मुख्यमन्त्री द्वारा बर्दिया जिल्लाका सरोकारवाला संग भिडियो संवाद

0

बुटवल १० बैशाख : कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे बुधबार मुख्यमन्त्री शंकर पोखरेलले बर्दियास्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्रीले गर्नुभएको यो आठौैं भिडियो संवाद हो । आजको सर्वपक्षीय भिडियो संवादमा बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेम खनाल, बर्दिया जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु, नेकपा बर्दिया इञ्चार्ज लक्ष्मण ज्ञवाली, कांग्रेस जिल्ला सभापति सञ्जय गौतम र नेकपा बर्दियाका अध्यक्ष भुवन थारु सहभागी हुनुभयो ।
भिडियो संवादमा सहभागीहरुबाट बर्दियामा कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका काम र आगामी दिनमा गर्नुपर्ने कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेर कडाई गरिएको जानकारी दिदै पहिलो चरणमा स्वास्थ्य सामग्री पठाइएको अब उपलब्ध गराउँदे जाने बताउनुभयो । उहाँले चिकित्सकसहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काममा खट्न प्रेरित गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिनुभयो ।
उहाँले स्थानीय तहलाई कोरोना विरुद्धको काम अघि बढाउन रक पठाएको र जिल्ला विपद व्यवस्थापन समितिलाई रकम पठाउने आज निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले राहत संकलन र प्रदान एकद्दार प्रणालीबाट अघि बढाउन आग्रह गर्नुभयो । सामाजिक दुरी कायम गरी स्थानीय श्रमलाई प्रयोग गरी गर्न सकिने विकास निर्माणका काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उहाँले जानकारी गराउनुभयो । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उहाँले बर्दियामा सामुदायिक क्वारेन्टाइन बनाउन थालिएको विषय प्रशंसनीय भएको बताउनुभयो ।
भिडियो संवादमा सहभागीहरुले ¥यापिड टेस्टको संख्या बढाउन, स्वास्थ्य सामग्रीको आपूर्ति बढाउन, स्वास्थ्य संस्थाहरुलाई सबल र सक्षम बनाउन आग्रह गर्नुभएको थियो ।

You might also like