धादिङको ज्वालामुखीमा खहरे उर्लंदा बस्तीमा क्षति

0

भाद्र १२,

धादिङ — ज्वालामुखी–४ दोभानटारमा बिहीबार राति आएको बाढीले एक दर्जन घरमा क्षति पुर्‍याउनुका साथै थुप्रै घर जोखिममा पारेको छ । च्याडु खोलाको बाढीले पुलसमेत कटान गरेपछि सवारी आउजाउ ठप्प भएको छ ।रूख र भेल अड्केर पुल थुनिएपछि बाढी बस्तीतिर पसेको हो । स्थानीय ज्ञानुका नहर्की, गोविन्द नहर्की, होमनारायण श्रेष्ठ, सीताराम खनाल, सुरेश श्रेष्ठ, शिवमाया दुवाडी र विनादेवी दुवाडीको घरमा क्षति पुगेको छ । बाढीले पिँढी र आँगन कटान गर्नुका साथै कतिपयको घरका झ्यालढोकै बगाएको छ ।कति घरमा खोलाले ल्याएको लेदोले भरिएको छ । रातको समयमा बाढी छिरे पनि मानवीय क्षति भने नभएको स्थानीय कुशल नहर्कीले बताए ।

बाढीले सिद्धलेकको १ र २ वडामा पनि क्षति पुर्‍याएको छ । खोलाले घरको जग खोतल्दै लगेपछि जोखिम बढेको वीरबहादुर खनालले बताए । वडा नं. १ मा खनालसँगै मनीषा गुरुङ, दिव्यप्रसाद अर्याल, बालकृष्ण अर्याल, कृष्णबहादुर मगर, गीता बराम र तपना बरामको घर जोखिममा परेको हो । वडा नं. २ मा राजकुमार श्रेष्ठ, अस्मिता श्रेष्ठ र ढकबहादुर श्रेष्ठको घर जोखिम रहेको खनालले जानकारी दिए ।

घरभित्र रहेका सरसामान बगाउँदा कति क्षति भयो भन्नेबारे विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए । ‘मानवीय क्षति भएको छैन तर घरमा बाढी छिर्दा पसल–होटलका सरसमान तथा दैनिक उपभोग्य वस्तु बगाएको छ,’ उनले भने ।ज्वालामुखीका ढोला, सिद्धलेक र नलाङ जोड्ने च्याडुखोलामा पुलको ढोलातर्फको डाइभर्सन बगेपछि सडक अवरुद्ध भएको छ । सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन ।

Kantipur

You might also like