पाठेघरबाट निकालियो पाँच किलोको ट्युमर

0

नगेन्द्रकुमार कर्ण
जलेश्वर, पुस १ – जलेश्वर अस्पतालमा चिकित्सकहरुको एक टोलीले मंगलबार एक सफल शल्यक्रिया गरी पाँच किलोको ट्युमर निकाल्न सफल भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा जलेश्वर अस्पतालमा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा। सुमना थापाको नेतृत्वको टोलीले पाठेघरमा रहेको पाँच किलोको ट्युमर निकाल्न सफल भएको हो ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडानं। ३ खखना बस्ने ६२ वर्षिया काशी देवीको पाठेघरमा रहेको ट्युमरलाई नेपाली सेनाको चिकित्सीय टोलीले सफलता पूर्वक ट्युमर निकालेको हो ।
डा। सुमना थापाले डेढ घण्टाको सफल शल्यक्रियापश्चात आफुहरुको टोलीले सो ट्युमर निकाल्न सफल भएको बताउनुभयो । उहाँले नेपाली सेनाले अहिलेसम्म गरेको छ वटा वृहत निःशुल्क शिविरहरुमध्ये पहिलोचोटी यस्तो ठुलो ट्युमर निकाल्न सफल भएको जानकारी दिनुहुदै शल्यक्रिया पश्चात विरामीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
शल्यक्रिया गर्ने टोलीमा डा।सुमना थापासहित डा।श्रृजन मल्ल, डा।थानेश्वर रिजाल तथा नर्स रुपा गौतम रहनुभएको थियो । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडानं। ३ खखनामा आयोजित निःशुल्क वृहत स्वास्थ्य शिविरमा चेकजाँचपश्चात उनलाई नेपाली सेनाकै गाडीमा शल्यक्रियाको लागि सोमबार जलेश्वर अस्पताल ल्याइएको थियो । काशी देवीकी बुहारी पवन देवीले तिन वर्षदेखि सासुलाई भारतको भिस्वामा लगेर उपचार गराएको बताउनुभयो ।
त्यहाँ पेटको शल्यक्रिया गरी केही मासु काटेर ठिक भएको भन्दै पठाएको जानकारी दिनुहुदै त्यसको केही महिनापछि फेरी सासुको पेट बढेको देखेपछि उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगेको जानकारी दिनुभयो । अञ्चल अस्पतालले चितवनस्थित क्यान्सर अस्पताल रेफर गरेपछि त्यहाँ तिनमहिनापछि आउन भनेपछि सासुले डरले उपचार नगराएको बताउनुहुदै त्यसपछि रोग सहेर बसेको बताउनुभयो ।
विरामीसंगै जलेश्वर अस्पताल आउनुभएका विरामीका छोरी ज्वाँई रामईश्वर यादवले पटक–पटक विभिन्न ठाउँमा रोग देखाएपनि डरको कारणले सासुले उपचार गराउन नमानेको तर गाउँमै शिविर आएपछि अपरेशन गर्ने भनेपछि उपचार गरिएको बताउनुभयो ।
नेपाली सेनाका अब्बल चिकित्सकहरु आउने र अपरेशन गर्ने बताएपछि सासुले चेकजाँच गराउन र अपरेसन गर्न मान्नुभएको बताउनुुहुदै उहाँले भन्नुभयो,‘अपरेसनपश्चात पोष्टल अपमा गएर सासुसंग नेपाली सेनाले भेट्न दिएको थियो, सासुको अवस्था सामान्य रहेको पाए ।’
मङसिर २७ गतेदेखि शुरु भई पुस ५ गतेसम्म चल्ने सो शिविरमा नेपाली सेनाले चेकजाँचसँगै औषधीहरु पनि निःशुल्क वितरण गरिरहेका छन् भने शल्यक्रिया गरिने विरामीहरुलाई खखनाको शिविरस्थलबाट बसबाट जिल्ला अस्पताल जलेश्वर पठाउने गरेका कारणले बिरामीको संख्या शिविरमा बढेको छ ।
जलेश्वरस्थित रणभिम गणका गणपति विदुर अधिकारीले तिन दिनमा ४ हजार ८ सय १७ महिला र ३ हजार ६ सय ९८ पुरुष गरी जम्मा ८ हजार ५ सय १५ जनाले स्वास्थ्य उपचार पाएको जानकारी गराउनुहुँदै शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई जलेश्वर अस्पतालमा शल्यक्रिया भइरहेको जानकारी दिनुभयो । तिन दिनमा जलेश्वरमा ७० जनाको शल्यक्रिया गरिएको छ ।गोरखापत्र अनलाइन

You might also like