मालिका गाउँपालिकाको योजना : गाउँमै कमाउने, गाउँमै रमाउने

0

असार १२, २०७७

म्याग्दी : मालिका गाउँपालिकाले काम र रोजगारीको अवसर सिर्जना गर्ने गरी भूमि बैंकको स्थापना गरेको छ। कोरोना भाइरसको महामारीका कारण रोजगारी खोसिएपछि गाउँ फर्किने युवा तथा महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिकाभित्र बाँझो जमिनलाई सदुपयोग गर्न भूमि बैंक स्थापना गरिएको हो। ‘मालिका कमाउँ, मालिका मै रमाउँ’ अभियानअन्तर्गत सामूहिक व्यवसायका लागि बाँझो जग्गा प्रयोग, पकेट क्षेत्र, औजार खरिदलगायत विभिन्न उत्पादनमुखी क्षेत्रमा सघाउने गरी ८५ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले जानकारी दिइन्। उनले भनिन्, ‘गाउँ फर्किएकालाई गाउँमै रोक्ने अभियान छ, अब कृषि र पशुपालनमा अनुदानलाई प्रोत्साहन गर्छौं।’ गाउँपालिकाले केही वडामा बाँझो जमिनको सदुपयोग सुरू गरिसकेको छ। बुधबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा बसेको सातौं गाउँसभाले आर्थिक वर्ष २०७७/७८ का लागि ४१ करोड ५४ लाख १० हजार ९४९ रुपैयाँ बराबरको बजेट पारित गर्दै कृषि, पशुपालनका साथै पर्यटनको क्षेत्रमा समेत उच्च प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। ‘अब सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित नगरी समृद्ध गाउँपालिका बनाउन सकिँदैन,’ अध्यक्ष रोकाले भने, ‘यसपटक रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिएका छौं। गाउँपालिकाभित्र उत्पादित बस्तुको बजारीकरणमा समेत सघाउँछौं।’ गाउँपालिकाले १३ करोड ६५ लाख पुँजीगत र ५ करोड ५० लाख रुपैयाँ चालुतर्फ विनियोजन गरेको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा बजेटलाई उच्च प्राथमिकता दिए पनि रोजगारमुलक अभियानलाई विगतमा जस्तो हेलचेक्र्याइँ नगरिएको भन्दै बजेट कार्यान्वयनले समेत थप सहज हुने जनप्रतिनिधिको भनाइ छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले पर्यटन क्षेत्रतर्फ मालिका–५ हकलानडाँडामा बुद्ध स्तुपाको निर्माण र प्रसिद्ध मालिका मन्दिरमा कलात्मक मूर्तिसहित सम्रग गाउँपालिकाभित्रको पर्यटन विकासमा ६३ लाख ७० हजार विनियोजन गरिएको बताए। त्यस्तै दरबाङको छ्यारछ्यारेमा निर्माणाधीन अवस्थामा रहेको खेलमैदानलाई प्रदेशस्तरीय साझेदारी कार्यक्रमअन्तर्गत ५० लाख, विषद् कोषमा १ करोड ७६ लाख १३ हजार विनियोजन गरिएको छ।

Thaha khaber

You might also like