फरार अभियुक्त ११ वर्षपछि पक्राउ

0

०९ असार २०७७

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोटन तथा फिरौती माग गर्ने जस्ता अपराधिक गतिविधिका नौ मुद्दाका एकजना फरार अपराधी तथा अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मंगलबार पत्रकार सम्मेलन गरेर बाँकेको डुडुवा गाउँपालिका ५ का धर्मा सिंह भन्ने राजेश यादवलाई बिहान ३ बजे उनकै घरबाट पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका यादवको विस्ताराको सिरानीबाट तरवार र एक थान चक्‍कु पनि बरामद गरेको थियो । लकडाउनको बेलामा भारतबाट आएर २३ दिनदेखि घरमा लुकेर बसेका थिए । विगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आबद्ध रहेर हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता अपराधमा संलग्न भएको एसपी रानाले बताए ।

१७ फागुन ०७१ मा बाँके जिल्ला अदालतले त्रिभुवनप्रसाद कुर्मीलाई फिरौती रकम नदिए अपहरण गरेको अभियोगमा ४ वर्ष कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको थियो । १८ माघ ०७२ मा जिल्ला अदालतले भूमिसुधार कार्यालय, मालपोत कार्यालय र गनापुरमा प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको अभियोगमा हरेक मुद्दामा फरक फरक ६÷६ महिना कैद र ५÷५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

४ माघ २०६८ मा साबिक होलिया गाविस २ का बहादुर यादवको कर्तव्य ज्यान मुद्दा, २१ भदौ ०६६ मा छन्दविक्रम मल्ललाई अपहरण गरी हत्या गरेको, २६ जेठ ०६५ मा राजेश यादवको ज्यान मार्ने उद्योग मुद्दा, १७ पुस ०६६ मा हातहतियार खरखजना मुद्दा र १ पुस ०६६ मा राजेशकुमार लोनियालाई अपहरण गर्ने धम्की दिएको मुद्दाका पनि यादव फरार अभियुक्त हुन् । भारतमा लुगेर बस्दै गरेका यादवलाई घर आएको सूचनाका आधारमा पक्राउ गर्न सफल भएको थियो । उनलाई ज्यान सम्बन्धी कसुर, अपहरण, शरीर बन्धक, हातहतियार खरखजना, विष्फोटक पदार्थ ऐन अनुसार सजाय हुने जनाएको छ ।

Annapurna post

You might also like