सरकार खोजिरहेछौं हामी !

0

साधना प्रतीक्षा

म जिन्दगीभर हिँडिरहें तर कहीँ पनि पुगिनछु… । कुनै समय रेडियोबाट बजिरहने यही गीतजस्तै भएको छ हामी नेपालीले थालेको परिवर्तनको यात्रा ! किनकि, हामी अझै पनि जहाँको तहीँ छौं !

हामीले प्रजातन्त्र स्थापनार्थ संघर्ष गरेको सात दशक बितिसक्दा पनि, प्रजातन्त्र पुन:स्थापनाको तीन दशक पार भइसक्दा पनि, अझ लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरेको चौध वर्ष पुग्दा पनि हामीले जनउत्तरदायी सरकार पाएकै छैनौं ! सदैव राजनीतिक खिचातानीमै अल्झनुपर्ने नियति पाएको हाम्रो देश अनि हामी जनताका दुर्दिनहरू त दु:शासनले तान्दै गरेको द्रौपदीको वस्त्रजस्तै भए, कुनै अन्त्य नभएको !

हरेक राजनीतिक दल र तिनका अगुवाहरूले हाम्रा रित्ता आँखाहरूमा सुनौला सपना भर्दै आए, जुन पूरा हुने आशामा मनको लड्डु घिउसित खाइरहेका हामी तिनै सपनाका भग्नावशेषमा पुरिएर आज आफ्नै भाग्यलाई धिक्कारिरहेका छौं ! आश्वासनका ललिपप लिएर आएका चतुर राजनीतिज्ञका मीठा लोरीमा रमाउने हाम्रा बालसपनाहरू पटक–पटक चुलिँदै अनि भत्कँदै जानाले अहिलेसम्म पनि जनमुखी सरकारकै खोजीमा छौं ।

कोरोना महामारीले अँध्यारिए पनि विगतका दुई–तीन रात पैंचो मागेकै तेलमा दीपावली गरेर पनि खोज्यौं । तर अहँ, सरकार कतै भेटिएन । बन्दाबन्दीको महिनौं लामो अवधिमा घरभित्र ध्यानमग्न भएर हेर्‍यौं, सङ्कटका बेला अन्तध्र्यान हुने चमत्कारी सरकारको दिव्यज्योति प्रकट हुन्छ कि भनेर, तर भएन । विश्वव्यापी महामारीको कालो बादलभित्र मडारिँदै उज्यालो जूनरूपी सरकारलाई खोज्यौं तर कहाँ पाउनु ? महामारीले हामीकहाँ प्रवेश नपाउँदै सिमानाका गौंडा–गौंडामा छेकबार बन्ला कि सरकार भनेर आशावादी थियौं तर कतै हराएछ सरकार । महामारी भित्रिएपछि पनि सुविधासम्पन्न क्वारेन्टिनमा प्रभावकारी कार्यक्रमसहित उसको उपस्थिति खोज्दै थियौं । तर हाम्रो दुर्भाग्य, जतिजति महामारी बढ्दै गयो, सरकार पछिपछि हट्दै गयो । अहिले त ऊ हात उठाएर आत्मसमर्पण पो गर्दै छ महामारीसमक्ष ! धन्य, बहुमतको बलियो सरकार !

विपत्‌को यस घडीमा अलपत्र आम नागरिकलाई लागिरहेछ, हामीले मानेको सरकार त महाभारतको कर्णको विद्याजस्तो पो रहेछ ! जुन बेला त्यसको सर्वाधिक आवश्यकता पर्छ, त्यही बेला काम नआउने ! तुइनबाट मुक्ति पाउन नसकेका हामीलाई पानीजहाजका सपना देखाउँदै राजधानीमा पानीजहाज कार्यालयसमेत खोलेर आसेपासेहरूको कल्याण गर्ने महत्त्वाकांक्षी सरकार, गोरेटो बाटो सम्याउन नसकेका हामीलाई मोनोरेल अनि सुधारिएको चुलोसम्म नदेखेकालाई घरघरै ग्यास–पाइपको आशा दिलाउने हाम्रो आशावादी सरकार अहिले कहाँ छ ?

