयाँ नयाँ प्रविधिहरुको शिफारिस गरिनु पर्दछ । समस्यामा आधारित अनुसन्धान गरिनु पर्दछ ।अनुसन्धानलाई प्रसार र गोठ खेतसंग जोडिनु पर्दछ ।
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदानको अनुपातमा कृषि क्षेत्रमा बजेट विनियोजन गर्नु पर्दछ । कृषि क्षेत्र राज्यको पहिलो प्राथमिकताको क्षेत्र हुनु पर्दछ ।कृषि क्षेत्रमा बजेटको कमी भएको आभास हुनु हुदैन ।यसले कृषिको विकास र आधुनिकिकरणमा सहयोग पुग्दछ ।
मुलुक भरी नै कृषि कर्मको लागि जमिन किटान गरिदिनु पर्दछ । कृषिको लागि छुट्याएको जमिनमा कृषि कर्मबाहेक अरु कुनै कार्य गर्न नपाउने गराउनु पर्दछ ।
मुलुक भरी नै कुन ठाउँमा कुन खेती तथा पशापलन गर्न उपयुक्त हुन्छ त्यसै ठाउँमा मात्र व्यवसायिक रुपमा खेती गर्न पाउने व्यवस्थाको लागि पकेट क्षेत्र निर्धारण गरिनु पर्दछ ।
कृषिको लागि छुट्याएको जमिन वा स्थानसम्म कृषि कार्यकोलागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारको निर्माण सरकारले गरिदिनु पर्दछ ।कृषि तथा पशु सेवा प्रवाह गर्ने विज्ञ प्राविधिक सेवा केन्द्र, वर्षभरी सञ्चालनमा आउने सडक, अभिछिन्न रुपमा उपलब्ध हुने विद्युत सुविधा, कोल्ल स्टोर, खाद्यान्न भण्डार, संकलन केन्द्र, कृषि तथा पशुपन्छी हाटबजार आदि ।
कृषिसंग सम्बन्धित विशेषज्ञ प्राविधिक कर्मचारीहरुलाई कृषकको खेत र गोठमा नै गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध हुने गरी उच्च मनोबलका साथ खटाउनु पर्दछ ।
कृषि कर्म सञ्चालन हुने क्षेत्रमा राज्यले नै कृषि सामाग्रीहरु सरल सुपथ मुल्यमा उपलब्ध हुने गरी पसलहरु खोलिदिनु पर्दछ ।
उपयोग हुन नसकेको जमिनको उपयोगको लागि भूमी बैंक स्थापना गरी कृषि कर्म गर्ने लाई जमिन लिजमा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्दछ वाजमिनको हदबन्दी पुनरावलोकन गरिनु पर्दछ ।हदबन्दी भन्दा बढी जमिनको लागि भूमी बैंकमा जम्मा गरी कृषि कर्म गर्ने उद्यमीलाई लिजमा दिने व्यवस्था मिलाउनु पर्दछ । जमिनलाई बाँझो राख्न नपाउने र अवदेखि जमिन खरिद बिक्री व्यक्ति व्यक्ति बीच गर्न नपाउने र जमिन बिक्री गर्नु पर्दा सरकारले व्यक्तिको जमिन खरिद गरी सामुहिक खेती गर्ने व्यवस्था मिलाउनु पर्दछ । हदबन्दी भन्दा बढी भएको जमिनदारको जमिन राष्ट्रियकरण गरी जमिनलाई सरकारको स्वामित्वमा राखी सामुहिक खेती गर्ने नीति आवलम्बन गरी कार्यान्वयन गर्नु पर्दछ ।सम्पूर्ण जमिनलाई व्यक्तिगत स्वामित्वबाट अलग गर्ने नीति अवलम्बन गर्नु पर्दछ ।
सरकारले बसोबास क्षेत्र घोषणा गर्ने र व्यक्तिलाई आवश्यक पर्ने घर घडेरीको लागि आवश्यक जमिन सरकारले नागरिकको अवस्था हेरी निशुल्क वा न्यूनतम शुल्क लिई उपलब्ध गराउने व्यवस्था गर्नु पर्दछ ।
