अब बर्दघाट नगरमा तरकारी फलफूल तथा खाद्यबस्तुका पसल बिहान ७ बजे देखि ११ सम्म मात्र संचालन गर्न पाइने

नियम विपरित गरिए कानुन बमोजिम कारवाही गर्ने

0

नवलपरासी ४ बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा अब लकडाउन थप कडा गरिने भएको छ । नगर कार्यपालिकाको विहीवार बिहान बसेको बैठक र दिउँसो भएको विपद् ब्यवस्थापन समिति सहितको सर्वपक्षीय बैठकले लकडाउनलाई राजनैतिक दलको बन्द जस्तै मानेर सडकमा हिड्ने क्रम रहेको भन्दै अब लकडाउन कडा गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले अत्यावश्यक पसलहरु खोल्ने समय समेत परिर्वतन गर्दै फलफूल र खाद्यान्न पसललाई बिहान ७ बजेदेखि ११ बजे सम्म मात्र संचालन गर्न दिइने निर्णय गरेको छ । ती पसलहरुले ग्राहकसंग कम्तीमा एक मिटर भौतिक दुरी कायम राखेर स्यानीटाइजर प्रयोग गरेर भिडभाड नहुने गरी संचालन गर्नुपर्ने कार्यपालिकाको निर्णय गरेको हो ।
त्यस्तै कार्यपालिकाको निर्णय अटेर गरेमा कानुनी कारवाहीका लागि सिफरिस गर्ने निर्णय समेत भएको बर्दघाट नगरपालिकाले जनाएको छ ।
मासुजन्य पद्धार्थ बिक्री वितरणलाई समेत पूर्ण रोक लगाइएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । त्यस्तै बिभिन्न नाकाबाट नगरक्षेत्रका अबैध रुपमा मालबस्तु भित्रिन नदिन सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय समेत भएको उहाँले बताउनुभयो ।
नगरमा आपूर्ति ब्यवस्थालाई सहज बनाउन प्रत्येक वडामा प्रहरी सहितको वडास्तरिय समिति गठन गर्ने र वडाहरुले समेत टोल विकास संस्थासंगको समन्वयमा बन्दाबन्दीको अनुगमन गर्ने निर्णयमा उल्लेख गरिएको छ ।
त्यस्तै अन्यपालिकाबाट ल्याइने तरकारी र फलफूल समेतलाई नगरक्षेत्रमा ल्याउन रोक लगाउने, सामुहिक आवास र धर्मशालामा हुने भिड कम गर्न तत्काल सो भिड हुने कार्य बन्द गर्न लगाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो । उहाँका अनुसार नगरक्षेत्र भित्रका भित्री बाटोमा रातको समयमा अनावश्यक ब्यक्तिहरुको आवागमन हुने ,तरकारी लगायतका गैह्र खाद्य सामाग्री भित्राउने जस्ता कार्य गरी स्थानीयस्तरमा दिनानुदिन डर त्रास सुजना हुन गएकाले मुल बाटो बाहेकबाटोहरुमा आवतजावत तथा ढुवानी हुन नदिने भएको छ ।
त्यस्तै विहीवार दिउँसो भएको बिपद ब्यवस्थापन समिति सहितको सर्वपक्षीय बैठकले कार्यपालिकामा भएका निर्णयहरुलाई कार्यान्वयन गर्नका लागि सबै सरोकारवालाबीच समन्वय गर्दै अगाडि बढने निर्णय गरेको छ ।
बैठकमा नगरमा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , निजी क्षेत्र, स्वास्थ्यकर्मी तथा सुरक्षानिकायबाट समेत उपस्थिति रहेको थियो ।
बैठकमा सरोकारवालाहरुले कोरोना संक्रमण लाई रोक्नका लागि नगरले ध्यान दिनुपर्ने बिषय प्रति सुझाव समेत दिएका थिए । सरोकारवालाको सुझाव पछि नगर प्रमुख बस्यालले नगरस्तरीय प्रकोप ब्यवस्थापन कोषमा जम्मा भएको रकम र त्यसबाट खाद्यान्न तथा स्वास्थ्य सामाग्री खरिद गर्न दिइएको पेश्की रकम सहितको आय तथा ब्यय एंव पहिलो चरणमा राहत प्रदान गर्दा भएका सहज तथा असहज परिस्थिति बारे सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।

You might also like