मातेको सडक, लठ्याइएको समृद्धि !
फणिराज नेपाल
राष्ट्रका लागि नागरिकको स्वास्थ्य विशेष महत्वको सवाल हो। हरेक राष्ट्रले नागरिकलाई स्वस्थ्य राख्न ठुलो लगानी गरेका हुन्छन्। यसबाट नागरिकको हितमात्र नभई राष्ट्रलाई पनि उर्जा प्राप्त हुन्छ। यस्तो जनशक्तिबाट ठुला र महत्वका कामहरु सम्पन्न गर्न सकिन्छ। नेपाल पनि अरु देशभन्दा भिन्न हुने कुरै भएन। तर हाम्रोमा खराब अवस्था विद्यमान छ। त्यो अवस्था कुनै महामारी वा नियन्त्रण गर्नै नसकिने विषयबाट भएको होइन। व्यवस्थापन गर्न सकिने मदिराका कारण हामी युवा शक्तिलाई निकम्मा बनाइरहेका छौँ। मदिराको खुल्ला र अव्यवस्थित बजारले देश नै मदिरामय हुने अवस्थामा पुगेको छ। राष्ट्रका ऊर्जाशील नागरिकलाई मदिरा पानमा खुल्ला छुट दिँदा ऊर्जा खेर जाने हुन्छ। त्यस्ता नागरिक बरालिने, घटना, दुर्घटना गर्ने, समाज र राष्ट्रमा अशान्ति गर्ने तर्फ बहकिएर जान्छन्। राष्ट्र र समाजलाई हानी हुने यस्तो अवस्था आउनु ठीक होइन। २०७६ धनुषाको क्षीरेश्वर नपामा विषाक्त रक्सी खाएर तीन दिनमा १८ जना मृत्यु भयो। यसरी मृत्यु भएको यसपटक मात्र हाेइन। यसअघि पनि घरेलु रक्सी पिउँदा मृत्यु भएको समाचार बारम्बार आउने गरिरहेका हुन्। २०६४ सालमा धनुषाको जनकपुरको किशोरनगर क्षेत्रमा घरेलु रक्सी पिउँदा १४ जनाको ज्यान गएको थियो। निगरानी नहुनाले अखाद्य रसायन (केमिकल) हालेर बनाएको रक्सी पिउँदा यसप्रकारका घटना हुने गरेका छन्। युरिया, सल्फर, चप्पल, मोजा र अन्नपात कुहाएर बनाइने घरेलु अवैध रक्सी विषाक्त हुन्छ भन्ने हेक्का नभएर वा छिटो नशा लाग्ने हुँदा निच मारेर २०७३ साल असारमा महोत्तरीका ५ जनाले मृत्युवरण गरे। हालै भारतको आन्ध्र प्रदेशमा पनि मदिराको तलतलमा सेनिटाइजर पिउँदा १० जनाको मृत्यु भएको समाचार आएको छ। भलै हालसम्म नेपालमा यस्तो देखिएको छैन। स्थानीयस्तरमा बनाएको ‘दारु’ अर्थात मदिरा सस्तो पर्ने हुँदा ज्याला-मजदुरी गर्ने र निम्न वर्गका मानिस यसको सिकार भएका छन्। नेपालमा रङ घोल्ने स्पिरिट र युरिया मल प्रयोग गरी बनाइने घरेलु रक्सी सस्तो पर्ने हुँदा स्थानीयहरु त्यस खाले मदिरा प्रशस्त प्रयोग गर्छन्। थोरै खाँदा पनि मात लाग्ने हुँदा सस्ता खाले रक्सी गाउँघर, टोलमा धेरै नै प्रयोग हुने गरेको छ। यत्रतत्र सर्वत्र ! रक्सीको बजार कसरी बढ्दै गइरहेको छ भन्ने खोज्न वा बुझ्न खोज्न कहीँ जानुपर्दैन। सहर बजारका गल्लीमा मात्रै हैन, हरेक गाउँ, सहरका २/४ घरैपिच्छे मदिरा पसल भेट्न सकिन्छ। विद्यालय, मन्दिर, अस्पताल, कार्यालयहरु, सार्वजनिक चोक तथा सार्वजनिक महत्वका स्थान आदि यत्रतत्र जथाभावी मदिरा व्यवसाय संचालनमा रहेको पाइन्छ।