खेती योग्य जमिनमा हुने प्लटिङ्गलाई पूर्णतया बन्द गर्नु पर्दछ ।
कृषि कर्मको लागि आवश्यक जमिन व्यक्तिलाई लिजमा उपलब्ध गराउने व्यवस्था सरकारले गर्नु पर्दछ ।
नागरिकको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्दछ ।
हरेक कृषि उत्पादनमा उत्पादनमा आधारित अनुदान दिनु पर्दछ ।
हरेक कृषि कर्मलाई सहकारीसंग जोड्नु पर्दछ ।सहकारीहरुलाई सकृय बानउनु पर्दछ । कृषि सम्बन्धी उत्पादन सामाग्री, सेवा, सुविधा, उत्पादन विविधिकरण, विक्री वितरण तथा बजारिकरणको मूल नेतृत्व सहकारीहरुलाई दिनु पर्दछ ।
कृषकहरुलाई आवश्यक तालीम दिने कृषक भ्रमण गराउने बजार विश्लेषणमा दक्ष बनाउने आदि विषयक तालीम सरकारले दिनु पर्दछ ।
सरकारले सबै कृषि उत्पादनको न्यूनतम बजार मूल्य तोकिदिनु पर्दछ ।कृषि उपजलाई न्यूनतम मूल्यभन्दा कममा विक्री गर्न नपाउने यदि बिक्री भएन भने सरकारले किनिदिनु पर्ने र न्यूनतम मूल्य भन्दा बढी मूल्यमा कृषकले बिक्री गर्न पाउने व्यवस्था मिलाउनु पर्दछ ।
कृषिमा विचौलियाको अन्त गर्नु पर्दछ ।
वार्षिक उत्पादन लक्ष तोकिदिनु पर्दछ ।उत्पादनको आधारमा अनुदान दिने, पुरस्कार दिने, विदेश भ्रमण गराउने आदि सुविधा उपलब्ध गराउनु पर्दछ ।
निर्यात योग्य कृषि उपजहरुलाई निर्वाध रुपले गन्तब्यमा पुर्‍यउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनु पर्दछ ।
सम्पूर्ण कृषि उत्पादन परियोजनाको बीमाको व्यवस्था सरकारी अनुदानमा गरिनु पर्दछ ।
कृषिलाई आफ्नो पेशा बनाउने कृषकलाई मात्र किसान परिचय पत्र दिनु पर्दछ त्यसको योगदानको आधारमा निजलाई आवश्यक सेवा सुविधाहरु प्रदान गर्नु पर्दछ ।
व्यवसाय सञ्चालन गर्न किसानले जुन सुकै बैंकमा आफ्नो व्यवसाय धितो राखी वा समूह, समिति, सहकारीको जमानतमा सरल व्याजदरमा कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्दछ ।
गोठेमल, कम्पोष्ट माल, हरियोमल, गड्यौला मलको प्रयोग अत्यधिक बढाउने र रासायनिक मल कारखाना मुलुक भित्र खोल्ने व्यवस्था मिलाउनु पर्दछ ।
कृषिको लागि आवश्यक पर्ने कृषि सामाग्रीहर तथा कृषि मेशिनरी सामाग्रीहरु उत्पादन गर्ने कारखाना स्थापना गर्नु पर्दछ ।
कृषि तथा पशुजन्य पदार्थको उत्पादन भएपछि कृषि तथा पशुजन्य उद्योग सञ्चालनको लागि आवश्यक कच्चा पदार्थ आपूर्ति हुने भएकोले कृषि तथा पशुजन्य उद्योगको विशेष स्थान तोकी उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
स्थानीय सरकारले आवश्यकता अनुसार कृषि बजार व्यवस्थापन गर्नु पर्दछ ।उपभोक्ताहरुलाई कृषि बस्तु सुपथ मुल्यमा बिक्री वितरण गर्ने संयन्त्रको विकास गर्नु पर्दछ ।
