कोरोना विरुद्धको संघर्षमा संयम रहन सरकारलाई कांग्रेसको अपील

0

 ०४ भदौ ,काठमाडौं :

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा संयम रहन सरकारलाई अपील गरेको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अपील गरेका हुन् । विज्ञप्तिमा राजधानीमा निषेधाज्ञाको पहिलो दिनको अवस्थाले जनजीवन कष्टकर बनाए पनि जनताले कोरोनाविरुद्धको लडाईंमा साथ दिएको उल्लेख गर्दै कांग्रेसले यस्तो बताएको हो। ‘देशको राजधानी काठमाडौ उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा छ र यसले समग्र जन जीवनलाई कष्टकर बनाएको छ। नियमित जीवनमा ब्यवधान ब्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने मान्यता पुनः दोहोर्‍याउंदै नेपाली कांग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गर्दछ।’ 

सँगै कांग्रेसले कोरोना नियन्त्रणका लागि लकडाउन या निषेधाज्ञा आफैमा समाधान नभएको भन्दै यी रक्षात्मक रणनीति मात्रै भएकाले विगतका गल्तीलाई सच्याएर अगाडि बढ्न सरकारलाई अग्रह गरेको छ। ‘लकडाउन या निषेधाज्ञा आफैँमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतीतको एक सय बीस दिन लामो लकडाउनले गरिसकेकै छ’, विज्ञप्तिमा थप भनिएको छ, ‘विगतमा गरिएका कमजोरी र गल्तीबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्।’

त्यसैगरी प्रतिपक्षी कांग्रेले देशले अब कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्ति सुन्नु परेको भन्दै आपत्ति जनाएको छ। उसले  फ्रन्ट लाइनमा कार्य गरिरहेका स्वास्थकर्मीदेखि सफाइकर्मीसम्म अनि सुरक्षा ब्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मी सम्मलाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिएको छ। निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्थाकोसमेत सरकारले ख्याल गर्नुपर्नेमा जोड दिएको छ।

Annapurna post

You might also like