वडा वडामा फरक फरक फलफूल प्रर्वद्धन गर्दै बर्दघाट नगरपालिका

0

नवलपरासी ११ असार – बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कृषि प्रर्बद्धन अन्तरगत फलफूल वडा घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ । नगरपालिकाको कृषि शाखाले विहीवार बर्दघाट–२ चिसापानीमा आयोजना गरेको कागतीका बेर्ना वितरण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

फलफूल उत्पादनमा ब्यवसायिकता एंव ब्यवसायिक कृषक उत्पादनका लागि यो कार्यक्रम शुरु गरिएको नगर प्रमुख बस्यालको भनाई थियो । त्यस्तै फरक फरक वडामा फरक फरक फलफूलको पकेट क्षेत्र घोषणा गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बर्दघाट २ का पहाडी क्षेत्रमा कागतीको सम्भावना रहेकोले कागतीको बेर्ना वितरण गरिएको हो ।
कार्यक्रम कृषि शाखा प्रमुख युवराज लम्सालको अध्यक्षता नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यता उपप्रमुख मायादेवी पौडेलको बिशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष रुद्र प्रसाद न्यौपाने, वडा सदस्य दधिकला पौडेललगायतको आतिथ्यता रहेको कृषि जेटिए खुमाकान्त न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै नगरपालिकाले वडा २ मा कागती ३ मा आँप वडा ६ मा केरा र १५ मा लिचीको बेर्ना वितरण गर्ने जनाएकोछ । त्यस्तै कार्यक्रममा पावर स्प्रे समेत वितरण गरिएको थियो ।

You might also like