डेङ्गुको सङ्क्रमण बढ्दै, म्याग्दीमा ३८, लम्जुङमा नौ सङ्क्रमित

0

भदौ ९ गते ।

देशमा कोरोना सङ्क्रणसँगै डेङ्गुको सङक्रमण पनि बढ्नथालेकाे छ । यसै क्रममा म्याग्दीमा पछिल्लो पटक चार जनामा डेङ्गुको सङक्रमण फेला परेसँगै सङक्रमित सङ्ख्या ३८ पुगेको छ ।

यस्तै लमजुङमा ढेड महिना अवधिमा नाै जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्ष २०७७ /०७८ को साउनदेखि हालसम्म नाै जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख अमर दवाडीका अनुसार डेङ्गु देखिएकोमा महिला तीन जना र पुरुष छ जना रहेका छन् । छोटो समयमै जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको हो । पछिल्लो समय आइतबार र सोमबार एक/एक जनामा डेङ्गु देखिएको छ । आइतबार मर्स्याङदी गाउँपालिका-६ का ४०  वर्षीया महिला डेङ्गु देखिएको छ । सोमबार बेंसीसहर नगरपालिका-१० का ५० वर्षीय पुरुषमा डेङ्गु पुष्टि भएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

यस्तै म्याग्दीमा शरीरका जोर्नीहरू दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याको कारण उपचारका लागि आएका चार जना बिरामीहरूको बेनी अस्पतालमा परीक्षण गर्दा डेङ्गु पोजिटिभ भेटिएको हो । अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार सङ्क्रमित हुनेमा म्याग्दीका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङका ३३ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरका ३३ वर्षीय महिला, रघुगङ्गा गाउँपालिका–२, भगवतीका ६० वर्षीय पुरुष र बेनी नगरपालिका –५, पुलाचौरकी २२ वर्षीय महिला रहेका छन् । सूचना अधिकारी सुवेदीका अनुसार भगवतीका ६० वर्षीय पुरुषलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने तीन जनाको बेनी अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

लमजुङमा चालु आर्थिक वर्षको सुरुवाती महिना साउनमै तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौमा छ जनामा डेङ्गु देखिएको छ । गत वर्ष असार अन्तिममा क्व्होलासोंथर गाउँपालिका वडा नं. २ मालिङ घर भएर बेंसीसहर नगरपालिका वडा नं. ७, घलेगाउँचोक बस्ने २९ वर्षीया महिलामा डेङ्गु देखा परेको थियो । त्यसपछि सङ्क्रमण बढ्दैगएको छ । एडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरीरमा भएको भाइरस मानव शरीरमा सर्ने हुँदा डेङ्गु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

लामखुट्टेको टोकाइबाट यो रोग एक मानिसबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डाखुल्डी र पानी जम्ने बोटल कागज, प्लाष्टिक नष्ट गर्नुपर्ने कार्यालयका प्रमुख दवाडीले बताउनुभयो । सफा ठाउँमा सफा पानीमा लामखुट्टेले सन्तानको वृद्धि गर्ने र यसको बासस्थान शहरी क्षेत्रमा बढी हुने हुने बताउनुभयो ।
सात/सात दिनमा यसको लार्भा उत्पादन हुने भएकाले हरेक सात/सात दिनमा पानि जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने हुन्छ । प्रत्येक घर घरघरबाट टोल टोलबाट लमखुट्टेको बासस्थान खोजेर नष्ट गर्न सकियो भने यो रोगलाई छिटो नियन्त्रण गर्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

Gorkha patra

You might also like