‘सुन तस्कर’ निलेश भारतीय फिल्म निर्माता

0

श्रावण २१,

काठमाडौँ — सुन तस्करीको अभियोगमा पक्राउ परेका भारतीय नागरिक निलेश सखिया भारतीय फिल्म ‘पेनाल्टी’ का निर्माता रहेको खुलेको छ । हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनले निर्माण गरेको फुटबल खेलाडीको कथामा आधारित सो फिल्म सन् २०१९ जुलाई १९ मा भारतमा रिलिज भएको थियो । क्षमतावान् एक फुटबल खेलाडीलाई क्षेत्रीय र नश्लीय विभेदका कारण कसरी पछि पारिन्छ भन्ने कथा फिल्ममा छ ।

 

चलचित्रलाई शुभम सिंहले निर्देशन गरेका हुन् भने केके मेनन, लुक्रम इस्माइल, शशांक अरोरालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनले लेपन गरिएको साढे १५ केजी चाँदी, करिब ७ सय ५० ग्राम सुन र दुई थान पेस्तोल महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई साउन १३ गते बिहान सुन्धारामा बुझाएर उनीसहितको समूह भागेको थियो । काठमाडौंबाट खटिएको महानगरीय अपराध महाशाखा र पूर्वी नवलपरासी प्रहरीको संयुक्त टोलीले घटनाको भोलिपल्टै दुम्कीबासबाट सखिया, देवानसिंह पटेल र विजय पटेललाई पक्राउ गर्‍यो । बाराका इल्ताफ हुसेन अन्सारी र सञ्जय पटेल फरार छन् ।

काठमाडौं ल्याइएका सखियाले बयानका क्रममा आफूले बनाएको फिल्म घाटामा गएपछि गलत धन्दामा लागेको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनले बरामद सुनचाँदी र हतियार आफ्नो नभई फरार रहेका सञ्जय र इल्ताफको भएको दाबी गरेका छन् । तर स्रोत बरामद सुनचाँदी सखिया र उनका पार्टनर सञ्जयकै भएको र काठमाडौंमा सुनले लेपन गरिएको धातु वीरगन्ज हुँदै भारत पठाउने जिम्मा इल्ताफले लिएको बताउँछ ।

सखिया र फरार रहेका सञ्जय असार २९ मा काठमाडौं आएका थिए । पहिलेदेखि नै तस्करीको धन्दा चलाउन उनीहरूले राजधानीको कमलपोखरी अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर बसेका थिए । फ्ल्याटको भाडा सखियाले ६० प्रतिशत र सञ्जयले ४० प्रतिशत तिर्थे । फ्ल्याटमा इल्ताफ, लाजिम्पाटमा गरगहना सरसफाइ पसल सञ्चालन गर्दै आएका कौशल पटेल र उनका दाजु देवानसिंह पटेल पनि बारम्बार जाने गर्थे । सूचना चुहिन सक्ने भन्दै सखियाले गुजरातबाट विजय पटेललाई भान्सेका रूपमा ल्याएका थिए ।फ्ल्याटमै आउजाउ गर्ने कौशलले पछिल्लो पटक तस्करीबाट भारत लैजान लागिएको सुनचाँदी लुटेर भागबन्डा लगाउने उद्देश्यले घुमुवा कठायत र श्रेष्ठलाई सुराकी दिएपछि घटना बाहिरिएको हो । इल्ताफको बा६च ५५१९ नम्बरको स्कार्पियो जिप वीरगन्ज जाने क्रममा सुन्धारामै घुमुवाको फन्दामा परेपछि सुनचाँदीको झोला दिएर सखियासहित इल्ताफ र सञ्जय भागेका थिए । गाडी ललितपुरको नखिपोटस्थित निर्माणाधीन घरबाट बरामद भएको छ ।

फरार इल्ताफ नेपालमा जाली नोट कारोबारमा पक्राउ परेर कैद भुक्तान गरी चार वर्षअघि छुटेका व्यक्ति हुन् । सञ्जयको पृष्ठभूमि अझै यकिन भइसकेको छैन । पहेँलो धातुले लेपन गरेर सक्कली सुन भन्दै गुजरातमा लगेर बिक्री गर्ने योजनामा सखिया र सञ्जय रहेको स्रोतको भनाइ छ । चाँदीमा लेपन लगाउने काम न्युरोडका कालिगड मनीष मल्लिकले गरेको खुलिसकेको छ । मनीषसमेत पक्राउ गरे पनि अदालतले उनलाई म्याद थप्न मानेन । अहिले सखिया, विजय पटेल, कौशल पटेल, देवानसिंह पटेल, दुई घुमुवा प्रहरी र उनीहरूका सहयोगी उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन् ।

Kantipur

You might also like