उपत्यका लगायत बाहिरी जिल्लाका कलेज वा विद्यालय नजिकका स्टेसनरी, चमेना गृहमा सुर्ती, चुरोट र मदिरा हुनु सामान्य भइसकेको छ। विद्यालय वरिपरि रहेको पसलमा सुर्ती, चुरोट र मदिरा बेच्ने काम हुनु, तर विद्यालय प्रशासन, व्यवसायी, स्थानीय प्रशासन र समुदाय जिम्मेवार नहुँदा विद्यार्थीहरु नराम्ररी फस्ने गरेका छन्। विद्यालयलाई लक्षित गरेर खुलेका यस्ता व्यवसायप्रति प्रहरी, प्रशासन, अविभावक र विद्यालय सबै मौन देखिन्छन्। यो उनीहरुको मात्र मौनता होइन, राष्ट्र नीति विहीन भएकाे परिणाम पनि हो। नेपालमा मदिराको बजार बढ्दै गइरहेको छ। परम्परागत हिसाबले हेर्दा पनि जातले भेटे, नभेटे पनि घरेलु रक्सी टोलैपिच्छे बनाउने र बिक्री गर्ने गरेको कुरा लुकेको छैन। साथै, हरेक वर्ष विदेशबाट पनि अर्बौंको रक्सी आयात हुने गरेको छ। हिजो खान नहुने भनिएका र हुने भनिएका सबै वर्ग/समुदायले मदिरा उपभोग गर्न थालेका छन्। भारतमा सय जनामा १ जनाले रक्सी पिउँछन् भने नेपालमा सयमा लगभग ४० जनाले रक्सी पिउँछन्। यस हिसाबले हेर्ने हो भने नेपालका करोडभन्दा बढी जनताले रक्सी पिउने गरेका छन् र यो क्रम बढ्दै गइरहेको छ। विश्व स्वास्थ संगठनले २०७३ सालमा प्रकाशित गरेको सर्वेक्षणले नेपालमा १४ वर्षदेखि ६० वर्षका २९ प्रतिशतले मदिरा पान गर्ने गरेको देखाउँछ। अर्थात्, यो अवधिमा मदिरा पिउनेहरूको अझ बढेर गएको आंकलन गर्न सकिन्छ। मुटुदेखि सडकसम्म चिकित्सकका अनुसार स्थानीयस्तरमा उत्पादित रक्सीमा मिथायल अल्कोहलको मात्रा अधिक हुँदा त्यसको सेवनले मानिसमा रगतमार्फत् मस्तिष्क र आँखामा सोझै असर गर्छ। बिर्सन नहुने कुरो के हो भने रक्सीमा मिसाउने अल्कोहल भनेको एक प्रकारको विषालु पदार्थ नै हो। धेरै पिउँदा मानव शरीरमा विकार भरिएर आउँछ। बढी सेवनले शरीरमा बल कम हुँदै जाने, थकान बढ्ने, अक्सिजन कम प्राप्त हुने, स्नायु प्रणालीमा नकारात्मक असर हुने र मस्तिष्कमा घात पर्ने हुन्छ। लामो समयदेखि पिइरहेकाहरुको मुटु र रक्त प्रणालीमा असर गर्छ। त्यस माथि अखाद्य वस्तु मिसाएर गलत तरिकाले बनाइएको मदिराले के मात्र गर्दैन होला ! मानिसको कलेजोले रक्सीको विषालु पदार्थ डिटक्सिफाइ गर्ने भएकाले जति रक्सी खायो, उति नै मात्रामा कलेजोले काम गर्नुपर्ने हुन्छ र यसले भएका सेललाई हानि-नोक्सानी पुर्याउँछ। बढी रक्सी सेवनले मिर्गौलामा पनि नकारात्मक असर गर्छ।
महिला हिंसा, घरेलु हिंसा, यौनजन्य विकृति, अनुशासन हराउने, खाए पछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकता बढिरहेको छ। लठैत स्वभावले प्रश्रय पाउने, सामाजिक संस्कारप्रति उदासीन रहने समस्या पनि मदिराकै कारण भइरहेको छ। सबैभन्दा गम्भीर विषय : सवारी र सडक दुर्घटनाको मुख्य कारण रक्सी सेवन देखिएको छ। कतिपय देशमा राजमार्गबाट निश्चित दुरीमा मात्र मदिराजन्य पदार्थ बेच्न पाइन्छ। मलेसियाकै उदाहरण हेर्ने हो भने