छिमेकी मुलुकहरू साम–दाम–दण्ड–भेदको नीति लिएर महामारीसँग जुधिरहेका बेला पनि सांसदहरूलाई विकास खर्चको कुम्लो बोकाउन पछि नपर्ने अनि राजनीतिक मुद्दामै अल्झने हाम्रो दूरदर्शी सरकारलाई सलाम ! वर्तमान परिस्थितिमा जनताको जीवनरक्षा नै पहिलो प्राथमिकता भएकामा सांसद विकास कोष जनस्वास्थ्यका लागि परिचालन गर्न नसकी सर्वसाधारणको कोरोना परीक्षणको दायित्व वहनबाट पन्छिने सरकारलाई के भन्ने ? विशिष्ट, पूर्वविशिष्ट, मन्त्री–सांसद आदिको सुविधा तथा आफ्नो स्वार्थअनुकूलको सन्धि–सम्झौतामा सत्ता–प्रतिपक्षी एक हुने तर जनहितका सवालमा कहिल्यै एकमत नहुने राजनीतिक परिवेशमा हामीले राज्यको अनुभूति पनि कसरी गर्ने ?

साँच्चै, कति कमजोर र निरीह रहेछ हाम्रो सरकार ! तीन हजार संक्रमित देखिनासाथै सामान्य संक्रमितका लागि अस्पतालको ढोका बन्द गरिदिन्छ । परीक्षण गर्ने उपकरणको अभाव देखाउँदै जनतालाई भन्छ— स्वेच्छाले परीक्षण गराऊ, क्वारेन्टिनको व्यवस्था गर्न सकिँदैन, घरमै आइसोलेसनमा बस ! कोरोना महामारी बल्ल सुरु भएको हाम्रो देशमा कोरोनाकै नाममा अर्बौं खर्चिएको दाबी गर्ने सरकारसँग हामी प्रश्न गरिरहेछौं— कहाँ खर्चिइयो सो रकम ? न उपयुक्त क्वारेन्टिनको व्यवस्था, न आइसोलेसन र भेन्टिलेटरको पर्याप्ततासहितको अस्पताल सुविधा, न सुरक्षा सामग्रीसहितका यथेष्ट स्वास्थ्यकर्मीको परिचालन, न त प्रभावकारी राहत वितरणकै व्यवस्था ! चुलो बाल्न नसकेकाहरूलाई राहत बाँडिएको छ जनस्तरबाटै । विदेशबाट फर्किएकाहरूको पनि कोरोना परीक्षण र क्वारेन्टिनको जिम्मेवारीबाट समेत पन्छिन खोज्ने धन्य हाम्रो सरकार, जसले यसैका नाममा राज्यको ढुकुटी रित्त्याइरहेछ !

जब राष्ट्र अनि अन्तर्राष्ट्रिय जगत् सामान्य अवस्थामा हुन्छ, आम नागरिक स्वत:स्फूर्त रूपमा आफ्नो दैनिकीमा लागेका हुन्छन्, सरकारले पनि आफ्नो निर्धारित कार्यक्षेत्रबाहेक नागरिकको थप दायित्व लिनुपर्दैन । तर जब विश्वपरिवेश अनि आफ्नै मुलुकमा असामान्य स्थिति आइपर्छ, तब नै सरकारले आफ्ना नागरिकप्रतिको थप दायित्वसमेत निर्वाह गर्नुपर्छ । यस्तै विषम परिस्थितिमा आम नागरिकको सुरक्षाका लागि समाज विकासको क्रमसँगै राज्य– सरकारको परिकल्पना गरिएको हुनुपर्छ । तर, हामीकहाँ अहिले यसको मर्मबोध भएको देखिँदैन ।

