दे.ज.मो.को अभियान जारी : अभियानकर्मीद्धारा सिरहा र सुर्खेतमा सम्बोधन

0

सुर्खेत फाल्गुन १३ – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा जारी मेची–महाकाली अभियान अन्तर्गत पश्चिम कञ्चनपुरबाट सुरु भएको अभियान टोलीले सोमवार कर्णाली प्रदेशको सुर्खेतमा जनसभाको आयोजना गरेको छ । अभियान टोलीले ¥यालीसहित सुर्खेतको पिपल चौतारीमा जनसभाको आयोजना गरेको हो । मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपकबहादुर शाहीको अध्यक्षतामा भएको जनसभालाई नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रीय सचिव परि थापा, पार्टी केस धनेश्वर पोखरेल, हिरामणि दुःखी, भुपेन्द्र न्यौपाने, अनेमसंघ क्रान्तिकारी की केस कमला चन्द लगायतले सम्बोधन गर्नुभयो । कार्यक्रमलाई स्वागत पार्टी केस तथा कर्णाली प्रदेशका का.वा. सचिव कृष्ण गुरुङले गर्नुभएको थियो । सभामा उल्लेख्य रुपमा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो। त्यस्तै पूर्वी टोलीले सिरहामा आयोजना गरेको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्र आफूहरुको मुद्दा नभएको बताउँदै संघीय जनगणतन्त्रका लागि सडक संघर्ष गर्ने बताउनुभएको छ । अध्यक्ष गजुरेलले सोमवार सिरहाको कल्याणपुरमा भएको जनसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभयो । उहाँले मधेसी उत्पीडित जनतालगायत सबै उपेक्षित तथा उत्पीडित श्रमजीवी जनताको वास्तविक मुक्तिका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको कुरा पनि बताउनुभयो। अध्यक्ष गजुरेलले राष्ट्रिय स्वाधीनता गम्भीर संकटतर्फ धकेलिएको चर्चा गर्दै राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाका लागि पनि नेपालमा अब नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको चर्चा गर्नुभयो । सभालाई स्थानीय वक्ताको रुपमा मोर्चाका केस तथा २ नं. प्रदेश सचिव रामनारायण सिंह ले सम्बोधन गर्नुभयो । यसअघि जिल्ला सदरमुकाम सिरहामा भएको सभालाई क्रान्तिकारी माओवादीका पीविएम तथा २ नं. प्रदेशका सचिव कृष्णदेव सिंह दनुवारले सम्बोधन गर्नुभएको थियो ।

You might also like