राजमार्गको पाँचसय मिटर आसपास रक्सी बेच्न नपाइने कानुन छ। पछिल्लो समयमा रक्सी पिएर सवारी चलाउन नपाइने प्रशंसनीय काम भएको छ। तर, सबै ठाउँमा जाँच पुग्दैन। दुर्घटना भएपछि मात्रै चालकले रक्सी सेवन गरेको थाहा हुने गरेको छ। यसको मूख्य कारण नेपालमा सबैभन्दा बढी रक्सी राजमार्गमा बेचिनु नै हो। पछिल्लो अवधिमा नसर्ने रोगको उपचारमा सरकारको खर्च बढदै गएको छ। जसको कारकमध्ये प्रमुख मदिरा हो भन्ने कुरामा दुईमत छैन। सामाजिक सद्भाव खल्बलिने र भ्रष्टाचारको प्रमुख कारक मदिरा बन्न थालेकोतर्फ कमैको ध्यान जाने गरेको छ। विकासोन्मुख देशका हामी यो पदार्थ व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्रका लागि घातक हुदै गएको मनन गर्नु जरुरी छ। कुनैबेला त लाग्छ : मानिस होइन, सडक मातेको छ। अपर्याप्त कानुन, फितलो कार्यान्वयन मदिराका कारण व्यक्तिमा देखिएको विचलन, उच्छृङ्खलता, फोकटको कमाइजस्तो अस्वस्थकर झोलमा बगेर जाँदा व्यक्तिको स्वास्थ मात्र नभई समाजमा विकृति, विसंगति बढ्ने भएकाले यसको नियन्त्रणका लागि अभियान शुरु गरिएको हो। तर यसमा सरकारको अदूरदर्शीता नै ठूलो कमजोरी बनिरहेको छ।
बिहान १० बजेदेखि राति १० बजेसम्म व्यवसाय संचालन गर्न पाउने कुराले सरकारको नियत नागरिकको स्वस्थ नभएर सरकार चलाउनेको समृद्धि अर्थात् राजस्व कुम्ल्याउने तर्फ देखियो। यस्तो अवस्थाले नेपाल कसरी समृद्ध राष्ट्र बन्ने हो ? के नागरिकलाई मदिरामा लठ्याएर वा खुला छुट दिएर राष्ट्र समृद्ध हुने हो र ? सोचनीय विषय भएको छ। राजश्वसँग साटिएको जनस्वास्थ्य नशाजन्य मदिरालाई खुला छुट दिएर अर्थात् बिहानदेखि नै खाएर मस्त रहौं भन्ने कानुनी प्रावधानले वर्तमान सरकारको समृद्ध नेपाल, सुखी नेपाली नारा कसरी चरितार्थ हुन्छ ? सुर्ती, चुरोट र लागूपदार्थको नियमन भएपनि मदिरा व्यवस्थापनको नियमन अहिलेसम्म नहुनु खेदको विषय हो। यिनै कुरालाई ध्यानमा राखेर, भोगेर, बढदै गएको विकृतिप्रति संवेदनशील भएर विराटनगरमा २०६९ सालदेखि मदिरा व्यवस्थापनको अभियान चलाइएको छ। यो अभियानले व्यवसायीलाई एकीकृत गरेर निश्चित क्षेत्रमा व्यवसाय गर्न सहजीकरण होस् भन्ने ध्येय राखेको छ। यसको व्यवस्थापनको मुख्य जिम्मेवार सरकार नै हो। स्थानीय तथा प्रान्तीय सरकारले पनि नागरिकको स्वास्थ प्रति जिम्मेवार भएर व्यवसाय व्यवस्थित गराउन पहल गर्न सक्छ।
समृद्ध नेपाल सुखी नेपालीको नारा दिने प्रधानमन्त्रीज्यूले नागरिकको स्वास्थ्य नै ठूलो धन तथा समृद्धि हो भन्ने मानी सदासयता देखाउनु जरुरी छ। अत : मदिरा व्यवस्थापनको नियमन बनाउनेतर्फ प्रधानमन्त्रीज्यूको स्वास्थ्यले साथ देओस्। यसबाट मात्र समृद्ध नेपाल-सुखी नेपालीको नाराले सार्थकता पाउला। (लेखक मदिरा व्यवस्थापन अभियन्ता हुन् ।)
Thaha khaber