यस्तो विषम परिस्थितिमा पनि हाम्रो सरकार, उसका संयन्त्र मात्र होइन, प्रतिपक्षीसहित सबै राजनीतिक शक्तिहरू त अनेक मुद्दामा धुइरिएर आ–आफ्नो भविष्य सुनिश्चित गर्नमै व्यस्त देखिएका छन्, मानौं आम नागरिकको जीवनरक्षा उनीहरूको एजेन्डामै पर्दैन ! व्यक्तिबाट व्यक्तिमा प्रसारित कोरोना संक्रमण समुदायमा विस्तारित हुने तयारी गर्दै छ । आर्थिक तथा प्राविधिक उन्नतिको अग्रस्थानमा रहेका शक्तिराष्ट्रहरू यसको भेद नपाएर त्राहिमाम् भइरहेको अवस्थामा हाम्रोजस्तो कमजोर मुलुकको के गति होला ? निरन्तरको बन्दाबन्दी तथा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काएर मात्र यसको समाधान हुन सक्ला ? यति लामो समयमा पनि संक्रमितको उचित व्यवस्थापन, परीक्षण र उपचारका लागि आवश्यक स्रोत–साधन जुटाउन नसक्ने कस्तो सरकार पाएछौं हामीले ?

दैनिक कमाएर खानुपर्ने विपन्न वर्गको जीवन अत्यन्त कष्टकर बनिरहेको छ । उद्योग–व्यापारलगायत आर्थिक गतिविधि लगभग बन्द रहेकै अवस्थामा पनि दिनानुदिन थपिँदै गरेको संक्रमित संख्याले जनमानसमा सन्त्रास फैलाइरहेको छ । परीक्षाको मुखमा रहेका तथा परीक्षा दिँदादिँदैका विद्यार्थीहरू अन्योलग्रस्त नै छन् । सरकारले अनलाइन तथा दूरशिक्षाको अवधारणा ल्याएको भए पनि त्यसका लागि सीमित सहरी क्षेत्रबाहेक अन्यत्र भौतिक पूर्वाधार तथा आर्थिक क्षमताको अभावका कारण सो हास्यास्पद नै बनिरहेको छ । दुई छाक टार्न धौधौ हुने अभिभावक र मोबाइल फोन राम्ररी नचल्ने इन्टरनेट सेवाका सापेक्षतामा यस्तो शिक्षा आकाशको फलबाहेक के नै होला र ?

जसरी विषम परिस्थिति र संकटका बेला परिवारमा घरमूलीको आवश्यकता पर्छ, सबैको भरोसा उसैमाथि हुन्छ, त्यसै गरी मुलुकमा आइपर्ने यस्तै अवस्थामा नागरिकले सरकारको उपस्थिति खोज्ने गर्छन् । जनउत्तरदायी सरकार यस्तो विपत्को घडीमा आफ्नो अनुकूलता–प्रतिकूलता अनि महत्त्वाकांक्षी कार्ययोजना छोडेर नागरिकको जीवनरक्षामा केन्द्रित हुनुपर्छ । त्यसैले त आज हामी आम नेपाली यस्तै जनउत्तरदायी सरकार खोजिरहेका छौं । विदेशमा रोजीरोटी खोसिएको पीडाले छटपटाउँदै आफ्नै भूमिमा बाँच्न फर्केका नागरिकहरूले आफ्नो भूमिमा टेक्दा–नटेक्दै रोगभन्दा पनि भोक–प्यास र मानवीय व्यवहारको अभावका कारण ज्यान गुमाउनुपर्दाको पीडामा खोजिरहेछौं सरकारको उपस्थिति !

निरोगीलाई पनि रोगी बनाउनेजस्तो अव्यवस्थित र नाम मात्रको क्वारेन्टिनको बसाइमा खोजिरहेछौं सरकार । लक्षण नदेखिएसम्म र विशेष उपचार आवश्यक नपरेसम्म संक्रमितलाई अस्पताल भर्ना नगर्ने र आ–आफ्नै घरमा सुरक्षित रहनुपर्ने भन्ने सरकारी आह्वान अनि परीक्षण सामग्रीको अपर्याप्तताको गीत गाउने लाचारीमा पनि खोजिरहेछौं सरकार ! यस्तो संकटमा सरकार भएको अनुभूति गर्न नपाएका हामी झन्डै दुईतिहाइ बहुमतको सरकारका नेपाली जनता सरकारजस्तो सरकार खोजिरहेका छौं ! महामारीले भौतिक र मानसिक रूपमा थिलथिल्याइएका हामी नेपाली, गायक शिशिर योगीको ‘यो देशमा म एउटा मानिस खोजिरहेछु…’ गीतजस्तै आफ्ना चोटहरूमा मल्हम लगाइदिने जिम्मेवार सरकार खोजिरहेछौं !

 

You might also like