परिवारलाई नै कोरोना : संक्रमित छोरो आइसोलेसनमा, आमाको घरमै मृत्यु

0

साउन ३२, २०७७ काठमाडौं :

विराटनगरस्थित आइसोलेसनमा उपचाररत एक व्यक्तिको परिवारलाई नै कोरोना संक्रमण भएको छ। कोरोना पुष्टि भएपछि गत मंगलबार आइसोलेसनमा भर्ना भएका सरकारी कर्मचारीकी आमाको शनिबार राति मृत्यु भएको छ। कार्यालयको कामको सिलसिलमा ओखलढुंगा पुगेर फर्किएका कृषि निर्देशनालय विराटनगरका ती कर्मचारी र उनका ड्राइभरलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो।

विराटनगर महानगरपालिका-३ प्रतीक मार्ग निवासी प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका उनको आइसोलेसनमा उपचार चलिरहेकै बेला ७४ वर्षीय आमाको घरमै ज्यान गएको हो। ५६ वर्षीय ती छोरालाई ओखलढुंगाबाट फर्किएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो। छोरामा कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिकाको जनस्वास्थ्य शाखाले परिवारकै स्वाब लिएको थियो। जसमा उनकी श्रीमती र छोरामा आइतवार कोरोना संक्रमण पुष्टि भएको छ। उता हिजो ज्यान गुमाएकी ती वृद्धामा भने संक्रमण देखिएको थिएन।  तर अन्य दीर्घ रोग पनि देखिएकी ती वृद्धा कोरोनासँग मिल्दाजुल्दा लक्षण भने देखिएका थिए। उनमा खोकी लाग्‍ने, ज्वरो आउनेसहितका समस्या देखिएको महानगरका कोभिड-१९ फोकल पर्सन हैदर अलीले जानकारी दिएका छन्।  महाशाखाका अनुसार ती अधिकृतसहित ड्राइभर र अन्य दुई अधिकृतहरु यही साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका क्रममा ओखलढुंगा र सोलुखुम्बु पुगेको खुलेको छ। उनीहरुलाई त्यहीँबाट फिरेपछि संक्रमण देखिएको हो। फर्किँदै ज्वरोसहितका समस्या देखिएका उनीहरुले सोमबार कोरोना परीक्षण गराएका थिए।

परीक्षण गराएकामध्ये उनी र चालकमा कोरोना देखिएको थियो भने अर्का अधिकृतको रिपोर्ट नेगेटिभ आएको थियो। आइसोलेसनमा उपचाररत छोराकी आमाको ज्यान गएपछि अहिले घरमा स्थानीयले निगरानी गरिरहेका छन्।  स्थानीयबासी तथा ती अधिकृतका नातेदार कुलमणि बरालले ती अधिकृतका पत्‍नी र छोरालाई पनि संक्रमण पुष्टि भएको बताए। ‘पत्‍नी र छोरामा कुनै लक्षण देखिएको छैन’, उनले भने, ‘अहिले हामी यही घर आसपास छौं। लक्षण नदेखिएकाले आमाछोरा ‘होम आइसोलेसन’ मा रहेका छन्।’ मृत्यु भएकी वृद्धाको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली तयार भइसकेको छ। तर शवबहानको व्यवस्थापन नहुँदा समस्या भएको उनले जानकारी दिए। यसबारेमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको उनले बताएका छन्।

Thaha khaber

You might also like