विभिन्‍न जिल्लामा करोडौं ठगेर फरार रहेको आरोपमा पक्राउ

0

श्रावण २, २०७७

काठमाडौँ — विभिन्न व्यक्तिहरुलाई ठगेर फरार भएका झापाको दमक नगरपालिका वडा नम्बर ७ का चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ ।झापा, बारा, पर्सा र सर्लाहीका विभिन्न व्यक्तिसँग करोडौं ठगेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक(एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

उनलाई भक्तपुरको गठ्ठाघरमा लुकेर बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको एसपी कार्कीले बताए । आफूलाई मनिष अग्रवाल भनेर चिनाउने जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुरमा उजुरी परेपछि उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जले पक्राउ पुर्जी जारी गरेको थियो । त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता भएकोमा जिल्ला अदालत झापाले पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

जिन्दलले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट जम्मा सात करोड एकासी लाख बयालीस हजार रुपैयाँ बराबरको ठगी तथा बैंकिङ कसुर गरेको खुल्न आएको एसपी कार्कीले जानकारी दिए ।

उनले बारा, पर्साका विभिन्न खाद्यान्न व्यापारीहरुलाई विश्वा्समा लिई उधारोमा खाद्यान्न किनेर काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । उनले झापामा जग्गा कारोबार र हार्डवेयर व्यवसायमा पनि ठगी गरेको प्रहरीले बताएको छ ।

जिन्दललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको पनि एसपी कार्कीले जानकारी दिए ।

Kantipur

You might also like