कोरोनाले पश्‍चिम नवलपरासीका कांग्रेस उपसभापतिको मृत्यु

0

०२ भदौ २०७७ 

परासी : कोरोना संक्रमणका कारण नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मंगलबार बिहान मृत्यु भएको छ। उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिए।

निमोनियासमेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो। साउन ३० गते पाटन अस्पताल पुर्‍याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेसन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

आफूलाई कोरोना पोजिटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अस्पताल शैयाबाट गिरीले फेसबुकमा स्ट्याटस लेखेर सबैलाई सजग गराएका थिए। बुटवलबाट पाटन अस्पतालमा लैजानका लागि परिवारजनले २ दिनसम्म हेलिकप्टर र एम्बुलेन्स खोजे पनि नपाएपछि गिरी परिवारले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर पाटन अस्पताल पुर्‍याएका थिए।

तत्कालीन फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि गिरी कांग्रेसको जिल्ला उपसभापति बनेका थिए। यसैबीच परासीकै अन्य पार्टीका दुई जना नेतामा कोरोनाको लक्षण देखिएपछि उनीहरुको बुटवल र काठमाडौंमा उपचार भइरहेको छ। पश्चिम नवलपरासीमा समुदाय स्तरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए। हालसम्म जिल्लामा १ सय ४० जनामा कोरोना पोजिटिभ देखिएको छ।

Annapurna post

You might also like