कृषि कर्मबाट बचतको सुनिश्चितता गरी “कृषि मुलश्च जीवनम्” भनाई लाई सार्थक तुल्याउनु पर्दछ(१०) निष्कर्ष
नेपाल विश्वकै विविध भौगोलिक बनावट र जैविक विविधताले सम्पन्न मुलुकको रुपमा चिनिन्छ । यहाँका धेरै संभावनाहरु मध्ये कृषि विकासको सम्भावनालाई नेपाली आवश्यकतासँग जोडेर अगाडि बढनु आजको आवश्यकता हो । समुन्नत राष्ट्र निर्माणको लागि कृषिभित्रको महत्वपूर्णहरु खाद्यान्न वाली, तरकारी, फलफूल, दूध, मासु, अण्डा आदिको उत्पादन र उत्पादकत्व बढाउनको लागि असल कृषि अभ्यास अवलम्बन गर्नु अति आवश्यक छ । हावापानी तथा भुमी सुहाउदो खेती गर्नु पर्ने पनि त्यतिकै आवश्यक छ ।जलवायु परिवर्तनले कृषिलाई सबै भन्दा बढी असर पारिरहकोले सोको असर न्यूनिकरणमा ध्यान दिनु पनि त्यतिकै जरुरी छ ।

नेपालमा कृषि क्रान्ति सम्पन्न गर्ने हो भने कुनै पनि नेपाली जोखिमपूर्ण रोजगारीको लागि बिदेशीनु पर्दैन ।कृषिमा व्यवसायिकरण, आधुनिकीकरण, औद्योगिकरण, विविधिकरण भई रोजगार प्रवर्द्धन हुनेछ । मुलुक खाद्यान्नमा आत्मनिर्भर हुदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुनेछ ।यसको माध्यमबाट सबै नागरिकहरुलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य,रोजगारीको व्यवस्था मुलुक भित्र हुन जानेछ ।यसको माध्यमबाट मुलुकमा सुशासन कायम हुदै भ्रष्टाचार नियन्त्रण तथा निर्मुल उन्मुख हुन जाने छ ।गरिब र धनी, हुने र नहुने बीचको दूरी हट्न गई नागरिकहरु नैतिकवान हुन गई असल नागरिक भई नागरिकको दायित्व पुरा गर्न सक्षम हुने छन ।सामाजमा अपराधहरु न्यूनिकरण हुने मुलुकमा सामाजवादको आधार स्तम्भ स्थापना हुनेछ ।किसान आन्दोलनका महानायक भीमदत्त पन्त लगायतका शहीदहरुले जस्तै अवका दिनमा कुनै पनि नेपाली आमाका सपुतले किसान आन्दोलनको नाममा शहिद हुन नपरोस ।

करिव पचास लाख नेपाली विदेशमा छन । कुल गाह्रस्थ उत्पादनको करिव २५% योगदान रेमिटेन्सबाट र सबै भन्दा महत्वपूर्ण योगदान कृषि क्षेत्रको रहेको छ । यसको कुल गाह्रस्थ उत्पादनको करिव २७% योगदान रहेको छ । आर्थिक तथा सामाजिक विकासमा युवाहरुको भूमिकमा महत्वपूर्ण रहेको छ । युवाहरुलाई यस पेशामा आकर्षण गर्ने नीति बनाउनु आवश्यक छ ।कोभिड १९को विश्व व्यापी महामारीले बिदेशमा रहेका लाखौं युवाहरु स्वदेश फर्केका छन । ती युवायुवतीहरु अव विदेशमा सिकेको सीप तथा ज्ञानको प्रयोगबाट स्वदेशमा नै कृषि व्यवसाय तथा कृषिमा आधारित उद्योग सञ्चालन गर्न उत्प्रेरित गर्न सक्नु पर्दछ ।हाम्रा कतिपय ऐन कानून तथा नीति नियमहरु लगानी मैत्री छैनन ।हाल विध्यमान नीतिगत तथा कानूनी अवरोधहरुलाई हटाउनु पर्दछ ।