सीमावर्ती पाल्हीनन्दन गाउँपालिकामा भारतबाट आउने क्रम रोकिएन

0

नवलपरासी २ जेठ – भारतसंग सीमा जोडिएकोे पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दिनहँु जसो भारतबाट आउने नेपालीहरुको संख्या बढेका बढ्यै छ । दिनमा मात्र नभई रातको समयमा समेत भारतबाट आउन क्रम रोकिएको छैन । भारततर्फबाट नेपाल प्रबेश गर्नेहरुलाई भारतीय प्रहरीले उत्प्रेरित गर्ने भएका कारण सीमाक्षेत्रको पालिकाबाट मानिसहरु आउने क्रम बढ्दै गएको हो ।

पाल्हीनन्दन गाउँपालिकाले पाल्हीनन्दन २ हरपुरस्थित हरपुर मावि र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र पाल्हीनन्दन –४ लोहोरौलीमा क्वारेन्टाइन बनाएको छ । पालिकाले ती दुवै क्वारेन्टाइन हेर्न ब्यवस्थापक सहितको टोलीको प्रबन्ध समेत गरेको छ ।
पाल्हीनन्दन गाउपालिका स्वास्थ्य शाखा संयोजक धर्मजित दास पटेलका अनुसार दुवै क्वारेन्टाइनमा खानाको प्रबन्ध सहित दिन र रातमा समेत स्वास्थ्यकर्मीहरु खटाइएको छ ।


त्यस्तै विपद ब्यवस्थापन फोकल पर्सन प्रदीप कुमार तिवारीले दिएको जानकारी अनुसार शुक्रवार दिउसो सम्म दुवै क्वारेन्टाइनका बस्नेको सख्या १०२ थियो । शुक्रवार नै ३१ जना पिसिआर नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुझाव सहित घर पठाइएको थियो । त्यसपछि पनि भारतबाट आउने क्रम नरोक्रिएपछि हाल ८४ जना क्वारेन्टाइनमा छन् । सीमाक्षेत्रमा रातमा समेत भारतबाट मानिसहरु आएको खबर आएपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको दौडाई हुने गरेको छ । भारततर्फबाट पैदलयात्री आएपछि पाल्हीनन्दनका क्वारेन्टाइन सम्म ल्याउन एम्बुलेन्स प्रयोग गरिएको तिवारीले बताउनुभयो । यही अवस्थामा भारततर्फबाट आउने क्रम नरोकिए क्वारेन्टाइनको संख्या थप्नुपर्ने अवस्था आउने स्थानीयले बताएका छन् । पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक)ले आवश्यकता अनुसार क्वारेन्टाइन थप गर्दै लैजाने जानकारी दिनुभयो । उहाँले स्थानीय पत्रसंग भन्नुभयो – आवश्यक परे सबै वडामा क्वारेन्टाइन बनाएर भारत तथा तेस्रो मुलुकबाट आउनेहरुको ब्यवस्थापन गरिन्छ । भारतबाट आउने ६ सय र तेस्रो मुलुकबाट आउने ७ सय जना गरी १३ सय जना पाल्हीनन्दनमा आउने प्रारम्भिक अनुमान रहेको अध्यक्ष गुप्ता बताउनुहुन्छ ।

You might also like