स्थानीय तहमा बजेटको तयारी

0

काठमाडौँ, असार ९ गते । स्थानीय तहले आगामी वर्ष खर्च गर्न सक्ने मात्र बजेट निर्माण गर्ने तयारी गरेका छन् । यही असार १० भित्र ल्याउनुपर्ने बजेटका लागि स्थानीय तह अहिले अन्तिम तयारीमा छन् ।
केही स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम आआफ्नो सभामा पेस गरिसकेका छन् भने केहीले असार १० भित्र सभामा पेस गर्दैछन् । स्थानीय तहले यही असार १० भित्र स्थानीय सभामा बजेट पेस गरिसक्नुपर्ने व्यवस्था छ ।
सङ्घीय सरकारले भने स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा कोरोना भाइरस (कोभिड–१९)को संवेदनशीलतालाई प्राथमिकतामा राख्ने, रोजगारी सिर्जना गर्ने, ठूला विकासका योजना सञ्चालन नगर्ने गरी बजेट निर्माण गर्न यसअघि नै आग्रह गरिसकेको छ ।
बन्दाबन्दीले गर्दा यस वर्ष स्थानीय तहको आन्तरिक स्रोत घटेको छ । सङ्घ र प्रदेश सरकारले वित्तीय हस्तान्तरण गर्दा चालू आर्थिक वर्षको भन्दा केही कम बजेट स्थानीय तहलाई पठाएकाले पनि स्थानीय तहले बजेट निर्माण गर्दा खर्च गर्न सक्ने मात्र बजेट निर्माण गर्न लागेका हुन् । नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले सङ्घीय सरकारले पठाएको मार्गदर्शनअनुसार सबै स्थानीय तह बजेट निर्माणमा लागेका बताउनुभयो ।

Gorkha patra

You might also like