सिन्धुपाल्चोकमा पहिरोले दुई घर पुरियाे : एकजनाको शव फेला, चार बेपत्ता

0

सिन्धुपाल्चोक, १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एकै परिवारका ४ जना वेपत्ता भएका छन् ।

स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो । उनकी आमा ७० वर्षीया समबुट्टी शेर्पा, बहिनी ३५ वर्षीया सेम्साङ शेर्पा र छोरीहरु १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिनुभयाे ।

गेन्जिङ चालक हुन् । काठमाडौं उपत्यकाबाहिर रहेका उनी पहिरोले घर पुरेको खबर पाएपछि गाउँ फर्किँदै छन् । पहिरोले फुल्पिङकट्टीकै पञ्चकन्या आधारभूत विद्यालयमा समेत क्षति पुर्‍याएको छ ।

अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो । पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिनुभयाे । पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताउनुभयाे ।

यसअघि गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता छन् । बाढीले क्षति पुर्याएर अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुलेको छैन ।

News24Nepal

You might also like