बर्दघाट र रामग्राममा थप एक एक जनामा कोरोना संक्रमण

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा शनिबार थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बर्दघाट नगरपालिका १२ भटौलिया निवासी २१ बर्षीया महिलामा पिसिआर रिपोर्टमा कोरोना भाइरस पोजेटिभ आएको हो । उनी उनकै आमासँगै उपचारका लागि भारत गएको र एक दिन भारतमै बसेर आएको खुलेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनुभयो । त्यसैगरी संक्रमित महिलाकी आमा बर्दघाट नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खाना खुवाउने काम समेत गर्दै आएकी थिइन । आमाको स्वाब लिने तयारी भएको ज्ञवालीले बताउनुभयो ।
बर्दघाटमा अहिलेसम्म २५ जना संक्रमित पुगेकोमा २२ जना उपचार पछि फर्किएका छन् भने शनिवार थपिएको सहित ३ जना बुटवलका एन्फा क्लब हाउसमा रहेको आइसोलेसनमा राखेर उपचार गरिएको छ ।
बर्दघाट नगरपालिकाले भिडभाड हुने क्षेत्र, भारत गएर फर्किएकासँग सम्पर्कमा आएकाहरु, मुख्य मुख्य चोकहरुलाई आधार मानेर समुदायमा संक्रमण भए नभएको परीक्षण गर्ने गरेको छ ।
त्यस्तै बर्दघाटमा पछिल्लो पटक स्वाब संकलन गरिएको १ सय २५ जना मध्य १ सय १९ जनाको शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो भने शनिबार ६ जनाको रिपोर्ट आउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो । त्यसैगरी बर्दघाट नगरपालिकाले समुदायमा थप ७१ जनाको स्वाब संकलन गरेको जनाइएको छ । त्यस्तै पश्चिम नवलपरासीमा समुदायस्तरमा कोरोना फैलिएको संकेत देखिएको छ । पछिल्लो पटक समुदायस्तरमा गरिएको र्यान्डम टेष्टका क्रममा कोरोना संक्रमण भएको पाईएपछि समुदायमै कोरोना फैलिएको हुन सक्ने आँकलन गरिएको छ । रामग्राम नगरपालिका भित्र ३ जनामा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार मात्रै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा रामग्राम ८ का ६० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज पुगेर फर्किएका उनको पृथ्वी चन्द अस्पताल परासीमा स्वाब संकलन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो । अस्पतालका चिकित्सक पनि संक्रमणको जोखिममा परेका छन् ।

You might also like