कृषि कर्म गर्नेलाई सरकारले जमिन उपलब्ध गराउन सक्नु पर्दछ । आयातित खानेबानीहरुलाई निरुत्साहित गरी परम्परागत खानेवानीहरुको संरक्षण, सम्वर्द्धन र विकास गरी संस्कृतिको विक्री गर्न सक्नु पर्दछ । यसले कृषि पर्यटनलाई टेवा पूर्‍याउदै आय आर्जनमा बृद्धि हुनुको साथै रोजगारीका अवसरहरुमा समेत बृद्धि हुन्छ कृषि उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जमिन हो यसकारण जोताहालाई जमिन (Land to the tiller) उपलब्ध गराउने तथा जमिनको हदबन्दी पुनरावलोकन गरी हदबन्दी भन्दा बढी जमिनलाई भूमि बैंकमा जम्मा गरी कृषि कर्म गर्ने हरुलाई लिजमा दिने वा सम्पूर्ण जमिन राष्ट्रिय करण गरेर तत्कालै सामुहिक खेती (Collective Farming) गरेर वा सार्वजनिक जमिन कृषकलाई वितरण गरेर वहुआयामिक खेती शुरु गरी उत्पादकत्वमा वृद्धि गर्न सकिन्छ । किसानको कृषि कर्म गरी बचतको सुनिश्चित गर्न सकिन्छ । हाल सरकारले जमिन वाँझो राख्नेलाई जरीवाना लाग्ने नीति अगाडि सारेको छ यो कार्यान्वयनमा आउन सकेमा पनि जमिनको उपयोग नबढेर जरिवाना असुल गर्न सकिने संभावना रहेको छ । यो एउटा सकारात्मक प्रयासको शुरुआत भने अवश्य भएको छ । उत्पादन बढाउनको लागि उत्पादन सामाग्रीहरु (Inputs) जति वढी प्रयोग गरीन्छ त्यति नै उत्पादन हुने वा उपलब्धी हुने (Outputs ) निष्कन्छ ।No inputs, no outputs भन्ने कुरा सधै ध्यान दिनु आवश्यक छ ।यसको लागि एकपटक राष्ट्र निर्माणको लागि हामी सबै नेपालीले हाम्रा पुर्खाहरुले बनाएको पहिचान त्याग बलिदानलाई पुनरजीवित पार्नतथा हाल सम्म गरिएका किसान आन्दोलनहरुको उद्देश्य एवं लक्ष पुरा गर्नको लागि विश्वलाई सन्देश दिन सक्नु पर्दछ ।

आय वृद्धि, गुणस्तरीय मानवपुँजी निर्माण, आर्थिक जोखिम न्यूनिकरण गर्दै बि.सं. २०७९साल सम्ममा अति कम विकसित देशबाट विकासशील देशमा स्तर उन्नति गर्ने र २०८७साल सम्ममा दिगोविकास लक्ष हासिल गर्दै उच्च मध्ययम आयस्तर मुलुकमा स्तरोन्नति हुने सोच पन्ध्रौं पञ्चवर्षिय योजनाले लिएको लक्षलाई पुरा गर्नको लागिनेपाली कृषि क्रान्तिका महान शहीद भीमदत्त पन्तले देखाएको मार्ग दर्शनलाई अपनाउनु अपरिहार्य छ ।किसान आन्दोलनका महानायक शहीद भीमदत्त पन्तको ६८औं स्मृति दिवसको अवसरमा किसान नेता शहीद भीमदत्त पन्त लगायतका सम्पूर्ण शहीदहरु प्रति उच्च सम्मान तथा हार्दिक नमन गर्दछु ।कृषि क्रान्तिको आवश्यकता महत्व र औचित्य आज पनि त्यतिनै सान्द्रभिक रहेकोले नेपाल सरकारले लिएको नारा”समृद्ध नेपाल, सुखी नेपाली“हुने मार्ग कृषि क्रान्ति नै हो यसैमा हामी सबै नेपालीको कल्याण छ ।आम नेपाली किसानको चाहना पुरा होस । किसान आन्दोलनका महानायक शहीद भीमदत्त पन्त अमर रहुन ! कृषि क्रान्ति जिन्दावाद !

जय कृषि !।जय किसान !जय कृषि क्रान्ति!

सन्दर्भ सामाग्री

पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) राष्ट्रिय योजना आयोग नेपाल
श्रेष्ठ, क.चित्र बहादुर, (२०७६ साउन १६ विहिबार)भीमदत्त पन्त र सशस्त्र किसान बिद्रोह, लेफ्ट रिभ्यू अनलाईन
कलौनी, डा पदमराज, ( २७मार्च २०१६), किन आफैलाई पागल भन्थे सहिद भीमदत्त पन्त जसको हत्या आफ्नै मितले गरे, न्यू सेवा अनलाईन
पोखरेल, धर्मेस, (२०७२ जेठ १५) नेपाली बीर बीराङ्गाना तथा राष्ट्रिय व्यक्तित्वहरु, प्रकाशक वैचारिक अभियान
पिटर, नरेन्द्रजंग, ( १अगष्ट २०१३) एउटा अर्को स्पार्टाकस अर्थात भीमदत्त पन्त, व्यूटिफूल फारवेष्ट डटकम
लुहार, नरी राम, ( १अगष्ट २०१३)भीमदत्त पन्तलाई सम्झदा, व्यूटिफूल फारवेष्ट डटकम
केसी, रमेश, साच्चै कृषि क्रान्ति गर्ने नै हो भने, ग्रिन हिल कृषक समूह नयाँपाटी, काठमाडौं एग्रो टाइम्स मासिक पत्रिका, वर्ष २, अंक १, कार्तिक २०७१, पृषठ १३
आमूल परिवर्तनको खाका ( जेठ २०६३) नवदीप प्रकाशन बागबजार, काठमाडौं
सत्याल, संजीव, जनताको घोषणा पत्र भाग १, आर्थिक क्रान्तिको प्रस्ताव,प्रकाशक तिवारीज पिल्ग्रिम्स बुक हाउस ठमेल, काठमाडौं, नेपाल
नेपाली कृषि क्रान्तिको अवधारणा र विधान, २०७५, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी
नेपाल, राजेन्द्र प्रसाद( बैशाख २०७५) आर्थिक समृद्धि चाहना प्रयास र वास्तविकता, प्रकाशक इन्दु शर्मा नेपाल, मनोहरा मार्ग कोटेश्वर, काठमाडौं
बास्तोला, पशुपतिनाथ,(श्रावण २०६६) फ्युजन पुँजीवाद र साम्यवादबीचको सामाजवदी लोकतान्तिक राज्य पुन संरचना र आर्थिक क्रान्तिको अवधारणा, प्रकाशक श्रीमति शान्ति बास्तोला
रातो, झिल्को,(जनवरी -मार्च २०१०)वहस भावी संविधानका अन्तरवस्तुहरु वर्ष १ अंक ३
पौडेल, विष्णु, (वैशाख – जेठ २०६५) नेपालमा कृषि विकासका प्रयास, चुनौति र संभावनाहरु वर्ष ४५ अंक १
हाडा, गम्भिर बहादुर, (असार-श्रावण २०६२)नेपामा कृषि विकासको अवस्था:एक चर्चा, वर्ष ४२, अंक २
बास्तोला, धर्मेन्द्र, ( २३ श्रावण २०७६) नेपालमा कृषि क्रान्ति, यार्सा न्यूज डट कम
बस्नेत, नरेन्द्र, ( २९ असार २०७७ ) यसरी गरौं कृषि क्रान्ति, सेतोपाटी डट कम
ढुंगेल, मुरारी , (१६श्रावण२०७७) नेपालमा कृषिको संभावना, गोरखापत्र अनलाईन
कोइराला, दिनेश कुमार, ( २४ मे २०२०) नेपालमा कसरी हुन सक्छ कृषि क्रान्ति, नेपाल बहस डटकम
मुखको कृषि क्रान्ति कहिले पुरा गर्ने ( २७ चैत्र २०७४) गाउँ शहर डटकम
कृषि तथा पशुपन्छि डायरी २०७७ कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन,ललितपुर

Mirmire online

You might also like